कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कोरोना संक्रमण दर घट्दो क्रममा, विज्ञ भन्छन्–‘संक्रमण घटेजस्तो देखिए पनि जोखिम उत्तिकै’

बुनु थारु

काठमाडौँ — पछिल्लो समयमा नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको तथ्यांकहरुले देखाएका छन् । सोमबार भदौ २८ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले परीक्षण संख्या अनुसार संक्रमित देखिने दर पर्सेन्ट पोजिटिभ रेट(पीपीआर) ८.९ प्रतिशत रहेको देखाएको छ । आइतबार भने सो संख्या ८.२७ प्रतिशत रहेको थियो ।

कोरोना संक्रमण दर घट्दो क्रममा, विज्ञ भन्छन्–‘संक्रमण घटेजस्तो देखिए पनि जोखिम उत्तिकै’

यस्तै सात दिनको औसत पीपीआर समेत विस्तारै ओरालो लाग्दै गएको देखिन्छ । सोमबार सात दिनको औसत पीपीआर जम्मा १०.२६ प्रतिशत रहेको छ । भदौ २४ देखि २६ गते ३ दिन पीपीआर १० प्रतिशत हाराहारीमा रहेको तथ्यांकले देखाउँछ ।

त्यसैगरी करिब एक महिनाको तथ्यांक विश्लेषण गर्दा साउन २८ गते पीपीआर २१.०८ प्रतिशत रहेकोमा साउन ३२ गते अलि बढी पीपीआर रेट २२.११ प्रतिशत थियो । त्यसयता भने लगभग पीपीआर १५ प्रतिशत भन्दा तल घट्दै आएको छ । दैनिक पीपीआर घटेसँगै सात दिनको औसत पीपीआर स्वतः कम हुने नै भयो ।

सक्रिय संक्रमितको संख्या पनि ३० हजारभन्दा कम देखिएको छ । सोमबार सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । भदौ २३ यता सक्रिय संक्रमितको संख्या २९ हजार हाराहारी रहेकोमा ५ दिनयता सक्रिय संक्रमितको संख्या पनि घटेको देखिएको छ । भदौ २ गतेको तथ्यांक हेर्ने हो भने सक्रिय संक्रमितको संख्या ४० हजारसम्म पुगेको थियो ।

एक महिनाको दौरानमा सबैभन्दा बढी साउन ८ गते १३ हजार ६९८ पीसीआर परीक्षण भएका छन् । बढीमा १० हजारको हाराहारीमा हाल पीसीआर परीक्षण भइरहेका छन् देशभरि । त्यसैगरी एन्टिजेन परीक्षण पनि बढीमा ६ हजारसम्म दैनिक भएको देखिन्छ ।

सबैभन्दा बढी भदौ ९ गते ४४ जनाको मृत्यु भएको छ । त्यसयता भने मृत्यु हुनेको संख्या पनि घट्दो नै देखिन्छ । सबैभन्दा कम भदौ १९ गते ९ जनाको मृत्यु भएको थियो । दैनिक १४ देखि २० को हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ । त्यसैगरी दैनिक २ हजारको हाराहारीमा निको हुनेको संख्या रहेको छ ।

किन घट्दो छ संक्रमण ?

सोमबार १६ हजार ५३९ कुल परीक्षणमा (पीसीआर १ हजार १४९ र एन्टिजेन ३ हजार ३७ ) १ हजार ४८६ जना संक्रमित पुष्टि भएका छन् । पीसीआर परीक्षणमा १ हजार १४९ जना संक्रमित भेटिएका हुन् भने एन्टिजेन परीक्षणमा ३३७ जनामा संक्रमण देखिएको छ । निको हुनेको संख्या १ हजार २६० रहेको छ ।

आइतबारको तथ्यांक हेर्ने हो भने ११ हजार १८ कुल परीक्षणमा पीसीआरबाट ८३८ जना र एन्टिजेनबाट ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तथ्यांकले परीक्षण बढ्दा संक्रमितको संख्या बढ्ने र परीक्षण घट्दा संक्रमण स्वत: घटेको देखाएको छ । यो कारणले पनि संक्रमण दर घटेको विज्ञहरुको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले केही दिनयता संक्रमण दर घटेको जस्तो देखिएपनि परीक्षण कम हुँदा केस घटेको देखिएको बताउँछन् ।

‘परीक्षण बढ्दा केस पनि बढ्छ नै । सबैले सोचेजस्तो जोखिम भने घटेको नलिऔं । संक्रमण दर त घटेको छ तर जनस्वास्थ्यका मापदण्डमा होसियारी सधैँ अपनाउनुपर्छ । त्यसमा कमजोर नबनौँ,’ उनले भने ।

जनस्वास्थ्यविद् डा. विन्ज्वला श्रेष्ठ पनि संक्रमण घट्नुमा परीक्षणले पनि फरक पार्ने बताउँछिन् । उनका अनुसार परीक्षण बढेको छैन र लक्षण भएकाले मात्र परीक्षण गराइरहेका छन् । उनले संक्रमण घट्नुमा मास्कको प्रयोग, काठमाडौंमा खोप कार्यक्रमण र वातावरणले पनि भाइरसको लोड कम भएको हुन सक्ने धारणा राख्छिन् ।

