सभामुख प्रचण्डको कार्यकर्ताको रुपमा प्रस्तुत हुनुभयो : भट्ट

भवानी भट्ट

कञ्चनपुर — एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सभामुख अग्निप्रसाद सापकोटा संसद्‌मा माओवादी कार्यकर्ताको रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् । उनले सभामुख निष्पक्ष नभएकै कारण एमालेले संसद अवरुद्ध गर्नुपरेको बताए । 

सभामुख प्रचण्डको कार्यकर्ताको रुपमा प्रस्तुत हुनुभयो : भट्ट

‘सभामुख माओवादी केन्द्रको भन्दा पनि अध्यक्ष प्रचण्डको कार्यकर्ताको रुपमा प्रस्तुत हुनुभएको छ,’ मंगलबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा इन्चार्ज भट्टले भने, ‘यो गल्ती सच्याएर माफी नमागेसम्म संसद् चल्दैन ।’ उनले सर्वदलीय बैठकमा समेत सत्ता साझेदार गठबन्धन बाहेकका दललाई नबोलाएको बताए । संसद्‌को ठूलो र प्रमुख प्रतिपक्षी दललाई बाहिर राखेर सहमति हुन नसक्ने उनले बताए ।

सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयमा पार्टी अध्यक्ष र स्थायी कमिटीले जिम्मेवारी दिएको उनले बताए । अहिलेको एमाले जेठ २, जेठ ३ र सर्वोच्चको फैसलापछिको भएकाले त्यसको भावनाअनुसार अघि बढ्नुपर्ने उनले बताए । ‘अहिलेको एमाले एकीकरणसहितको नयाँ एमाले हो, जेठ २ को एमाले होइन,’ उनले भने, ‘हुबहु जेठ २ मा जान सकिने अवस्था छैन, एकीकरणको भावनालाई समेटेर अघि बढ्नुको विकल्प छैन ।’

सुदूरपश्चिम प्रदेश इन्चार्जका विषयमा दुई दिनअघि मात्रै पार्टी अध्यक्ष केपी ओलीकै निवासमा छलफल भएको थियो । छलफलमा अध्यक्ष ओलीले भट्टलाई दिइएको इन्चार्जको जिम्मोवारी हेरफेर हुन नसक्ने बताएका थिए । ‘रावलजी र मेरा बिचमा कुनै मतभेद छैन, हामी सँगसँगै छौं’ उनले भने, ‘हामीबीच सद्भावपूर्ण व्यवहार छ, हिजो पनि सँगै थियौं, आज पनि संगै छौं ।’

सुदूरपश्चिम प्रदेशमा १० बुँदे सहमति कार्यान्वयनका लागि उपाध्यक्ष भीम रावल, इन्चार्ज भट्ट र प्रदेश अध्यक्ष कर्णबहादुर थापाको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ । समितिले अहिले आफ्नो काम गरिरहेको इन्चार्ज भट्टले बताए ।

प्रकाशित : भाद्र २९, २०७८ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?