'गोन्जालो'को नेपाल साइनो - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'गोन्जालो'को नेपाल साइनो 

मणि दाहाल

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको अन्तर्राष्ट्रिय विभागले शनिबार माओवादी धारका नेताहरू जम्मा पारेर राजधानीमा एउटा कार्यक्रम गर्‍यो । कार्यक्रम थियो– 'गोन्जालो'को रिहाईबारे । हरेक वर्ष सेप्टेम्बर १२ को छेको पारेर विशेषगरी कम्युनिष्ट घटकहरूले यस्तै कार्यक्रम गर्छन् । जसको उद्देश्य २९ वर्षअघि पक्राउ परेका पेरुका कम्युनिष्ट नेता गोन्जालोप्रतिको ऐक्यबद्धता हो ।

शनिबार पनि कम्युनिष्ट घटकका नेताहरूले दिउँसो गोन्जालोको रिहाइको माग गरेका थिए । तर शनिबारको संयोग अलिक फरक पर्‍यो । जसको रिहाई माग गरिएको थियो, तीनै व्यक्ति गोन्जालोको हिरासतमै निधन भएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आयो ।

गोन्जालोका निधनको खबरले नेपालका कम्युनिष्ट नेताहरूलाई पनि भावनात्मक रुपमा छोएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार बिहान गोन्जालोको प्रति दु:ख व्यक्त गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘पेरु कम्युनिस्ट पार्टीका नेता कमरेड गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेलको तत्कालका लागि अन्त्य भएको छ । वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतिक बनेका कमरेड गोन्जालोप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु ।’

त्यसैगरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि दुः ख व्यक्त गरेका छन् । उनले नेपालको माओवादी आन्दोलनको थालनी र विकासमा गोन्जालोको योगदान रहेको उल्लेख गरेका छन् । ‘पेरूका क्रान्तिकारी नेता अबिमाइल गुज्मन ‘गोन्जालो’को निधनको खबरले अत्यन्त दुखित छु । नेपालको माओवादी आन्दोलनको थालनी र विकासमा वाहकको विचारले ठूलो प्रेरणादायी भूमिका खेलेको थियो । उहाँको गिरफ्तारीपछि पेरूको आन्दोलनले धक्का खाएको अनुभवबाट पनि हामीले सिकेका थियौं; हार्दिक श्रद्धान्जली’ भट्टराईले ट्विटरमा लेखेका छन् ।

विशेषगरी नेपालमा माओवादी धारको पार्टी र नेताहरूका लागि गोन्जालोको विशेष साइनो छ । उनले सुरु गरेको सशस्त्र विद्रोहको मोडललाई नेपालका माओवादीहरूले पनि आफ्नो आन्दोलनको एउटा आदर्श मोडल मान्छन् ।

पेरुमा माओवादी सशस्त्रको नेतृत्व गर्ने अभिमाइल गुज्मन जो गोन्जालो उपनामले चिनिन्छन् । गोन्जालोको नामले चिनिने दर्शनशास्त्रका पूर्वप्राध्यापक गुज्मन विगत २९ वर्षदेखि जेल जीवन बिताउँदै आएका थिए । उनलाई आजीवन कारावास भएको थियो । गोन्जालोको नेतृत्वमा १९८० को दशकमा पेरुमा सशस्त्र माओवादी विद्रोह सुरु भएको थियो । करिब १० हजार सशस्त्र लडाकुको सहयोगमा विद्रोह उत्कर्षमा पुगेको समयमा उनले देशको ८० प्रतिशत भूभाग कब्जा गरेका थिए ।

नेपालभन्दा हवाइ दूरीमै करिब १७ हजार किलोमिटर टाढा रहेको दक्षिणी गोलार्द्धको त्यो ल्याटिन अमेरिकी मुलुकमा त्यही गोन्जालोको कारण धेरै नेपाली जोडिन पुगेका थिए । २०५२ सालमा नेकपा माओवादीले सशस्त्र विद्रोह सुरु गर्दा गोन्जालो र उनले अघि बढाएको 'साइनिङ पाथ'लाई प्रेरणाको स्रोतको रुपमा लिइन्थ्यो । नेपालमा माओवादीहरुले साइनिङ पाथको सफलताबारेमा गीत रचेका थिए ।

‘संसारभर सशस्त्र विद्रोहबाट सत्ताकब्जा गर्ने विषयमा कमजोर हुँदै गएको समयमा उनले माओ र चे ग्वेभरा दुवैको विद्रोहलाई संयोजन गरेर विद्रोह गरेका थिए । उनले अलि बढी नै हिंसाको साहारा लिए । बम पड्काउनेदेखि व्यक्ति हत्या समेत गरे’ राजनीतिक विश्लेषक झलक सुवेदीले भने, ‘सन् १९७९ मा साण्डानिस्टाहरुले निकारागुवामा कब्जा गरेपछि सांसदभरबाट माओवादी आन्दोलन एक प्रकारले कमजोर हुँदै गएको थियो ।’

