सुदूरपश्चिमका दुई हस्ती : वर्चस्वमा धक्का- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
समाचार विश्लेषण

सुदूरपश्चिमका दुई हस्ती : वर्चस्वमा धक्का

एमाले नेता भीम रावल र माओवादी केन्द्रका तत्कालीन नेता लेखराज भट्ट दुवै जना हाल एउटै दलमा छन् । तर विगतमा उनीहरूको दायाँबायाँ रहेर मोर्चा हाँक्ने अनुहारहरू टाढिएका छन् ।
अर्जुन शाह

धनगढी — लामो समय सुदूरपश्चिमको वामपन्थी राजनीतिमा आ–आफ्नो दलमा एक नम्बर पोजिसनमा रहेका एमाले नेता भीम रावल र तत्कालीन माओवादी केन्द्रका नेता लेखराज भट्ट दुवैले विगतको वर्चस्व गुमाएका छन् । दुवै जना हाल एउटै दलमा छन् । तर विगतमा उनीहरूको दायाँबायाँ रहेर मोर्चा हाँक्ने अनुहारहरू टाढिएका छन् ।

अगाडि पछाडि रहेर तामझाम गर्ने र मैदान हाँक्ने सारथिहरू फरक कित्तामा पुगेका छन् । पछिल्ला घटनाले दुवै जनाको राजनीतिक शक्ति सन्तुलनको अवस्थामा धेरै फेरबदल आइसकेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ०७८ जेठ २५ गते विश्वासको मत लिँदा प्रदेशसभामा एमालेका २४ जना (सभामुखबाहेक) मध्ये १७ सांसदले ‘फ्लोर क्रस’ गरे । ७ जनाले विपक्षमा मतदान गरे । एमालेको स्थायी कमिटीको निर्देशन उल्लंघन गरेर फ्लोर क्रस गर्ने हिम्मत उनीहरूले भीम रावलकै निर्देशन र भरोसामा जुटाएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ०७८ असार २९ मा विश्वासको मत लिने निर्णय गर्दा माधव नेपालले आफ्नो समूहका नेताहरूलाई विश्वासको मत दिन भने । तर पार्टी उपाध्यक्षसमेत रहेका उनकै समूहका प्रभावशाली नेता रावलले देउवालाई मतदान गर्न नसक्ने भन्दै एकाएक प्रतिनिधिसभा सदस्यबाटै राजीनामा दिए ।

अभिभावक मानेका आफ्ना नेताको राजीनामापछि निराश भएका १७ सांसदले रावललाई राजीनामा फिर्ता गर्न आग्रह गरे । टेलिफोनको अनुरोधले मात्र नपुग्ने भएपछि १४ जना प्रदेश सांसद काठमाडौंमा रावलकै निवास पुगेर निर्णयमा पुनर्विचार नगरे आफूहरूले पनि सांसद पदबाट राजीनामा दिने चेतावनी पनि दिए । केही सांसदले नेपाललाई बेग्लै भेटेर रावलको निवासमै पुगेर भए पनि राजीनामा फिर्ता गर्न दबाब दिन उनलाई आग्रह गरे । नेता नेपाल पनि रावलकै घर पुगे र राजीनामा फिर्ता गर्न अनुरोध गरे । रावलनिकट सांसदहरूको जोडबल नेपाल र रावल छुट्टिन हुन्न भन्ने थियो ।

प्रदेशसभामै पनि यति धेरै मजबुत पकड राख्ने भीम रावलको अवस्था अहिले उल्टिएको छ । एमाले विभाजनपछि रावलले आफूप्रति समर्पित सांसद शक्तिलाई जोगाउन सकेनन् । सुदूरपश्चिमका १४ जना प्रदेश सांसदले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजिसकेका छन् । तीमध्ये तत्कालीन नेपाल–खनाल समूहको छाताभित्र तर रावलको नेतृत्वमा रहेका १७ सांसदमध्ये १३ सांसदले रावलको साथ छाडेर एकीकृत समाजवादीको यात्रा तय गरेका हुन् ।

