२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
टिप्पणी

कांग्रेसमा ‘भर्टिकल लिडरसीप’ परिवर्तनको चिन्ता

देउवा–पौडेल र विश्वप्रकाश–गगनबीचको दुई पुस्ता यतिबेला राजनीतिको ‘डेन्जर जोन’मा छ । किनकी, विश्वप्रकाश र गगन जसले महामन्त्री जिते पनि कांग्रेसमा ‘भर्टिकल्ली लिडरसीप’ परिवर्तन हनपुग्छ । र, अर्को महाधिवेशनमा यो पुस्तालाई कसैले चुनौती दिन सक्ने छैन । त्यसैले कांग्रेसमा सिद्धान्तको विवाद होइन, ‘भर्टिकल्ली लिडरसीप’ परिवर्तन हुन्छ कि भन्ने चिन्ता देखिन्छ ।
ध्रुव सिम्खडा

काठमाडौँ — यतिबेला मुलुकको पुरानो अग्रणी राजनीतिक दल नेपाली कांग्रेसका नेता/कार्यकर्ता १४ औँ महाधिवेशनमा जुटिरहेका छन् । ७७ मध्ये २० जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । क्रियाशील सदस्यताको विवाद बल्झेपछि ती जिल्लामा वडा अधिवेशन प्रभावित भएका छन् । पूर्वनिर्धारित गाउँ/नगरदेखि केन्द्रसम्मका अधिवेशन कार्यतालिका पुनः परिवर्तन गरिएका छन् ।

कांग्रेसमा ‘भर्टिकल लिडरसीप’ परिवर्तनको चिन्ता

अधिवेशनमा युवादेखि वृद्धसम्म चुनिएका छन् । युवा, वयस्क र वृद्धका परिभाषा के हुन् ? यसबारे यकिन छैन । ४०/ ५० वर्ष उमेर कटेका युवा हुन् कि होइनन् ? युवा त २५ वर्षमुनिकालाई नै भन्नुपर्ने हो । यस समूहकालाई युवा मान्ने हो भने अधिवेशनमा चुनिने यो समूहको प्रतिशत हल्ला पिटेजस्तो ठूलो नहोला । प्रतिकात्मक मात्र हुनसक्छ ।

अधिवेशनमा पुस्ताको प्रसंग आउँदा वर्ग र लिंगको पनि कुरा आउँछ । समावेशीताको चर्चा भइरहेकै छ । पार्टी विधानमा नै समावेशीताको संख्या किटानी गरिएकाले अब त्यसलाई कसैले हटाउन सक्ने छैनन् । तर महाधिवेशनमा वर्गका कुरा भने निकै गौण सुनिएको छ ।

के अब एउटा सामान्य परिवारमा जन्मनेले कांग्रेसको सानेपा कार्यालयसम्म पुग्न सक्ला ? कि सुकिला–मुकिला, भुइँफुट्टाहरूको मात्र सानेपामा रजगज चल्ला ? अहिलेको परिवेश हेर्दा कांग्रेस पहुँच र विरासतवालाहरूका लागि मात्र हुनेछ । किनकी, पैसा र पहुँचबिना अब राजनीति नगरे हुने भइसक्यो ।

अहिले कांग्रेसमा नेतृत्वका लागि खासगरी चार पुस्ताबीच घम्साघम्सी छ । २०४६ सालयता शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरूले पनि सात सालको पुस्ताबाट सहज नेतृत्व हस्तान्तरणको अपेक्षा गरेका थिए । तर त्यो सम्भव भएन ।

नेतृत्वमा पुग्ने पालो कुर्दाकुर्दै उनीहरूको पनि उमेरले नेटो काट्यो । बल्लबल्ल उनीहरू नेतृत्वमा त पुगे तर पछिल्ला पुस्ताले फेरि हामीलाई पदासीन हुन हतार भयो, छोडीदेऊ भन्न थाले । अहिले त एउटा पुस्तालाई होइन तीन/चारवटा पुस्तालाई पदमा पुग्न हतार भइसकेको छ ।

२०४६ सालपछि जन्मेकाहरू त कांग्रेस राजनीतिको छेउकुनामा पनि छैनन् । ती पनि ३० वर्ष कटिसके ।

करिब एक दशकअघिदेखि कांग्रेस नेतृत्वमा सातसालको पुस्ताले विश्राम लिन पुगेसँगै परिदृश्यमा देखिएको देउवा–रामचन्द्रको पुस्ता योपटक पनि सभापतिमा रस्साकस्सी गर्दैछन् ।

देउवा–रामचन्द्र पुस्ता : ७५ कटेको यो पुस्ता २०४६ सालयता सत्ताकै वरिपरि छ । मन्त्रीदेखि प्रधानमन्त्री, उपप्रधानमन्त्री र केन्द्रीय सदस्यदेखि सभापतिसम्म हुनेक्रम रोकिएको छैन । शेरबहादुर देउवा अहिले पार्टी सभापति र प्रधानमन्त्री दुवै पदमा छन् ।

