१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

निर्वाचन आयोगले दल विभाजनबारे वाग्मती प्रदेशसभालाई जानकारी गरायो

काठमाडौँ — निर्वाचन आयोगले दल विभाजनबारे वाग्मती प्रदेशसभालाई जानकारी गराएको छ । आयोगको पत्र प्रदेशसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्रप्रसाद पाण्डे लगायतको टोलीले आइतबार प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो ।

निर्वाचन आयोगले दल विभाजनबारे वाग्मती प्रदेशसभालाई जानकारी गरायो

आयोगले उक्त पत्रमार्फत नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित भएका १३ जना प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेको जानकारी प्रदेशसभा सचिवालयलाई गराएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) र राजनीतिक दलसम्बन्धी नियामवली, २०७४ (दोस्रो संशोधन अध्यादेश, २०७८) को नियम ५ अनुसार एमालेबाट विभाजन भई नेकपा (एकीकृत समाजवादी) बनेको जानकारी गराइएको छ । निर्वाचन आयोगले एकीकृत समाजवादी रोजेका प्रदेशसभा सदस्यहरुले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) को दफा ३३(२क) बमोजिम दल त्याग गरेको नमानिने अवगत गराएको छ ।

प्रदेशसभामा नयाँ दल सूचीकृत भएसँगै वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या सात पुगेको छ । सभामा विभाजनपछि पनि ४३ सदस्यसहित नेकपा एमाले सबैभन्दा ठूलो दल छ भने नेकपा माओवादी केन्द्र २३ सदस्यसहित दोस्रो त्यस्तै २२ सदस्यसहित नेपाली कांग्रेस तेस्रो दलका रूपमा रहेको छ । नयाँ दल नेकपा (एकीकृत समाजवादी) १३ सदस्यसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमध्ये चौथो दल बन्न पुगेको छ ।

तीन सदस्य संख्यासहित प्रदेशसभामा यसअघि चौथो ठूलो दलका रुपमा रहेको विवेकशील साझा पाँचौंमा पुगेको छ । प्रदेशसभामा नेपाल मजदुर किसान पार्टी र राप्रपाको दुई/दुई जना सदस्य रहेका छन् भने स्वतन्त्रतर्फ एक सदस्य छन् ।

प्रकाशित : भाद्र २७, २०७८ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?