कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै बनेन निपा संक्रमित उपचार केन्द्र

अतुल मिश्र

काठमाडौँ — निपा भाइरस संक्रमितको सहज उपचारका लागि हेपा फिल्टरसहितको अत्याधुनिक आइसोलेसन सेन्टर आवश्यक पर्छ । विज्ञहरूले तीन वर्षअघि नै निपा भाइरसजस्ता अत्यन्त घातक संक्रमणको उपचारका लागि आवश्यक संरचना नभएको भन्दै हेपा फिल्टरसहितको अत्याधुनिक आइसोलेसन सेन्टरको आवश्यकता औंल्याएका थिए । 

अझै बनेन निपा संक्रमित उपचार केन्द्र

भारतीय राज्य केरलको कोझिकोड जिल्लामा गत आइतबार निपा संक्रमणका कारण १२ वर्षीय बालकको ज्यान गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका १ सय १८ स्वास्थ्य निकायलाई पत्र पठाएको छ । पत्रमा भाइरसका शंकास्पद लक्षण देखिएका व्यक्तिमा थप परीक्षण गर्न सतर्क गराएपछि हेपा फिल्टरसहितको आइसोलेसन सेन्टरको आवश्यकताबारे बहस सुरु भएको हो ।

सन् २०१८ को जुनमा केरलकै कोझिकोड र मलप्पुर जिल्लामा निपा भाइरसको संक्रमणका कारण १८ जनाको मृत्यु भएको थियो । त्यतिबेला नै विज्ञहरूले नेपालमा पनि निपा संक्रमणको केस पहिचान भएको तर अत्याधुनिक आइसोलेसन वार्ड नहुँदा उपचार कठिन भएको बताएका थिए । ‘निपाको केस पहिचान भइहालेको खण्डमा पनि त्यसलाई ह्यान्डल गर्न हामीसँग क्षमता छैन,’ डा.केदारप्रसाद सेन्चुरीले त्यतिबेला नै बताएका थिए । डा.सेन्चुरीले अत्याधुनिक आइसोलेसन सेन्टरको आवश्यकता औंल्याएको तीन वर्ष बितिसक्दा पनि कुनै प्रगति भएको छैन ।

भारतमा देखियो निपा भाइरस, कति जोखिममा नेपाल ?

ईडीसीडीका निर्देशक डा.कृष्णप्रसाद पौडेल भने नेपालमा भाइरसको जोखिम रहेको भए पनि उपचारका लागि आवश्यक व्यवस्थापन गर्न सकिने दाबी गर्छन् । ‘उपचारका लागि छुट्टै बेड छैन, तर आवश्यक परे व्यवस्थापन गर्न सक्छौं,’ उनले भने । भाइरसको उपचारका लागि भने हेपा फिल्टरसहितको आइसोलेसन हुनुपर्ने उनको भनाइ छ ।

संक्रमण फैलन सक्ने निपा, सार्स, कोभिड वा अन्य कुनै प्रकारका सरुवा रोग उपचारका लागि प्रयोगमा आउन सक्ने स्वास्थ्य पूर्वाधार निर्माण गर्नुपर्ने पौडेल बताउँछन् । त्यस्तै, सातवटै प्रदेशमा बन्न लागेका संक्रामक अस्पतालको पूर्वाधार संक्रामक रोग लक्षित हुनुपर्ने उनको सुझाव छ । विश्व स्वास्थ्य संगठनका अनुसार सिलिगुडीमा दुई दशकअघि देखिएको निपा संक्रमणको मृत्यु दर ६८ प्रतिशत थियो । भाइरसविरुद्ध हालसम्म कुनै खोप विकास हुन सकेको छैन ।

के हो निपा भाइरस ?

निपा भाइरस जनावरबाट मानिस फैलिने संक्रमण हो । फलफूल खाने चमेरो भाइरसको प्राकृतिक वाहक मानिन्छ । फलफूलमा बस्ने त्यस्तो चमेरो नेपालका तराई क्षेत्रमा पाइने डा. पौडेल बताउँछन् । डब्लूएचओका अनुसार यो भाइरस दूषित भोजनको माध्यमले वा सीधै एक व्यक्तिबाट अर्कोमा फैलिन्छ । डब्लूएचओका अनुसार सन् १९९८ मा मलेसियाको काम्पुंग सुगइमा पहिलोपटक निपा भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यतिबेला यो रोग संक्रमित सुँगरको कारण किसानमा फैलिएको जनाइएको थियो ।

निपा संक्रमितमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, मांसपेसी दुख्ने तथा घाँटी दुख्नेलगायतका लक्षण देखिन्छ । डब्लूएचओका अनुसार त्यसपछि चक्कर आउने, स्मरण शक्तिमा समस्या हुने र इन्सेफलाइटिसको संकेत गर्ने स्नायुसम्बन्धी समस्याहरू देखिन थाल्छन् । केही संक्रमितमा असामान्य निमोनिया र श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्यासमेत हुन सक्छ 

प्रकाशित : भाद्र २९, २०७८ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?