रामचन्द्र पौडेल अघिल्लो महाधिवेशनमा देउवासित पराजित भएर पनि पार्टीमा ‘वरिष्ठ’ नेताको पद सिर्जना गरेर भागबन्डा खोजिरहेका छन् । राजा महेन्द्रले संसदीय व्यवस्था भंग गरी निर्दलीय पञ्चायती व्यवस्था लागु गरेपछि त्यसको विरोध गर्दै लोकतान्त्रिक आन्दोलनमा होमिएको यो पुस्ता अझै पनि नेतृत्वमा आफैं रहन चाहन्छ । पञ्चायतकालमा दुःख गरेको राजनीतिक ब्याजको हिसाबकिताब खोजिरहेको छ ।

देउवा–पौडेल जो भए पनि पार्टी सभापति आफूहरूबाट फुत्कियो भने त्यो सदाको लागि गुम्ने र पुस्तान्तर हुने खतरा यिनले देखेका छन् । देउवाले सभापति जित्दा पनि पौडेल ‘वरिष्ठ’ नेताको पगरी गुथेर पार्टीमा बस्न पाउने र कथंकदाचित् पौडेल पार्टी सभापति भइहाले भने पनि देउवालाई अहिले पौडेलले पाइरहेको ‘वरिष्ठ’को पद्‌वी स्वतः प्राप्त हुने र राजनीतिको शीर्षस्थानमै रहन पाउने यिनको भित्री चाहना प्रकट नभए पनि बुझ्न कठिन पर्दैन ।

विमलेन्द्र–बलबहादुर पुस्ता : २०३६ सालको यो पुस्ताका धेरै नेता छन् । ६० देखि ७० वर्षबीचको यो पुस्ताका केही नेता महामन्त्री, उपसभापति, सह-महामन्त्रीलगायत पदाधिकारी बनिसकेका छन् । अब यसपटक पनि सभापति बन्न नसक्ने हो भने यस पुस्ताका नेताहरूलाई उमेरले पनि साथ दिने छैन ।

अहिले यस पुस्ताका नेताहरू राजनीतिक मैदानबाट बाहिरिनु पो पर्ने हो कि भन्ने मनोविज्ञानबाट भयभित देखिन्छन् । यतिबेलासम्मको आफ्नो राजनीतिक लगानी अन्तिममा आएर डुब्ने पो हो कि भन्ने चिन्ता यिनलाई छ ।

प्रकाशमान सिंह, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्का, शशांक कोइरालालगायत यस पुस्ताका धेरै नेताहरू यसपटक कसरी सभापति वा पदाधिकारी बन्ने र त्यसपछिको राजनीतिक यात्रा सुरक्षित गर्ने भनी चिन्तित छन् । साँच्चै, यो पुस्तालाई राजनीतिमा अडिने कि कुना लाग्ने भन्ने चुनौतीको महाधिवेशन हो–१४ औँ महाधिवेशन । त्यसैले यो पुस्ता कांग्रेस राजनीतिको ‘डेन्जर जोन’मा पुगेको छ ।

खाँण–भुसाल–एनपी पुस्ता : २०४६ सालको जनआन्दोलनको अग्रणी मोर्चामा होमिएको ‘डेन्जर जोन’मा पुगेको अर्को पुस्ता हो यो । आफूअघिल्तिर सक्रिय दुई पुस्ताबाट पद खोस्न यिनलाई कम्ता पापड पेल्नु पर्दैन । आफूपछिल्तिरको पुस्ता त्यतिकै सक्रियसाथ राजनीतिक मैदानमा प्रकट भइसकेको छ ।

आफूहरू पदाधिकारीमा निर्वाचित हुन नसक्ने र आफूभन्दा पछिल्लो र चर्चित पुस्ता निर्वाचित हुने अवस्था आयो भने आफ्नो राजनीति धरासयी हुने आकलन यो पुस्ताले गर्ने नै भयो । चन्द्र भण्डारी, रमेश लेखक, ध्रुव वाग्ले, पुष्पा भुसाल, डिला सङ्ग्रौला, गुरूराज घिमिरे, धनराज गुरूङलगायतले यो पुस्ताको प्रतिनिधित्व गर्छन् । चुनावी प्रतिस्पर्धा र गुटीय तालमेलले यो पुस्ताका क-कसलाई आगामी पार्टी राजनीति गर्न सहज हुने हो त्यो अबको करिब साढे दुई महिनापछि थाहा हुनेछ ।

विश्वप्रकाश–गगन पुस्ता : २०६२/६३ सालको दोस्रो जनआन्दोलनसँगै चम्केको पुस्ता हो यो । ४० देखि ५० वर्षका यो कांग्रेसको घोषित कान्छो पुस्ता हो । ४० मुन्तिरकाहरू समूहगत कांग्रेस छन् कि छैनन् त्यो न जिल्ला नेतृत्वलाई थाहा छ, न केन्द्रीय नेतृत्वलाई ।

