खोप आयातमा अड्चन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोप आयातमा अड्चन

मकर श्रेष्ठ

काठमाडौँ — औषधि ऐनसम्बन्धी अध्यादेश निष्क्रिय हुने भएपछि कोरोनाविरुद्धको खोप खरिद र आयात प्रक्रिया झन्झटिलो हुने भएको छ । अघिल्लो सरकारले सहज खोप आपूर्तिका लागि औषधि ऐन संशोधन गरेर अध्यादेश ल्याएको थियो । संसद्मा पेस भएको यो अध्यादेश बिहीबारबाट निष्क्रिय हुँदै छ ।

संविधानको धारा ११४ अनुसार अध्यादेश सक्रिय राख्न संसद्को दुवै सदनले स्वीकृत गर्नुपर्छ । अध्यादेश संसद्मा पेस गरेको ६० दिनभित्र प्रतिस्थापन विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने व्यवस्था छ । साउन ३ मा संसद्मा पेस भएको योसहित १० अध्यादेश स्वीकृत गराउने प्रक्रिया अघि नबढाएका कारण बिहीबारदेखि स्वतः निष्क्रिय हुने भएका हुन् ।

महामारीका बेला आकस्मिक रूपमा प्रयोग गर्नुपर्ने औषधि तथा खोप ल्याउने बाटो अध्यादेशले सहज बनाएको थियो । अध्यादेशले कोरोनालगायत अन्य महामारीका बेला आवश्यक पर्ने औषधि र खोप सहजै आयात गर्न मिल्ने व्यवस्था गरेको छ । संघीय संसद् सञ्चालन नभएकाले औषधि र खोप उत्पादन हुनेबित्तिकै सहजै ल्याउन कानुन संशोधनका लागि सरकारले अध्यादेशको प्रस्ताव गरेको थियो । ‘महामारीका रूपमा फैलिएको संक्रामक रोगको रोकथाम र नियन्त्रण निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा स्वीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा त्यस्ता नियामक निकायले आपत्कालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि तथा खोपलाई नेपालमा आपत्कालीन प्रयोगका लागि औषधि सल्लाहकार समितिको सिफारिसमा विभागले दर्ता गर्नेछ,’ अध्यादेशमा भनिएको छ ।

पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अध्यादेश निष्क्रिय भएसँगै नेपालीले लगाएको खोपसमेत अवैध हुने बताए । ‘खोप खरिद, आयात र ट्रायलका कामसमेत अध्यादेश खारेजीसँगै अवैध हुनेछन्, अब लगाएको खोप विष समान हुन्छ,’ उनले भने ।

ध्यादेश खारेजी हुने भएसँगै सरकारले अघि बढाएको खोपको क्लिनिकल ट्रायल प्रक्रियासमेत रोकिन सक्छ । औषधि ऐन २०३५ मा नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्ने व्यवस्था थियो । अध्यादेशमा भने खोपको पनि क्लिनिकल ट्रायल गर्न सकिने व्यवस्था थियो । अब यो प्रक्रियाका लागि कानुनी अड्चन आउनेछ ।

सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश पनि जारी गरेको थियो । यही अध्यादेशअनुसार कोरोना उपचारका लागि युनिफाइड अस्पताल सञ्चालन गरी एकीकृत उपचार प्रणालीको संरचनासमेत बनिसकेको छ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माको नेतृत्वमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र रहेको छ । कोरोना नियन्त्रण गर्न बनाइएको संयन्त्रसमेत अध्यादेशसँगै निष्क्रिय हुनेछन् ।