गोन्जालोको नेतृत्वमा पेरुमा सशस्त्र विद्रोह उत्कर्षतर्फ जाँदै गर्दा विश्वका अन्य देशमा भने परिवर्तन हुन सुरु गरिसकेको थियो । कम्युनिष्ट शासन रहेका प्रमुख देशहरू तत्कालीन सोभियत संघ र चीनमा ठूलो परिवर्तन आइसकेको । चीनले आर्थिक उदारीकरणको बाटो लिएको थियो भने रुसमा मिखाइल गोर्वाचोभको नेतृत्वमा पेरेस्त्रोइका (सुधार) र ग्लात्स्नोस्क (खुलापन) नीति अघि बढीको थियो ।

‘मार्क्सवादी लेनिनवादी (माले)पनि सुधारवादी अवस्था गएका थिए उनीहरु पनि केही गर्न नसक्ने अवस्थामा पुगेका थिए । त्यसमा विनोद मिश्राले नेतृत्वमा गर्ने भाकपा मालेदेखि नेकपा (माले)सम्म रहेका थिए’, सुवेदीले भने,‘त्यस समयमा माओवादी क्रान्तिको विषयमा अस्पष्ट थालेको र विस्तारै सुधारवाद हुँदै संसद्त‌र्फ जान खोजेका थिए ।’

साइनिङ पाथको विद्रोहको समयमा करिब ७० हजार जनाको मृत्यु भएको थियो । तर सन् १९९२ गोन्जालो राजधानी लिमाबाट पक्राउ परेपछि विद्रोह धरासायी बन्न पुगेको थियो । सैनिक अदालतमा गोन्जालोलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । त्रासको कारण उनको मुद्दा हेर्ने न्यायाधीशको नाम छोप्ने गरिएको थियो ।

माओवादी केन्द्रका नेता राम कार्की गोन्जालोको गिरफ्तारीको अघिदेखि नै सशस्त्र विद्रोह ओरालो लाग्न जान थालेको र गिरफ्तारीपछि धरासायी भएको बताउँछन् ।

‘यो वीरतापूर्ण विद्रोह थियो । तर नेपालमा गोन्जालोको चर्चा हुन लाग्दा त्यो ओरालो लागिसकेको थियो । त्यो आदिवासीमा आधारित विद्रोह थियो । त्यसमा ‘इन्का जाति’ केन्द्रमा थिए’ कार्कीले भने, ‘त्यो आफ्नो प्रशंसा आफै गर्ने आत्माश्लाघाको सिकार बनिसकेको थियो । त्यो सामूहिक नेतृत्वभन्दा पनि एक व्यक्तिमा थोपरिएको थियो । एक व्यक्ति खत्तम हुँदा सबै सकियो ।’ नेपालमा त्यो विद्रोहको बारेमा ठीकठाकको मात्रै जानकारी रहेकाको अवस्थामा आत्माश्लाघाको माओवादी सशस्त्र विद्रोहमा अनुकरण भएको कार्की बताउँछन् ।

माओका प्रशंसक गोन्जालोले चीनको भ्रमणबाट फर्केपछि विश्वविद्यालयका वैचारिक रुपमा एकै प्रकारको धारणा राख्ने प्राज्ञहरुलाई संगठित गरेर सन् १९६९ मा साइनिङ पाथ नामको माओवादी कम्युनिष्ट पार्टी गठन गरेका थिए । ‘माओवादीका प्रशंसक थिए र सुधारवादी चीनको विरोधमा रहेका थिए’, कार्कीले भने । गोन्जालो सन् १९३४ धनी बाबुका बिहेइतर सम्बन्धबाट जन्मेका सन्तान थिए । सन् १९६२ मा विश्वविद्यालयका दर्शनशास्त्रको प्राध्यापक बनेका थिए ।

प्रकाशित : भाद्र २७, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्

भारतलाई पठाइएको ‘कूटनीतिक नोट’ खासखुसको विषय हो ? 

परराष्ट्र मन्त्रालयले ३ दिन बितिसक्दा पनि औपचारिक जानकारी दिएको छैन
मणि दाहाल

काठमाडौँ — दार्चुला तुइन घटना र नेपाली आकाशमा अनधिकृत भारतीय हेलिकोप्टरको उडानका विषयले अहिले सरकारविरुद्ध सडक तातिएको छ । राजधानीका धेरै स्थानमा हरेकदिन यी घटनालक्षित प्रदर्शन र विरोध भइरहेका छन् । सामाजिक सञ्जालदेखि नागरिक तहसम्म यो विषयमा सरकारले राखेको मौनतामाथि प्रश्न उठेका छन् ।

सर्वत्र आलोचना र दबाबपछि सरकारले गत शुक्रबार र आइतबार क्रमशः तुइन घटना र हेलिकोप्टर प्रकरणबारे भारत सरकारलाई कूटनीतिक पत्र पठाएको छ । तर, पत्र पठाएको तीन दिन भइसक्दा पनि सरकारी अधिकारीहरू मौन छन् ।

