सांसद वलीले दिइन् पूर्वमुख्यमन्त्री पोखरेलविरुद्ध प्रहरीमा निवेदन

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले आफूलाई अपहरण तथा शरीर बन्धक बनाएको भन्दै पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध प्रहरीमा निवेदन दिएकी छन् ।

सांसद वलीले दिइन् पूर्वमुख्यमन्त्री पोखरेलविरुद्ध प्रहरीमा निवेदन

साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री भएका बेला दाङबाट ल्याएर बन्धक बनाएको आरोपसहित सांसद वलीले इलाका प्रहरी कार्यालय बुटवलमा सोमबार निवेदन दिएकी हुन् । तर बुटवल प्रहरीले घटनास्थल दाङ भएकोले त्यहींबाट निवेदनको प्रक्रिया अगाडि बढाउने बताएको छ । उक्त निवेदन मंगलबार साँझसम्म दाङ पठाइएको छैन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले वलीले इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएको पुष्टि गर्दै बुटवलको साटो घटनास्थल दाङ प्रहरीमार्फत प्रक्रिया अगाडि बढाउन सुझाव दिएको बताए । ‘हामीले उहाँको जाहेरी लिएर राखेका छौं । उक्त जाहेरी यहाँको साटो दाङबाट अगाडि बढाउँदा अनुसन्धानलगायतका काममा सहज र उपयुक्त हुने भएकाले उक्त जाहेरी दाङ पठाउने र उतैबाट मुद्दा प्रक्रिया अगाडि बढाउने योजनामा छौं’ उनले भने ।

निवेदनमा तत्कालीन मुख्यमन्त्री पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, तत्कालीन मुख्यमन्त्रीको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई कानुनअनुसार कारबाहीको माग गरिएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सांसद वलीको अपहरण तथा शरीर बन्धकविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरलाई सोमबार किटानी निवेदन बुझाएको बताए । ‘प्रहरीले घटनाको सुरुवात भएको स्थान दाङ भएकाले त्यहाँबाटै उजुरी दर्ता गर्न पठाइदिने बताउनुभएको छ,’ उनले भने ।

व्यवस्था मुलुकी अपराध संहिता २०७४ अनुसार अपहरण तथा शरीर बन्धकमा पीडितले ६ महिनासम्म जाहेरी दिन सक्छन् । वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने छ ।

प्रकाशित : भाद्र २९, २०७८ २२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?