सफारीका हात्ती धमाधम बेचिँदै

कोरोना महामारीले थलिएपछि पर्यटन व्यवसायीले भारततिर हात्ती बिक्री गर्न थालेका छन् 
रमेशकुमार पौडेल

चितवन — कोरोना महामारीले पर्यटन सुस्ताएसँगै जंगल सफारीमा प्रयोग हुने हात्ती भारत बेच्ने क्रम बढेको छ । झन्डै तीन वर्षमा २२ हात्ती घटेका छन् । यो वर्ष पनि हात्ती बिक्री रोकिएको छैन । गैरसरकारी संस्था जनहित संरक्षण मञ्च (प्रो–पब्लिक) ले हात्ती खरिद–बिक्री तथा निकासी रोक्न माग गर्दै राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पत्र नै पठाएको छ ।

बिहीबार राति २ बजेतिर चितवन सौराहाबाट एउटा हात्ती भारतका लागि लगिएको पत्रमा उल्लेख छ । प्रो–पब्लिकका कार्यक्रम संयोजक सञ्जय अधिकारी र कानुनी सहायक अर्वण

चौधरीले लेखेको पत्रमा ४५ लाख भारतीय रुपैयाँमा हात्ती बिक्री भएको जनाइएको छ । उनीहरूका अनुसार हात्ती बिक्रीका लागि एक महिनाअघि नै बैना गरिएको थियो । ‘हात्ती ४५ लाख भारतीय रुपैयाँमा जालिम नामक भारतीय व्यक्तिलाई बिक्री गरेको खबर हामीले प्राप्त गरेका छौं । शुक्रबार बिहान २ बजे जालिमका भाइ आलमले उक्त हात्ती सौराहाबाट भारततर्फ लगिरहेको खबर हामीलाई छ,’ पत्रमा उल्लेख छ । उक्त हात्ती दुई–चार दिन वीरगन्जमा राखेर भारत छिराउने योजना रहेको पत्रमा भनिएको छ ।

उनीहरूका अनुसार हात्ती ५० वर्षको काजलकली हो । उद्धवकुमार कोइराला प्रबन्ध निर्देशक रहेको सौराहाको होटल अर्थ लाइटले प्रयोग गर्ने उक्त हात्ती मधुकर रेग्मीको रहेको पत्रमा जनाइएको छ । रेग्मीले आफूले कुनै हात्ती नबेचेको प्रतिक्रिया दिए । भाडामा ल्याएको हात्ती नै साहुलाई फिर्ता पठाइएको उनको भनाइ छ । ‘तीन वर्षअघि पुसमा मैले मासिक ५० हजार रुपैयाँ भाडा तिर्ने गरेर एउटा हात्ती ल्याएको थिएँ,’ उनले भने, ‘दुई वर्षयता पर्यटक आउनै ठप्प भयो, सफारी नचलेपछि हात्ती मालिकलाई भाडा मिनाहा नगर्ने भए लैजान भनेको थिएँ, त्यही हात्ती फिर्ता भएको हो ।’

सौराहामा हात्ती सफारी चलाउनेले युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था खोलेका छन् । सहकारीमा तीन वर्षअघि ऋषि तिवारी अध्यक्ष चुनिए । उनी अध्यक्ष भएर आउँदा संस्थामा ५५ वटा हात्ती थिए, अहिले ३३ वटा छन् । ‘सफारी रोकिएपछि हात्ती घटे । यहाँ धेरै हात्ती भाडामा ल्याउने र प्रयोग गर्ने चलन छ । पर्यटक नआएपछि भाडाका हात्ती फिर्ता भए भनेर हामीलाई भनिएको छ,’ अध्यक्ष तिवारीले भने ।

कोरोनाका कारण परेको घाटा कम गर्न हात्ती भएका पर्यटन व्यवसायीले होटलभन्दा हात्ती बेच्न थालेको उनीहरूको भनाइ छ । सौराहाको पहिचान सफारी पनि भएकाले हात्ती धमाधम बिक्री भए पर्यटक आउँदा के गर्ने भन्ने अवस्था सिर्जना भएको छ । ‘हात्ती विस्थापित हुनु हुँदैन भन्ने हाम्रो मत छ । अहिले हात्ती बेचे भोलि किन्न सकिन्न, हात्ती नै नभए सौराहाको महत्व रहँदैन भनेका छौं,’ सहकारीका अध्यक्ष तिवारीले भने ।

