अझै बनेन निपा संक्रमित उपचार केन्द्र- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै बनेन निपा संक्रमित उपचार केन्द्र

अतुल मिश्र

काठमाडौँ — निपा भाइरस संक्रमितको सहज उपचारका लागि हेपा फिल्टरसहितको अत्याधुनिक आइसोलेसन सेन्टर आवश्यक पर्छ । विज्ञहरूले तीन वर्षअघि नै निपा भाइरसजस्ता अत्यन्त घातक संक्रमणको उपचारका लागि आवश्यक संरचना नभएको भन्दै हेपा फिल्टरसहितको अत्याधुनिक आइसोलेसन सेन्टरको आवश्यकता औंल्याएका थिए । 

भारतीय राज्य केरलको कोझिकोड जिल्लामा गत आइतबार निपा संक्रमणका कारण १२ वर्षीय बालकको ज्यान गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका १ सय १८ स्वास्थ्य निकायलाई पत्र पठाएको छ । पत्रमा भाइरसका शंकास्पद लक्षण देखिएका व्यक्तिमा थप परीक्षण गर्न सतर्क गराएपछि हेपा फिल्टरसहितको आइसोलेसन सेन्टरको आवश्यकताबारे बहस सुरु भएको हो ।

सन् २०१८ को जुनमा केरलकै कोझिकोड र मलप्पुर जिल्लामा निपा भाइरसको संक्रमणका कारण १८ जनाको मृत्यु भएको थियो । त्यतिबेला नै विज्ञहरूले नेपालमा पनि निपा संक्रमणको केस पहिचान भएको तर अत्याधुनिक आइसोलेसन वार्ड नहुँदा उपचार कठिन भएको बताएका थिए । ‘निपाको केस पहिचान भइहालेको खण्डमा पनि त्यसलाई ह्यान्डल गर्न हामीसँग क्षमता छैन,’ डा.केदारप्रसाद सेन्चुरीले त्यतिबेला नै बताएका थिए । डा.सेन्चुरीले अत्याधुनिक आइसोलेसन सेन्टरको आवश्यकता औंल्याएको तीन वर्ष बितिसक्दा पनि कुनै प्रगति भएको छैन ।

भारतमा देखियो निपा भाइरस, कति जोखिममा नेपाल ?

ईडीसीडीका निर्देशक डा.कृष्णप्रसाद पौडेल भने नेपालमा भाइरसको जोखिम रहेको भए पनि उपचारका लागि आवश्यक व्यवस्थापन गर्न सकिने दाबी गर्छन् । ‘उपचारका लागि छुट्टै बेड छैन, तर आवश्यक परे व्यवस्थापन गर्न सक्छौं,’ उनले भने । भाइरसको उपचारका लागि भने हेपा फिल्टरसहितको आइसोलेसन हुनुपर्ने उनको भनाइ छ ।

संक्रमण फैलन सक्ने निपा, सार्स, कोभिड वा अन्य कुनै प्रकारका सरुवा रोग उपचारका लागि प्रयोगमा आउन सक्ने स्वास्थ्य पूर्वाधार निर्माण गर्नुपर्ने पौडेल बताउँछन् । त्यस्तै, सातवटै प्रदेशमा बन्न लागेका संक्रामक अस्पतालको पूर्वाधार संक्रामक रोग लक्षित हुनुपर्ने उनको सुझाव छ । विश्व स्वास्थ्य संगठनका अनुसार सिलिगुडीमा दुई दशकअघि देखिएको निपा संक्रमणको मृत्यु दर ६८ प्रतिशत थियो । भाइरसविरुद्ध हालसम्म कुनै खोप विकास हुन सकेको छैन ।

के हो निपा भाइरस ?

निपा भाइरस जनावरबाट मानिस फैलिने संक्रमण हो । फलफूल खाने चमेरो भाइरसको प्राकृतिक वाहक मानिन्छ । फलफूलमा बस्ने त्यस्तो चमेरो नेपालका तराई क्षेत्रमा पाइने डा. पौडेल बताउँछन् । डब्लूएचओका अनुसार यो भाइरस दूषित भोजनको माध्यमले वा सीधै एक व्यक्तिबाट अर्कोमा फैलिन्छ । डब्लूएचओका अनुसार सन् १९९८ मा मलेसियाको काम्पुंग सुगइमा पहिलोपटक निपा भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यतिबेला यो रोग संक्रमित सुँगरको कारण किसानमा फैलिएको जनाइएको थियो ।

निपा संक्रमितमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, मांसपेसी दुख्ने तथा घाँटी दुख्नेलगायतका लक्षण देखिन्छ । डब्लूएचओका अनुसार त्यसपछि चक्कर आउने, स्मरण शक्तिमा समस्या हुने र इन्सेफलाइटिसको संकेत गर्ने स्नायुसम्बन्धी समस्याहरू देखिन थाल्छन् । केही संक्रमितमा असामान्य निमोनिया र श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्यासमेत हुन सक्छ 

प्रकाशित : भाद्र २९, २०७८ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्

दुई महिनाभित्र ६० लाख डोज खोप ल्याइँदै

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ विरुद्धको थप ६० लाख डोज खोप आउने टुंगो लागेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप असोज २९ (अक्टोबर १५) भित्र ल्याइनेछ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्नासाथ चीनले सहयोगको प्रतिबद्धता जनाएको १६ लाख डोज खोप पनि सेप्टेम्बर अन्तिमसम्म भित्र्याइने भएको छ । 