जे होस् ‘डिजिटल डिमोक्रेसी’को युगमा यिनीहरू कांग्रेसका ‘टेलिजेनिक’ चेहेरा हुन् । यिनीहरू आफूलाई गणतान्त्रिक नेपालको नेतृत्वमा स्थापित गराउन आतुर छन् । कल्याण गुरूङ, प्रदीप पौडेल, नैनसिंह महर, जीतजङ्ग बस्नेतलगायत यस पुस्ताका चर्चित अनुहारहरू हुन् ।

यो पुस्ता पनि पचास वरिपरि पुगिसकेको छ । यसपछिको पुस्ता त राजनीतिक मैदानमा दृश्य मै छैन । मैदान प्रवेशै नपाएको यो पुस्ताचाहिँ वास्तवमै अन्यायमा परेको पुस्ता हो । जगेडामा बसेर कुर्दाकुर्दै यिनीहरूको खेल्ने समय नै नआउन सक्छ ।

अहिले पार्टी नेतृत्व लिन छटपटाइरहेका माथि उल्लेखित चार तह अर्थात् पुस्तामध्ये बीचको दुई पुस्ता ( विमलेन्द्र–बलबहादुर पुस्ता र खाँण–एनपी पुस्ता) तालमेल मिलेन भने यसपालि ‘भर्टिकल्ली स्लिप’को जोखिममा छ ।

त्यसैले यिनीहरूलाई कि सभापति, उपसभापति, महामन्त्री उठेर जित्नुपर्छ कि त केन्द्रीय सदस्य बनेर राजनीतिको छेउमा बसेर हेर्नु सिवाय अर्को विकल्प छैन ।

यसपटक विश्वप्रकाश र गगनहरू महामन्त्रीमा पुगे भने देउवा–पौडेलबाट अर्को पटक यिनैले सभापति हात पार्ने सम्भावना बढेर जान्छ ।

माथि उल्लेखित नेताहरू सबैले लोकतान्त्रिक आन्दोलनका क्रममा आ–आफ्नो ठाउँबाट योगदान दिएका छन् । जेल–नेल र हण्डर खाएकै हुन् । यसलाई कसैले नकार्न सक्दैन र नकार्नु पनि हुँदैन । यो सम्मान र आदरका उनीहरू भागीदार छन् । तर समय र राजनीतिले भने सधैं उही र उस्तै बाटो हिँड्दैन । कहिलेकाहीँ निर्मम पनि भइदिन्छ ।

माथि उल्लेखित नामहरू लोकतान्त्रिक इतिहासमा जबर्जस्त नामहरू हुन् । तर के गर्नु कहिलेकाहीँ इतिहासले पनि जबर्जस्त बाटो लिन्छ । योगदान गरेकाहरूलाई समय र इतिहासले दोसल्ला ओढाएर सम्मान चाहिँ गर्छ तर कहिलेकाहीँ जिम्मेवारीबाट भने बाहिरै बस्नुपर्ने माहोल सिर्जना गरिदिन्छ ।

पुस्ता परिवर्तनको लामो श‌‌ृंखलासँगै यतिबेला कांग्रेसमा नेतृत्व परिवर्तनको उछलकूद देखिएको छ । क्रमिक र सहजरूपमा एकपछि अर्को पुस्तामा राजनीति सर्ने परम्परा धर्मराउन लागेका सङ्केतहरू देखिन थालेका छन् ।

इतिहास सधैं क्रमिकरूपमा सिलसिला मिलाएर मात्र हिँड्दैन, फड्कै मारेर पनि कुदिदिन्छ । पार्टीमा पुस्तान्तर हस्तान्तरणको चरणमा छ । पुरानो रिले दौड बन्द हुनसक्छ । रिले दौडमा मस्त राजनीति गरिरहेकाहरूलाई ‘म्याराथन’ धावकहरूको प्रवेशले मैदानमा पछाडि पारिदिने सम्भावना बढेको छ ।

देउवा–पौडेल र विश्वप्रकाश–गगन पुस्ताबीचको दुई पुस्ता यतिबेला राजनीतिको ‘डेन्जर जोन’मा छ । किनकि, विश्वप्रकाश र गगनले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यी दुईमध्ये जसले जिते पनि कांग्रेसमा ‘भर्टिकल्ली लिडरसीप’ परिवर्तन हनपुग्छ । र, अर्को महाधिवेशनमा यो पुस्तालाई कसैले चुनौती दिन सक्ने छैन ।

अघिल्ला दुई पुस्ता थाकिसकेको अनुभव गरिसकेका हुनेछन् भने उनीहरू पछिको पुस्ताले अहिलेसम्म आकारै ग्रहण गरेको छैन । त्यसैले कांग्रेसमा सिद्धान्तको विवाद होइन, ‘भर्टिकल्ली लिडरसीप’ परिवर्तन हुन्छ कि भन्ने चिन्ता देखिन्छ ।

प्रकाशित : भाद्र २८, २०७८ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?