रावलका पक्षमा सतिसालझैं उभिने भनेर सार्वजनिक रूपमै बताउने प्रदेशका सांसदहरूले ‘युटर्न’ गरे । रावलले पनि लामै समयदेखि आफूनिकट नेता/कार्यकर्ताहरूले यसरी बाटो मोड्लान् भन्ने सायदै सोचेका थिए । तर भयो त्यही । ‘पार्टीभित्र विधि र प्रक्रिया मिचेको भनेर केपी ओलीको त्यति धेरै विरोध र संघर्ष गर्‍यौं । त्यस्तो अर्घेल्याइँभित्र हामीलाई त टेक्ने नै ठाउँ देखेनौं,’ एमालेमा प्रमुख सचेतक रहिसकेकी दुर्गाकुमारी कामीले भनिन्, ‘हामीले उहाँको साथ छाडेका हैनौं, रावल सरले हामीलाई छाड्नुभएको हो ।’

तर सुरुदेखि नै ओली पक्षमा रहेका प्रदेशका पूर्वमन्त्री सांसद पठानसिंह बोहराको बुझाइमा भीम रावल सबैको नेता भएकाले सबैलाई मिलाएर लानुपर्ने हो । ‘उहाँ (रावल) पार्टी विभाजनको विपक्षमा उभिनुभएको हो । विगतको पार्टीभित्रको अन्तरसंघर्षको परिस्थिति बेग्लै थियो,’ उनले भने, ‘उहाँ (रावल) माथि प्रहार हुने काल्पनिक कुरा मात्र हो ।’

अझ, लामै समय रावलको सबैभन्दा निकट रहेर काम गरेका उनको गृह जिल्ला अछामका जिल्ला अध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले पनि एकीकृत समाजवादी रोजेपछि राष्ट्रिय राजनीतिमै प्रभावशाली रहेका रावल आफ्नै भूगोलमा कमजोर भएको सन्देश गइसकेको थियो । त्यसैमा प्रदेशसभामा अछामका ४ एमाले सांसदमध्ये ३ जना मना साउद, दुर्गाकुमारी कामी र बलबहादुर सोडारीले पनि रावलसँगको यात्रा अलग गरेका छन् । उनकै नगरपालिकाका मेयर कुलबहादुर कुँवरले पनि साथ छाडेका छन् । अलग्गिनेहरू सबैको एउटै भनाइ छ, ‘साथ हामीले हैन, उहाँले छाड्नुभएको हो । हामीले त फर्किने ठाउँ नै देखेनौं ।’ धेरैले आशंका गरेजस्तो १० बुँदे कार्यान्वयन नहुने अवस्थामा सबैभन्दा बढ्ता मार रावललाई नै पर्ने देखिएको छ ।

रावलकै जस्तो अवस्था भएको छ सुदूरपश्चिमका अर्का हस्ती लेखराज भट्टको पनि । सुरुदेखि नै माओवादीको सुदूरपश्चिम संगठनभित्र लगभग एकलौटीको अवस्था थियो । सशस्त्र द्वन्द्वकालदेखि नै निकट भएकाले अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिममा उनकै रायका आधारमा हरेक निर्णय गर्थे । तर, एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपामा भने उनले खास जिम्मेवारी पाएनन् । सुदूरपश्चिमको इन्चार्ज हुन नपाएपछि दाहालसँग दूरी बढ्न सुरु भइसकेको थियो ।

दाहाल र ओलीबीच टकराव सुरु भएपछि भने भट्ट दाहाललाई छाडेर ओली समूहमा समाहित भए । तर उनले माओवादीसँगको लामो यात्रालाई बिट मार्दै गर्दा सुदूरपश्चिमका आफ्ना सारथिहरूलाई आफूसँगै लैजान सकेनन् । एमाले र माओवादी केन्द्रको एकतापछि माओवादी केन्द्रका १४ जना केन्द्रीय सदस्य थिए । उनीहरूमध्ये अधिकांश भट्ट निकटकै थिए । तर उनले पार्टी छाडेर एमालेमा जाने बेला भने एक जना पनि उनको साथ लागेनन् । अहिले उनलाई ओली वृत्तकै छहारीमुनि चित्त बुझाउनुपर्ने बाध्यता देखिन्छ ।

