कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कैदीबन्दीमाथि आर्थिक शोषण गर्ने नख्खु कारागारका ७ नाइकेको सरुवा

मातृका दाहाल

काठमाडौँ — कारागार व्यवस्थापन विभागले नख्खु कारागारका ७ कैदीलाई चौकीदार/नाइकेको जिम्मेवारीबाट हटाएर अन्यत्रै सरुवा गरेको छ । कैदी/बन्दीको रासनलगायत सेवासुविधामा आर्थिक अनियमितता एवं शोषण गरेको आरोप लागेका ५ नाइके र २ सहनाइकेलाई जिम्मेबाट मुक्त गरी चितवन, भीमफेदी, पर्सा र नवलपरासी कारागार सरुवा गरिएका हो ।

कैदीबन्दीमाथि आर्थिक शोषण गर्ने नख्खु कारागारका ७ नाइकेको सरुवा

सरकारले दिने मासिक रासन/भत्ता, टेलिफोन सेवालगायतमा अनियमितता गरेको, अनियमितता नगर्न माग गर्दा बारम्बार दुर्व्यवहार हुने गरेको लगायत आरोपमा नख्खु कारागारस्थित सीआरसी ब्लकका कैदीबन्दीहरुले चौकीदार/नाइके, सहनाइकेविरुद्ध भदौ २० मा प्रदर्शन र नाराबाजी गरेका थिए । त्यसक्रममा प्रदर्शनकारीहरुले ८ जना नाइके/चौकीदारलाई अन्यत्र सरुवा र अनियमिततामाथि छानबिन गर्न माग गर्दै जेलर चिरञ्जीवी गिरीसमक्ष निवेदन दिएका थिए ।

त्यसको भोलिपल्टै विभागका निर्देशक रामचन्द्र तिवारीको संयोजकत्वमा कैदीबन्दीको प्रदर्शन र अनियमितताबारे छानबिन गर्न नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत स्तरका कर्मचारी सम्मिलित ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । प्रदर्शन र नाराबाजीमा उत्रिएका कैदीबन्दीहरुले अनियमितता गर्ने चौकीदार/नाइके र सहनाइकेलाई हटाएर कारागार स्थानान्तरण गर्न माग गरेका थिए । त्यसपछि विभागले नाइके शिव चौधरी र सहनाइके देवेन्द्र तिमल्सिनालाई कारागार कार्यालय चितवन सरुवा गरेको छ । चौधरी र तिमल्सिना व्यक्ति हत्या अभियोगमा सजाय भुक्तानरत छन् ।

त्यस्तै व्यक्ति हत्या र लागूऔषध मुद्दाका कैदीद्वय दिपक कार्की र रिकेश अधिकारीलार्य नवलपरासी कारागारमा पठाइएको छ । मानव तस्करी अभियोगमा कैद भुक्तानरत मनिष भनिने सविन केसीलाई पर्सा र ठगी मुद्दाका शम्भु कार्कीलाई भिमफेदी कारागार सरुवा गरिएको हो । नख्खु कारागारका मूख्य नाइके विशाल विष्टलाई सरुवा गरिएको छैन ।

छानबिन समिति संयोजकसमेत रहेका विभागका निर्देशक तिवारीले नख्खु घटनाको छानबिन प्रतिवेदन छिट्टै तयार पारिने बताए । उनका अनुसारसमितिले केही दिनअघि मात्रै कारागार पुगी घटनाको स्थलगत निरीक्षण र जानकारी लिइसकेको छ ।

चौकीदार/नाइके र सहनाइके पद कारागारको आन्तरिक प्रशासन सञ्चालन, आर्थिक व्यवस्थापन, कैदीका चालचलन/अनुशासन हेर्ने आन्तरिक संयन्त्र हो । यसलाई जेलभित्रको प्रशासनका रुपमा पनि लिइन्छ । तर, चौकीदार/नाइकेले जेलको सरकारी प्रशासनसँग मिलेर कैदीबन्दीमाथि आर्थिक शोषण गरेका थुप्रै गुनासा आउँछन् । तर, त्यसको समाधानमा दीर्घकालीन कार्ययोजना नबनाउदा पटक–पटक कारागारभित्र प्रदर्शन, नाराबाजी र हुलदंगा हुने गर्छ । कतिसम्म भने जेलर र पहुँचवाला कैदीको मिलेमतोमा कानुन विपरीत चौकीदार/नाइके छनोट हुने गरेको देखिन्छ । यसमा समेत विभागले सुधार गर्न सकेको छैन । लागूऔषध, मानव तस्करी, वलात्कार, राज्यविरुद्धको अपराध, खोटाचलन लगायत नेगेटिभ सूचीमा रहेका कैदीलाई आन्तरिक प्रशासनको जिम्मा दिन नपाइने व्यवस्था भएपनि त्यसलाई बेवास्ता गरिँदै आइएको छ ।

प्रकाशित : भाद्र २७, २०७८ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?