माओवादीले फेरि देशको नेतृत्व गर्ने अवस्था आउँछ : दाहाल

‘जनता र कार्यकर्ता बिग्रिएका होइनन्, हामी माथिल्लो तहका नेता बिग्रियौं’

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माथिल्लो स्तरका नेतामा विचलन आएको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पोस्टबहादुर बोगटीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले अझै पनि जनतामा क्रान्तिप्रति रुचि रहेको बताएका हुन् ।

माओवादीले फेरि देशको नेतृत्व गर्ने अवस्था आउँछ : दाहाल

पुस ५ गतेको प्रतिगमनपछिको आन्दोलनले लाखौंको संख्यामा क्रान्तिका लागि जनता सडकमा आउन तयार रहेको देखाएको दाहालले बताए ।

‘हामी अलिअलि बिग्रियौं कि भन्ठानेको, जनता बिग्रेको होइन । ग्रास लेभलको कार्यकर्ता बिग्रेको पनि होइन, हामी अलि माथि आएका नेताहरु, गुट गर्दै हिँड्न रमाउनेचाहिँ हामी माथिका नेता हो, तलका होइन भन्ने सावित भयो,’ दाहालले भने । लाखौं जनता सडकमा आएर प्रतिगमनलाई हराउनै पर्छ भन्ने पनि देखाएको उनको भनाई थियो । प्रतिगमनविरोधी आन्दोलनबाट जनताले गलत बाटोमा जान हुन्न है भनेर आफूहरुलाई पाठ सिकाएको पनि उनले बताए ।

आवश्यक रहे आफूहरु सडकमा जानुपर्ने अवस्था पनि आउन सक्ने उनको भनाइ छ । ‘जरुरत पर्‍यो भने हामी सडकमा पनि जानुपर्ने हुन सक्छ । विकृत बुर्जुवा प्रणालीलाई सुधार्न हामी सडकमा जानुपर्ने अवस्था पनि आउन सक्छ ।’

अध्यक्ष दाहालले माओवादी फेरि देशको नम्बर एक पार्टी बन्न सक्ने पनि बताए । पछिल्ला आन्दोलनले माओवादी पुन: शक्तिमा फर्किन सक्छ भन्ने देखाएको उनको भनाइ छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने पार्टी माओवादी मात्रै रहेछ भन्ने स्थापित भयो । हामी आउँछौं र हामीले देशको नेतृत्व गर्ने वातावरण बन्छ । हामीले राम्रोसँग देशको नेतृत्व गर्न नपाई नपाई १५ वर्ष बित्यो । दुई पटक सरकारको नेतृत्व पनि गर्‍यौं, मन्त्री पनि बनायौं । १०० जना कमरेडहरु मन्त्री भइयो । सबैभन्दा बढी मन्त्री बनाउने पार्टी पनि हाम्रै पार्टी भएछ छोटो समयमा,’ उनले भने ।

आफूहरु इमान्दार भएर लाग्दा कसैले रोक्न नसक्ने पनि उनले बताए । संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिने पनि उनले बताए । गठबन्धनलाई निरन्तरता दिँदा आगामी चुनावमा दुई तिहाई मत ल्याउने उनको दाबी छ ।

प्रकाशित : भाद्र ३०, २०७८ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?