मन्त्रालयका अनुसार विभिन्न स्रोतबाट करिब १ करोड ३३ लाख डोज खोप आइसकेको छ । त्यसमध्ये करिब १७ लाख डोज मौज्दात रहेको मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाले जानकारी दिए । मौज्दातमध्ये १५ लाखभन्दा बढी डोज सबै प्रदेशमा पठाइएको छ भने करिब डेढ लाख आकस्मिक अवस्थाका लागि केन्द्रमै राखिएको छ । त्यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अन्तर्राष्ट्रिय अभियान कोभाक्स सुविधाबाट समेत डिसेम्बरसम्म ६० लाख डोज खोप खरिद (कस्ट सेयरिङ) गरी ल्याउने तयारी थालिएको डा बिच्छाले जानकारी दिए । ‘कोभाक्सले कुन खोप दिन्छ भन्ने अझसम्म स्पष्ट भएको छैन,’ उनले भने, ‘तर हामीले २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न मिल्ने खोपका लागि आग्रह गरेका छौं ।’

डा. बिच्छाका अनुसार कोभाक्समार्फत भेरोसेल, अक्सफोर्ड अस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सनमध्येबाट कुनै खोप आउने सम्भावना छ । नेपालमा एक तिहाइभन्दा बढी (३४.३५ प्रतिशत) ले खोप लगाएका छन् । १६.१० प्रतिशतले पूर्ण र १८.२५ प्रतिशतले पहिलो डोज लगाएका हुन् । पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ५ सय ९८ जनाले खोप लगाएका छन् । मन्त्रालयका अनुसार शनिबारसम्ममा एक डोज लगाउनेको संख्या १ करोड ३ लाख ७५ हजार ७ सय ६४ पुगेको छ । ‘साउन १२ गते कम्तीमा एक डोज लगाएका ४९ लाख २० हजार १० जना थिए, पछिल्लो ४० दिनमा ५४ लाख ५५ हजार ७ सय ५४ जना थपिएका छन्,’ डा. बिच्छाले भने, ‘पछिल्लो समय दिनमा सरदर डेढ लाखदेखि दुई लाख मात्रासम्म खोप लगाइरहेका छौं ।’

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार शुक्रबारसम्म काठमाडौंका ४० प्रतिशत नागरिकले पूर्ण खोप पाएका छन् भने ४८ प्रतिशतले पहिलो डोज लगाएका छन् । काठमाडौंका ११ पालिकामध्ये शंखरापुर र दक्षिणकाली नगरपालिकाका १८ वर्षमाथिका सबै नागरिकले पहिलो डोज खोप लगाइसकेको खड्काले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले १८ वर्षमाथिका सबैलाई चैत मसान्तसम्म पूर्ण खोप लगाउने लक्ष्य लिएको छ । असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप लगाउने भनिएकामा अभियान लक्ष्यअनुसार नै अघि बढेको डा. बिच्छाको दाबी छ । ‘एक डोजले समेत संक्रमणसम्बन्धी जटिलता, मृत्युदर आदिलाई धेरै घटाइरहेको देखिएको छ,’ उनले भने । मन्त्रालयले अघिल्लो साता सार्वजनिक गरेको कोभिड–१९ संक्रमणको दोस्रो राष्ट्रिय सेरो प्रिभ्यालेन्स सर्वेक्षणको प्रारम्भिक नतिजामा खोपको प्रभावकारिता राम्रो देखिएको छ । एक डोज लगाएकामा ८० प्रतिशत र पूर्ण खोप लगाएका ९० प्रतिशतमा कोभिडविरुद्घको एन्टिबडी बनेको सर्वेक्षणले जनाएको छ ।

बालबालिकाका लागि एक करोड डोज खोप ल्याइने

स्वास्थ्य मन्त्रालयले डिसेम्बरदेखि सन् २०२२ को मार्चसम्म बालबालिका/किशोरकिशोरीका लागि करिब एक करोड डोज खोप ल्याउने तयारी थालेको छ । डब्लूएचओले १२ देखि १८ वर्ष उमेर समूहका लागि मोडर्ना र फाइजर खोपलाई मात्र आकस्मिक अनुमति दिएको छ । सरकारले यिनै दुई कम्पनीका खोप ल्याउने तयारी थालेको हो । डा. बिच्छाले डिसेम्बरसम्म ६० लाख डोज फाइजरमध्ये ५० लाख आउने बताए । बाँकी १० लाख डोज भने २०२२ को जनवरीदेखि मार्चसम्ममा आउन सक्ने सम्भावना छ । त्यस्तै, २०२२ को जनवरीदेखि मार्चसम्म मोडर्नाको ४० लाख डोज खोप पनि आउने डा. बिच्छाले बताए ।

– यसअघि प्रकाशित समाचारमा सरकारले खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप असोज २९ (अक्टोबर १५) भित्र ल्याइने हुनुपर्नेमा अन्यथा पर्न गएकाले  सच्याइएको छ ।

प्रकाशित : भाद्र २०, २०७८ ०७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×