प्रदेशसभामा पनि लगभग त्यही अवस्था हो । भट्टले जसलाई चाहे उसलाई मन्त्री दिने अवस्था थियो । मुख्यमन्त्रीमा त्रिलोचन भट्टलाई रोजेका थिए । मन्त्रीहरू पनि त्यसैगरी भएका थिए । १४ जना सांसदमध्ये पूर्वआर्थिक मामिला तथा योजनामन्त्री रहेका झपट बोहराबाहेक कसैले पनि नेता भट्टलाई साथ दिएनन् । दल फेरबदलको कानुनअनुसार भट्टले जस्तै बोहराले पनि प्रदेश सांसदको पद गुमाइसकेका छन् ।

रावल र भट्ट दुवैसँग अलग्गिएका उनीहरू समर्थित नेता/कार्यकर्ता भने चिन्तित देखिन्छन् । एकीकृत समाजवादी रोजेका सांसदहरूको बुझाइमा १० बुँदे भनिएको सहमति कार्यान्वयन हुने कुनै छाँटकाँट देखिँदैन । ‘ओली पक्षले १० बुँदे कार्यान्वयन गर्ने रुचि देखाएका भए त मलाई नै नैतिक अप्ठ्यारो पर्ने थियो,’ एकीकृत समाजवादीमा गएका प्रदेश सांसद तारा लामा तामाङ भन्छन्, ‘जेठ २ गतेको अवस्थामा त कञ्चनपुरमा म अध्यक्ष थिएँ ।’

सुदूरपश्चिममा एमालेको सांगठनिक राजनीति ओली निकटकै नेताहरुको वरिपरि हुने देखिएको भएपनि लेखराज भट्टप्रति ओली स्वयं सकारात्मक देखिएकाले तत्काल उनले एक्लो महसुश गर्नुपर्ने अवस्था छैन । तर सुदूरपश्चिममा ओली निकट नेता कार्यकर्ताहरुले माओवादी पृष्ठभूमिका भट्टलाई नै नेता मानेर जान सक्नेमा भने कमैले मात्र विश्वास गरेको देखिन्छ ।

भट्ट निकट ओली पक्षका नेता प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री झपट बोहराले अहिलेको परिवर्तित अवस्था र सांसदहरूको संख्याका आधारमा मात्रै नेताहरूको अवस्था आकलन गर्न नसकिने बताए । उनले निकट भविष्यमा हुने निर्वाचनमा जनताको मतका आधारमा मात्रै दल र नेताहरूको राजनीतिक धरातलको अवस्था मूल्यांकन हुने बताए ।

हाल आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी ओलीले गत वर्ष धनगढीमै आएर ‘प्रदेशको विकासको समस्या हुन्, ती मान्छे । अब त्यो समस्याको समाधान भएको छ । त्यसतालाई गाउँमै ठेगान लगाउनुपर्छ, माथि पुगेपछि दुःख दिन्छन्,’ भनेर रावललाई भनेको सम्झिन्छिन् । उनको विचारमा ओली पक्षले रावललाई ‘यता न उता’ को बनाइदिने जोखिम छ । आइतबार बालकाेटमा ओलीले बोलाएर लेखराज भट्ट नै सुदूरपश्चिमको इन्चार्ज हुने भनिसकेपछि रावलका लागि आगामी दिनमा चुनौति थपिएको उनी निकटकै कार्यकर्ताहरुको पनि बुझाई छ ।

तर रावल टसमस छैनन् । ‘मेरो कुनै चिन्ता नगर्नुस्,’ रावलले भनेको उद्धृत गर्दै उनको निर्वाचन क्षेत्रका एक निकटस्थले भने ।