तेजाब आक्रमण गर्नेलाई २० वर्षसम्म कैद, पीडितलाई १० लाखसम्म क्षतिपूर्ति र रोजगारीको प्रत्याभूति गर्ने व्यवस्थासहितको अध्यादेश पनि बिहीबारदेखि निष्क्रिय हुँदै छ । सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ साउन ३ मा संसद्मा पेस गरे पनि स्वीकृत नगराउँदा स्वतः खारेज हुन लागेको हो । केपी ओली नेतृत्वको सरकारले ०७७ असोज १२ मा जारी गरेको यो अध्यादेश ल्याएपछि तेजाबपीडित ८ जनाले रोजगारी पाएका थिए । अध्यादेशमा राखिएको प्रावधानअनुसार धनुषाका एक आक्रमणकारीलाई अदालतले दोषी ठहर गरिसकेको छ । अध्यादेश नै खारेज हुने भएपछि पीडितले न्याय र यस्ता सुविधा पाउने बाटो बन्द हुने भएको हो ।

सरकारले साउन ३ को संसद्को बैठकमा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), नेपाल नागरिकता (पहिलो संशोधन), कोभिड–१९ संकट व्यवस्थापन, औषधि (तेस्रो संशोधन), स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), रेलवे र शपथसम्बन्धी अध्यादेश संसद्मा दर्ता गरेको थियो । यसमध्ये नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश भने सर्वोच्च अदालतले खारेज गरिसकेको छ ।

प्रमुख प्रतिपक्ष एमालेले संसद्मा विरोध गरेकै कारण अध्यादेश अघि बढाउन नपाएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । ‘यी अध्यादेशलाई संसद्बाट स्वीकृत गराउन कार्यसूचीसमेत तय भएको थियो,’ उनले भने, ‘एमालेको विरोधकै कारण अघि बढाउन सकिएन ।’ संसद्मा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशसहित १४ अध्यादेश पेस भएको थियो । तर, सरकारले बजेटसम्बन्धी तीन अध्यादेश मात्रै संसद्बाट स्वीकृत गराएर प्रतिस्थापन विधेयक पेस गरेको छ । संसद्मा पेस नभएपछि सरकारले दोस्रोपटक अध्यादेश जारी गरेर सक्रिय बनाएको थियो ।

संसद्को सातौं अधिवेशनको पहिलो बैठकमा कांग्रेसले विरोध गरेपछि तेजाबसहित नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय, पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), औषधि (तेस्रो संशोधन), फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन, यौन हिंसाविरुद्धका केही ऐन संशोधन, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस हुनै पाएन । तत्कालीन कानुनमन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मात्रै पेस गरे । संसद् भंग भएपछि ओली सरकारले यी अध्यादेशलाई निष्क्रिय हुन नदिन वैशाख २१ मा फेरि ब्युँताएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताएपछि साउन ३ मा सरकारले सबै अध्यादेश संसद्मा पेस गरेको थियो ।

बजेटसम्बन्धी तीन अध्यादेशको प्रतिस्थापन विधेयक मात्रै सरकारले शुक्रबार प्रतिनिधिसभामा पेस गरेको छ । यही विधेयक मंगलबारको बैठकले स्वीकारसमेत गरिसकेको छ । अध्यादेश निष्क्रिय भए पनि प्रतिस्थापन विधेयक भने यथावत् नै हुनेछ । विधेयक संसद्ले स्वीकार गरिसकेकाले लगत कट्टाको सम्भावना हुँदैन । अध्यादेश निष्क्रिय भएसँगै शुक्रबार पेस भएको प्रतिस्थापन विधेयक पनि निष्क्रिय हुने कतिपय सांसदको बुझाइ छ । प्रतिनिधिसभा नियमावलीको नियम १२४ मा संसद्ले अस्वीकृत गरेमा, सरकारले नै फिर्ता लिएमा मात्रै विधेयकलाई लगतबाट कट्टा गर्न सकिन्छ । सरकारले पेस गरेको विधेयक संसद्ले स्वीकार गरिसकेकाले अर्थमन्त्रीले शुक्रबार पेस गरेको तीनवटा विधेयक यथावत् रहने भएको हो ।

प्रकाशित : भाद्र ३०, २०७८ ०६:११
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमाथि ओमानको सहज जित