डा. श्रेष्ठ भन्छिन्, ‘नयाँ भेरियन्ट आयो भने तेस्रो लहरको सम्भावना उत्तिकै छ । हामीमा ढिलो देखिएको होला । भारतमा कम हुँदा हाम्रोमा पनि घटेको देखाएको छ । उता बढ्यो भने यता पनि बढ्छ ।’

जनस्वास्थ्यविद् डा. शरद वन्तले संक्रमण दर घटेको देखाएता पनि जति नियन्त्रण हुनुपर्ने हो त्यो नभएको बताए । ‘मुख्य कारण त जनस्वास्थ्यको पालना राम्ररी नगर्नु नै हो । हामी जोखिमकै वरिपरी छौँ । पीपीआर ५ प्रतिशतभन्दा तल जान सकेको छैन,’ डा वन्तले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोभिड–१९ संक्रमणको दोस्रो राष्ट्रिय सेरोप्रिभ्यालेन्स सर्वेक्षणमा पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी पाइएको थियो भने एक मात्रा मात्र खोप लगाएका व्यक्तिहरु ८० प्रतिशतमा एन्टिबडी विकास भएको सर्वेक्षणमा पाइएको थियो ।

डा. वन्तका अनुसार देशभरि कोरोना संक्रमितको संख्या पहिचान भएकोभन्दा धेरै छन् । ‘ठूलो संख्याको जनसंख्या संक्रमित भएर होस् वा खोप पाएको कारणले होस् संक्रमण भएर प्राकृतिक रुपमै रोगविरुद्ध लड्ने सक्ने क्षमताले पनि संक्रमण दर घटेको देखिएको होला, उनले भने, ‘सेरोको जुन नतिजा आयो रोग प्रतिरोधात्मक क्षमता विकसित भएको भन्ने पुष्टि भयो भन्ने छ त्यो कति लामोसमयसम्म बस्न सक्छ भनेर अहिलेसम्म पुष्टि भएको छैन । त्यसले गर्दा सधैंभरि जोखिममुक्त भयौँ भन्ने होइन ।’

डा. वन्त भन्छन्, ‘हामी जोखिममुक्त नभइसकेको परिवेशमा चाहे त्यो विद्यालय होस् वा चाडपर्व, राजनीतिक भेटघाट, जुलस होस् संक्रमण विस्तार हुन सक्ने जोखिम र सम्भावनालाई नकार्न सकिन्न ।’

५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला

जिल्ला अनुसार कोरोनाको सक्रिय संक्रमितको संख्या हेर्ने हो भने ५ सय भन्दामाथि उपचारर्थ संक्रमित भएका जिल्लाहरु सोमबारसम्मको तथ्यांक हेर्दा १३ वटा रहेका छन् ।

एक महिनाअगाडि यसको संख्या २१ थियो । यो संख्या पनि घटेको पाइएको हो । मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर , ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, कास्की, बाग्लुङ, रुपन्देही र सुर्खेत रहेका छन् ।

काठमाडौं उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ४०६ रहेको छ ।

त्यसैगरी २ सयभन्दा सक्रिय संक्रमित भएका जिल्लाहरु २० वटा रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

अस्पतालहरुमा बिरामीको संख्या हुने पनि घट्दै गएको पाइएको छ । त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन रामविक्रम अधिकारीले एक सातायता कोभिडका बिरामीको संख्या घटेको र ननकोभिडका बिरामीहरु बढेको बताए । ‘गएको हप्ताभन्दा घट्दै गएको छ । एक सयभन्दा माथि बिरामी हुन्थे आज ७२ जना छन्,' उनले भने ।

त्यसैगरी सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा पनि कोभिडका बिरामीहरु कम हुँदै गएको डा. प्रविन नेपाल बताउँछन् । उनका अनुसार २०० बिरामी हुनेमा हाल ६० जना बिरामी उपचाररत छन् र दैनिक ५–६ जना बिरामी भर्ना हुने गरेका छन् । उनले दुई हप्तायता बिरामीको संख्या घट्दै आएको बताए ।

कतिले पाए खोप ?

पहिलो मात्राको खोप ५८ लाख ३३ हजार ९ सय ३८ र पूर्ण मात्राको खोप ५१ लाख ९८ हजार १ सय ९३ जनाले लगाइसकेका छन् ।

अस्ट्राजेनेकाको पहिलो मात्राको खोप देशभरि २४ लाख २ हजार ४३२ जनाले प्राप्त गरिसकेका छन् । त्यसैगरी दोस्रो मात्रा १३ लाख ९९ हजार ६६० जनाले पाइसकेका छन् ।

भेरोसेल देशभरिमा पहिलो मात्रा लगाउनेमा ३४ लाख ३१ हजार ५०६ र २४ लाख १६ हजार ३०९ जना दोस्रो मात्राको खोप लगाएका छन् ।

जोन्सन एन्ड जोन्सनको खोप भने १३ लाख ८२ हजार २२४ जनाले प्राप्त गरिसकेका छन् ।

प्रकाशित : भाद्र २८, २०७८ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?