सञ्चारमाध्यमहरूले आफ्नो स्रोत प्रयोग गर्दै कूटनीतिक नोटबारे समाचार प्रकाशित/प्रसारित गरेका छन् । यस्तै पत्रबारे हालसम्म परराष्ट्र मन्त्रालय मौन छ । हाल प्रधानमन्त्री शेरबहादुर देउवाले नै मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । यो विषयमा प्रधानमन्त्री कार्यालय पनि बोलेको छैन । मन्त्रीहरु पनि अनौपचारिक कुरा मात्र गर्छन्, यस विषयमा मुख खोल्न चाहँदैनन् ।

सडकमा प्रर्दशन बढ्दैछ, नागरिक जिज्ञासा चुलिँदो छ । तर, सरकारले एउटा विज्ञप्तिसमेत जारी गरेर औपचारिकता पूरा गरेको छैन । यसलाई कूटनीतिक जानकारहरू समेतले आश्चर्य प्रकट गरेका छन् । कूटनीतिक सम्बन्ध, पत्राचारहरूलाई कति पारदर्शी बनाउने भन्ने राज्यको सीमा हुन सक्छन् । तर जनमतको बलमा बन्ने लोकतान्त्रिक सरकारले नागरिकबाट उठेका जिज्ञासालाई सम्बोधन गर्ने औपचारिकता पूरा गर्नुपर्ने हुन्छ । तर, यो मामिलामा कसैले औपचारिकता पूरा गर्ने जमर्को देखाएका छैनन् ।

परराष्ट्र मन्त्रालयका पूर्वसचिव मधुरमण आचार्यले पत्र जस्ताको त्यस्तै सार्वजनिक गर्नु राम्रो नहुने भएपनि विज्ञप्ति जारी गरेको जानकारी गराउनु पर्ने बताए । ‘लेखेको पत्रको सबै कुरा बाहिर सार्वजनिक गर्नु हुँदैन । तर के के विषय बस्तुलाई उठाएका छौं भनेर जानकारी सबैले पाउनु पर्छ । यस विषयमा मन्त्रालयले प्रेस रिलिज नै गर्नुपर्ने हो’ आचार्यले इकान्तिपुरसँग भने, ‘दार्चुलाको विषय जनचासो र राष्ट्रिय मुद्दा बनिसकेको छ । खासखुसको विषय होइन ।’

सरकारले दार्चुला घटनाको विषयमा भारतसँग विरोध गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । प्रमुख प्रतिपक्षी दलले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउँदै आएको छ ।

वैदेशिक मामिलाका जानकार एमाले सांसद दीपकप्रकाश भट्टले कूटनीतिक नोट पठाउने विषय गोप्य नभएकाले जनतालाई सूचित गराउने जिम्मेवारी सरकारको भएको बताए ।

‘यो कोभर्ट होइन ओपन कुरा हो । पत्र पठाएको विषय गोप्य राख्नुपर्ने विषय होइन,’ भट्टले भने, ‘एक त सरकारले यो विषयमा ढिलो कदम चालेको छ । नियमित पत्रकार सम्मेलन वा विज्ञप्तिमार्फत के-के विषयहरु रहेका छन् सार्वजनिक गरिनुपर्छ ।’ भट्टले प्रजातान्त्रिक मुलुकमा अन्य देशको सम्बन्धको बारेमा जनताले सूचित हुने अधिकार हुने भन्दै सरकारले औपचारिक रुपमा जानकारी गराउनुपर्ने बताए । ‘जनताले मेरो सरकार के गर्दैछ भनेर आश्वस्त हुने विषय हो नि । प्रजातन्त्रमा यो भ्यालु झनै बढी हुन्छ,’ भट्टले भने ।

पूर्वसचिव आचार्यले यसअघि सीमा विवादको विषयमा भारतलाई कूटनीतिक नोट पठाउँदा परराष्ट्र मन्त्रालयले ट्वीट गर्दै औपचारिक जानकारी दिएको उदाहरण दिए । २०७७ वैशाख २९ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई परराष्ट्र मन्त्रालय बोलाएर कूटनीतिक नोट बुझाएका थिए । भारतले अतिक्रमित नेपाली भूभाग हुँदै कालापानी क्षेत्रमा सडक निर्माण गरेपछि नेपालले विरोध गर्दै कूटनीतिक नोट पठाएको थियो ।

गत साउन १५ गते वैदेशिक रोजगारीका लागि हिँडेका दार्चुला ब्यास गाउँपालिकाका जयसिंह धामीले तर्दै गरेको तुइन भारतीय सुरक्षाकर्मीहरु खुस्काईदिएपछि उनी महाकाली नदीमा खसेर बेपत्ता भएका छन् । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले पनि भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संलग्नता रहेको प्रतिवेदन दिएको थियो । त्यस लगत्तै गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई भारतीय पक्षसँग पत्रचार गर्न आग्रह गरेको थियो । त्यसैगरी नेपालको दार्चुला जिल्लामा भारतीय हेलिकोप्टरहरु अनधिकृत रुपमा उडान गरेको विषयमा कान्तिपुरमा समाचार आएपछि त्यस विषयमा पनि सरकारले विरोध जनाएको छ ।

प्रकाशित : भाद्र २२, २०७८ १५:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×