ओमानसँग लगातार तेस्रो हार
विनोद पाण्डे

काठमाडौँ — ओमानले आईसीसी विश्वकप लिग २ क्रिकेटमा मंगलबार नेपाललाई सजिलै ५ विकेटले पराजित गरेको छ । नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१.१ ओभरमै २ सय रन बनाउँदै पूरा गरेको हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ओमानसँग लगातार तेस्रो हार बेहोरेको हो ।यसअघि लिगअन्तर्गत ओमानले फेब्रुअरी ९, २०२० मा कीर्तिपुरमा भएको खेलमा नेपाललाई ८ विकेटले हराएको थियो । त्यस्तै फेब्रुअरी ५, २०२० मा कीर्तिपुरमै सम्पन्न खेलमा पनि ओमान १८ रनले विजयी भएको थियो ।

टस जितेर ब्याटिङमा आएको नेपाल ४७.४ ओभर खेली १ सय ९६ रनमा अलआउट भएको थियो । ओपनिङ ब्याट्सम्यान जतिन्दर सिंहले ६० बलमै शतक बनाएपछि ओमानले सजिलै लक्ष्य पूरा गरेको हो । जतिन्दरले कुल ६२ बलमा १ सय ७ रन बनाउने क्रममा १२ चौका र ६ छक्का प्रहार गरे । उनले नेपालका बलर सोमपाल कामीलाई एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।

शोएब खान ७, अयान खान १८, कप्तान जिशान मक्सुद ४ र सुरज कुमार २० रनमा आउट भए । विक्रम सोबको बलमा विजयी छक्का प्रहार गरेका मोहम्मद नदिम ६५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३८ रनमा अविजित रहे ।

फिल्डिङका क्रममा घाइते भएपछि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलिङ गरेनन् । करण केसी र कुशल मल्लले २–२ तथा सुशन भारीले १ विकेट लिए

ओमानको मस्कटस्थित एमेरात क्रिकेट मैदानमा यसअघि नेपालबाट आसिफ शेखले सर्वाधिक ९० रन बनाए । १ सय १२ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली ब्याट्सम्यानको दोस्रो उच्च स्कोर हो । यसअघि पारस खड्काले २०१९ मा यूएईविरुद्ध दुबईमा १ सय १५ रन बनाएका थिए ।

नेपालले अघिल्लो दिन अमेरिकाविरुद्ध ५ विकेटको विजय हात पार्दा ८४ रन बनाई म्यान अफ द म्याच चुनिएका कुशल भुर्तेल खेलको दोस्रो ओभरमै शून्यमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाए । उनले ३३ बल खेली १ चौका प्रहार गरे । अमेरिकाविरुद्ध अविजित ६२ रन बनाएका रोहित पौडेल २० रनमै आउट भए ।

मध्यक्रमका नेपाली ब्याट्सम्यान कसैले गतिलो योगदान दिन सकेनन् । विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४ र विक्रम सोब २ रनमा आउट भए । सन्दीप लामिछानेले १० बल खेली १ चौका र १ छक्कासहित १६ रन बनाए । सन्दीप र सोमपाल रन आउट भए । आउट हुने अन्तिम खेलाडी करण केसी थिए । उनले १ चौका र १ छक्कासहित ४८ बलमा २१ रन बनाए ।

ओमानका बिलाल खानले १० ओभरमा १ मेडन राख्दै ४७ रन खर्चेर ४ विकेट लिए । उनले कुशल भुर्तेल, कुशल मल्ल र विक्रमलाई बोल्ड गरेका थिए । उनले नै कुशल भुर्तेलको विकेट लिएका थिए । नेस्टोर धम्बाले २ र मोहम्मद नदिमले १ विकेट लिए ।

नेपाल ६ अंकसहित छैटौं स्थानमा छ । १० खेलमा १६ अंक बोकेको घरेलु टोली ओमान शीर्ष स्थानमा छ । लिग २ विश्वकप छनोटका आधार हो, जहाँ एक टोलीले ९ शृंखलासहित ३६ खेल खेल्ने छन् । शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् ।

प्रकाशित : भाद्र २९, २०७८ २२:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×