प्रकाशित : भाद्र २८, २०७८ १८:११
प्रतिक्रिया
पठाउनुहोस्

मासिँदै बडिमालिकाको सौन्दर्य

बाजुरा, अछाम, डोटी, जुम्ला र कालीकोट प्रशासन कार्यालयबाट सरकारी पूजा टोली बडिमालिका पठाउने चलन अहिले पनि छ
अर्जुन शाह

धनगढी — बाजुराको बडिमालिका मेला आइतबार जनैपूर्णिमाका दिन नाटेश्वरीमा पूजा सकेर तीर्थालु एवं पर्यटकहरू गन्तव्यमा लागेका छन् । नेपालकै प्रमुख धार्मिक आस्थाको धरोहरसमेत मानिने बडिमालिका मेला भर्न आउनेको संख्या वर्षेनी बढ्दै गएको स्थानीय बताउँछन् ।

जनैपूर्णिमाको अघिल्लो दिन चतुर्दशीमा बडीमालिकामा मुख्य पूजाआजा हुने चलन छ । बडिमालिकामा औपचारिक पूजाआजा गर्नुपर्ने परम्पराअनुसार बाजुरा, अछाम, डोटी, जुम्ला र कालीकोट जिल्ला प्रशासन कार्यालयबाट सरकारी पूजा टोली बडिमालिका पठाउने चलन अहिले पनि कायम छ । यो वर्ष पनि ती जिल्लाबाट सरकारी पूजा टोलीले बडिमालिमामा पूजाअर्चना गरेको तीर्थालुहरूले बताए ।

कोरोना महामारीले भीडभाड हुने अवस्था जोखिमपूर्ण भए पनि बडिमालिका यात्रामा भने यो बर्ष देशका विभिन्न ठाउँबाट हजारौंका संख्यामा तीर्थालु तथा पर्यटक आएको मार्तडीका दीर्घराज पाध्यायले बताए । ‘बाहिर जिल्लाबाट करिब एक साताको यात्रा तय गरेर फर्किन लागेका सबैजसो खुसीले दंग देखिन्थे,’ पाध्यायले भने, ‘बडिमालिका पुग्नेहरूको संख्या करिब ५ हजारको हाराहारी थियो होला ।’

धनगढीबाट गएको कुबेर शाहीको समूहमा रहेकाहरूले बडिमालिकाको अवलोकन गर्न पाउँदा मन चंगा भएको बताए । ‘धेरै ठाउँ घुमफिर गरियो, तर बडीमालिका जत्तिको ठाउँ अन्यत्र देखेको थिएनौं,’ शाहीले भने, ‘त्यहाँ पुगेपछि प्राकृतिक सुन्दरता त छँदैछ, धार्मिक आस्थाले पनि मन अर्कै हुने रहेछ ।’ सिमसिमे झरी होस् या मुसलधारे पानी, त्यसैमा कठ्यांग्रिदो जाडो, केही प्रवाह हुँदैन त्यहा पुगेकाहरूलाई । धार्मिक आस्थाले प्रफुल्ल हृृदय, अर्कोतिर प्राकृतिक सौन्दर्यताले सबैको मन लोभ्याउँछ । ‘प्राकृतिक सुन्दरताको अवर्णनीय छ’, पहिलो पटक बडिमालिका पुगेका काठमाडौंका निर्मल ढकालले भने, ‘यति धेरै प्राकृतिक सुन्दरताले भरिपूर्ण धार्मिक तथा पर्यटकीय तीर्थस्थल सुदूरपश्चिममै रहेछ ।’ १४ हजार फीट उचाइमा रहेको बडिमालिकामा पुगेपछि त्यहाँ पुग्दाको दुःख सबै त्यसै हराउने तीर्थालुहरू बताउँछन् ।

बडिमालिकासम्म साइकल यात्रा

यसपाली त कैलालीका भरत शाह र काठमाडौंका विकास महर्जनले बडिमालिकामा पहिलो पटक साइकल पुर्‍याए । साइकल चढेर विश्व यात्राको ख्याती कमाएका उनीहरूले बडिमालिकाको प्रचारप्रसारमा सहयोग पुर्‍याउने उद्देश्यले साइकल लिएको बताए । ‘त्यति अग्लो ठाउँमा साइकल लिएर पुगेको देखेर अन्य तीर्थयात्रीहरूले अचम्म मान्दै हेरेका थिए,’ मार्तडीका बीरबहादुर थापाले भने ।