निकुञ्जसँग समन्वय गरेर सामुदायिक वनमा हात्तीका लागि घाँसको व्यवस्था गरिएको छ उनले बताए । हात्ती बिक्री राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको हुँदा सरकारले यसलाई रोक्नुपर्ने प्रो–पब्लिकले माग गरेको छ । नेपालले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) पालना र कार्यान्वयनमा ल्याउन २०७३ सालमा ऐन जारी गरेको छ । राष्ट्रिय निकुञ्ज ऐनले पनि हात्तीको गैरकानुनी खरिद–बिक्रीलाई दण्डनीय अपराध मानेको प्रो–पब्लिकले जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०७८ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मतीमा मुख्यमन्त्री छान्नै सकस

आधा कार्यकाल नेतृत्व गर्न पाउनुपर्ने कांग्रेसको दाबी
भागबन्डा प्याकेजमै गर्नुपर्ने माओवादीको भनाइ
एकीकृत समाजवादीका नेता पाण्डे भन्छन्– ‘भागबन्डाअनुसार वाग्मतीमा आफ्नै नेतृत्व’
सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशमा विपक्षी गठबन्धनलाई भावी मुख्यमन्त्रीको नाम टुंग्याउन सकस परेको छ । अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार औपचारिक रूपमा अल्पमतमा परिसकेको अवस्थामा विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को सरकार बन्ने निश्चित भइसकेको छ । तर प्रदेशको मुख्यमन्त्रीको विषयमा गठबन्धनमा सहमति नजुट्दा शाक्य नेतृत्वको सरकारको आयु लम्बिँदै गएको छ ।

एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीले प्रदेशमा औपचारिक मान्यता पाउँदासम्म पनि नयाँ सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्ने भन्ने अझै टुंगो लागेको छैन । गठबन्धनबाट मुख्यमन्त्रीको दौडमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे छन् । बानियाँले आधा समयका लागि भए पनि आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष लबिइङ गरिरहेका छन् । पाण्डेले एकल बहुमत रहेको एमाले विभाजन भएर सरकार गठन हुने अवस्था सिर्जना भएको भन्दै आफूले नेतृत्व पाउनुपर्ने दाबी गरिरहेका छन् । माओवादीले मुख्यमन्त्रीमा आफ्नो दाबेदारी नरहेको यसअघि नै स्पष्ट पारिसकेको छ ।

गठबन्धनमा नेतृत्वको विषयमा टुंगो नलाग्दा माओवादीले सोमबार दिउँसो १२ बजे र कांग्रेसले दिउँसो २ बजेका लागि बोलाएको संसदीय दलको बैठक अचानक स्थगन गरेका थिए । एकीकृत समाजवादीले आफ्ना १३ सांसदसहित शाक्य नेतृत्वको सरकार हटाउने र भावी मुख्यमन्त्रीका रूपमा पाण्डेलाई अगाडि बढाउने भन्दै हेटौंडामा तयारी अवस्थामा रहे पनि माओवादी र कांग्रेसले संसदीय दलको बैठक नराख्दा चुप बस्न बाध्य भएको छ । वाग्मतीमा सरकार निर्माणका लागि ५५ मत आवश्यक छ । प्रदेशसभामा माओवादीको २३, कांग्रेसको २२ र एकीकृत समाजवादीको १३ मतसहित कुल ५८ मत छन् । स्वतन्त्र सांसद प्रेम तामाङको साथ पनि गठबन्धनलाई छ । उनी जसपानिकट हुन् । एमालेका ४३ सांसद छन् । साना दलको सहयोगमा पनि एमालेको सरकार टिक्ने अवस्था छैन ।

नेता पाण्डेले प्रदेश सरकारको नेतृत्व आफूले गर्ने दाबी गरिरहेका छन् । उनले प्रदेश १ मा समेत गठबन्धनका तर्फबाट एकीकृत समाजवादीले नै नेतृत्व गर्ने दाबी गरे । ‘गठबन्धनका तर्फबाट ६ वटा प्रदेशमध्ये कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट २/२ मुख्यमन्त्रीको भागबन्डा भएको छ,’ उनले भने । उनका अनुसार गण्डकी र कर्णालीमा कांग्रेसले नेतृत्व गर्ने भन्दै कर्णालीमा माओवादीले कांग्रेसलाई छोड्ने निर्णय भइसकेको छ भने लुम्बिनी र सुदूरपश्चिममा माओवादीले मुख्यमन्त्री पाइसकेको छ ।

