काठमाडौँ — इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीका रूपमा लैजाने एक हजार कामदार छनोट गर्न पहिलो चरणको भाषापरीक्षा आज (सोमबार) हुँदै छ । परीक्षामा ७ हजार ९ जना सहभागी हुनेछन् ।
वैदेशिक रोजगार विभागका अनुसार काठमाडौंस्थित ११ वटा परीक्षा केन्द्रमा अपराह्न १ बजे परीक्षा सुरु हुनेछ । यो परीक्षामा उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्तामा सहभागी गराइनेछ । परीक्षा वस्तुपरक प्रश्नमा केन्द्रित हुनेछ । प्रश्नपत्रको जाँच भने ‘अप्टिकल मार्क रिड’ प्रविधिमार्फत गरिनेछ ।
‘इजरायलको छनोट प्रक्रिया निष्पक्ष ढंगबाट गरिएको छ । यो परीक्षा उम्मेदवारको मात्र नभई नेपालको पनि हो । किनभने इजरायलले नेपाललाई पूर्ण भरोसा गरेको छ,’ विभागका निर्देशक डम्बरबहादुर सुनुवारले भने । पहिलो चरणमा ७ सय महिला र तीन सय पुरुष छनोट हुनेछन् । पहिलो चरण सफल भए इजरायलले थप २५ सय जना लैजाने विभागले जनाएको छ ।
परीक्षाका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका व्यक्तिबाट आवेदन माग गरिएको थियो । कमाइ र कार्यस्थलको हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो । इजरायल जाने कामदारको न्यूनतम तलब १६ सय डलर (झन्डै १ लाख ९० हजार रुपैयाँ) छ । लागत शुल्क भने १ लाख ६५ हजार रुपैयाँ लाग्नेछ । छानिएका कामदारले ५ वर्षसम्म काम गर्न पाउनेछन् ।
प्रकाशित : भाद्र २८, २०७८ १२:३९