बडिमालिकामा रहेका २२ वटा समथर फाँट, बगैचामा झै फुलेका संगीचंगी फूल, त्रिवेणी, विष्णुपानी, खेतीबेती, लौरी विनायक, धर्मद्धार बडिमालिका क्षेत्रका मुख्य स्थल हुन । हिमपात हुने बेला त्रिवेणी पाटनमा हिउँचिप्लेटी (आइस स्केटिङ) को सम्भावना रहेको जानकारहरू बताउँछन् । यहाँ दुर्लभ बन्यजन्तु र सयौं प्रजातिका जडिबुटी यहाँ पाइने वन प्राविधिकहरू बताउँछन् ।

पछिल्लो समय छाडा चरिचरन, मनपरी जडिबुटी संकलन र गैरकानुनी चोरीसिकार बढ्दै गएकाले यहाँको जैविक विविधतामा मासिदैँ गएको छ । चैतदेखि भदौं महिनासम्म बडिमालिकाको त्रिवेणी क्षेत्रमा बाजुरा र कालीकोटका स्थानीयले भेडाच्याङ्ग्रा, घोडा खच्चड र भैंसीलगायतका बस्तुभाउ छाड्ने गरेका छन् । जडीबुटी पाउने सिजनमा संकलन गर्नेर्हरूको पनि उस्तै ताँती लाग्छ ।

लोपोन्मुख वन्यजन्तुको बासस्थान रहेको बडिमालिका क्षेत्रमा चोरी सिकार पनि मौलाउँदै गएको स्थानीयको भनाइ छ । ‘बडिमालिकाको सुन्दरतामा पहिला र अहिलेबीच कैयौं गुणा फरक परिसक्यो’, मार्तडीका रामबहादुर कार्कीले भने, ‘यस क्षेत्रको जैविक विविधता जोगाउने हो भने तत्काल संरक्षण योजना थाल्नु पर्छ ।’ बडिमालिकामा केही वर्ष पहिलेसम्म कुट्की, वन लसुन, सुगन्धवाल, पदमचाल, भुतकेस, वायोजडी, पाँचऔलेलगायत ४५ बढी प्रजातिका दुर्लभ तथा बहुमुल्य जडिबुटी प्रसस्तै भेटिन्थे । यस्तै, कस्तुरी, मृग, हिउँ चितुवा, हिमालयन थार, हिमाली भालु, बन कुकुर, नाउरलगायतका बन्यजन्तुको मुख्य बासस्थल पनि थियो बडिमालिका क्षेत्र । अतिक्रमण बढ्दै जाँदा अहिले जडीबुटी र बन्यजन्तु घट्दै गएको पुजारी नेत्रराज पाध्याय बताउँछन् ।

डिभिजन वन कार्यालयका अनुसार बडिमालिका क्षेत्र १४ हजार फिट उचाइमा करिब पाँच सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सरकारले ०६८/०६९ मा यो क्षेत्रलाई संरक्षित घोषणा गरेपनि उक्त घोषणा कार्यान्वयन भएन् । बडिमालिका क्षेत्रको दीर्घकालीन विकासका लागि पञ्चवर्षीय विकास गुरुयोजना निर्माण गरिए पनि काम भने हुन सकेको छैन । ०७३/०७४ देखि ०७७/०७८ सम्म निर्धारित पूर्वाधार निर्माण गरिसक्ने भनिए पनि हालसम्म काम सुरु भएको छैन । पुजारी नेत्रराज पाध्यायका अनुसार बडिमालिका क्षेत्रमा पूर्वाधार विकासका लागि ५ वर्षमा ३२ करोड ७० लाख लगानी खर्च गर्ने उल्लेख छ ।

प्रकाशित : भाद्र ७, २०७८ १२:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×