कांग्रेस नेता बानियाँले वाग्मतीमा मुख्यमन्त्रीको विषय टुंगिन बाँकी रहेको बताए । ‘मुख्यमन्त्रीको विषय केन्द्रबाटै टुंगिन्छ । त्यसलाई आत्मसात् गर्दै अगाडि बढ्न जरुरी छ । प्रदेशमा नेतृत्वसहित मन्त्रालयको भागबन्डा प्याकेजमै गरेर अगाडि बढ्नुपर्ने माओवादी पक्षको भनाइ छ । ‘नेतृत्वको विषय टुंगिएपछि बिस्तारै सवै विषय टुंगिन्छ । हामी प्याकेजमै सहमति गरेर अगाडि बढ्छौं,’ माओवादी नेता शालिकराम जम्मकट्टेलले भने । माओवादीले बानियाँको नेतृत्वमा जाँदा सहज हुने भन्दै उनको पक्षमा लबिइङ गरिरहेको छ । कांग्रेसले वाग्मतीमा एकीकृत समाजवादी र आफूले आधा/आधा कार्यकाल मुख्यमन्त्रीका रूपमा नेतृत्व गर्न पाउनुपर्ने दाबी गरिरहेको छ ।

प्रक्रियामा पनि अलमल

प्रदेश सरकार शीघ्र परिवर्तनको हतारमा रहेको गठबन्धनमा कुन प्रक्रियाबाट अगाडि बढ्ने समेत अलमल देखिन्छ । हालकै अवस्थामा सरकार परिवर्तन गर्न कि ३० दिनसम्म शाक्यले विश्वासको मत लिनुपर्ने समय कुर्नुपर्ने हुन्छ वा उनीमाथि अविश्वासको प्रस्ताव लगेर विशेष अधिवेशन बोलाउनुपर्छ । तर मुख्यमन्त्रीको विषयमा सहमति नहुँदा कुन प्रक्रियाबाट अगाडि बढ्ने निचोडमा गठबन्धन पुग्न सकेको छैन । भावी मुख्यमन्त्री चयन गर्न सबैभन्दा छोटो बाटो अविश्वासको प्रस्ताव हो । त्यसका लागि प्रदेश प्रमुखमार्फत विशेष अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।

अविश्वासको प्रस्ताव दर्ता गराउन नयाँ मुख्यमन्त्रीको नामसमेत किटान गर्नुपर्छ । भावी मुख्यमन्त्री को हुने भन्ने विषय नटुंगिँदा यो प्रक्रिया तत्कालै सुरु हुने अवस्था छैन । प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएर प्रदेश प्रमुखलाई गठबन्धनमा बहुमत रहेको जानकारी गराएपश्चात् उनले १५ दिनभित्र संसद्को विशेष अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ । हाल प्रदेशसभाको अधिवेशन स्थगन भएका कारण यस्तो अवस्था सिर्जना भएको हो । मुख्यमन्त्री शाक्यले आफ्नो सरकार अल्पमत परेको र आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने डरले अधिवेशन स्थगन गरेकी हुन् ।

पदाधिकारी चयन

एकीकृत समाजवादीले वाग्मती प्रदेश संसदीय दलका पदाधिकारी चयन छ । संसदीय दलको सोमबार हेटौंडामा बसेको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देललाई चयन गरेको हो । दलका नेता पाण्डेको अध्यक्षतामा बसेको बैठकले उपनेतामा कृष्ण खनाल र सचेतकमा बसुन्धरा हुमागाईंलाई जिम्मेवारी दिएको छ । बैठकले शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेकाले गठबन्धन सरकार बनाउने निर्णय गरेको सचेतक हुमागाईंले बताइन् ।

‘गठबन्धनमा रहेका दलहरू कांग्रेस र माओवादी केन्द्रसँग समन्वय गर्ने जिम्मवेवारी दलका नेता पाण्डेलाई दिइएको छ,’ उनले भनिन् । बैठकले गठबन्धन सरकार बन्ने निश्चित भएको भन्दै साझा न्यूनतम कार्यक्रम मस्यौदा गर्न माधव पौडेल, बसन्त मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मा दिएको छ ।

प्रकाशित : भाद्र २९, २०७८ ०९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×