संखुवासभा घटना : व्यक्तिगत कुण्ठाका कारण सामूहिक हत्या

इकान्तिपुर डेस्क

काठमाडौँ — मादी नगरपालिका-१ उम्लिङखोला गाउँका तेजबहादुर कार्कीसहित ६ जनाको हत्या आरोपमा प्रहरीले उनका भतिजा लोकबहादुरलाई पक्राउ गरेको छ। २५ वर्षीय लोकबहादुरले चिर्पट प्रहार गरेर ६ जनाको हत्या गरेको प्रहरीमा अनुसन्धानमा देखिएको छ । 

संखुवासभा घटना : व्यक्तिगत कुण्ठाका कारण सामूहिक हत्या

प्रदेश १ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले आइतबार पत्रकार सम्मेलनमा अभियुक्त सार्वजनिक गर्दै 'व्यक्तिगत रिसइवी'का कारण हत्या भएको बताएका छन् ।

मृतक तेजबहादुर र लोकबहादुर नाताले काका भतिज हुन् । अभियुक्त लोकबहादुरका बुवा शारिरिक रुपमा अशक्त छन् । तेजबहादुरलाई लोकबहादुरका हजुरबुवाले आफू मरेर गएपछि परिवारको हेरचाह र अभिभावकत्व गरिदिन आग्रह गरेका थिए । त्यही आग्रह बमोजिम तेजबहादुर लोकबहादुरको घरमा नियमित रुपमा जान्थे । लोकबहादुरको परिवार आर्थिक हिसाबमा तेजबहादुरको तुलानामा कमजोर छ । तेजबहादुर लोकबहादुर र उनका भाइलाई सम्झाउने र भविष्य राम्रो बनाउन सल्लाह दिन्थे । कहिले काँही गाली पनि गर्थे । त्यही विषयलाई लोकबहादुरले व्यक्तिगत कुण्ठा र रिसिइबी बनाएपछि घटना भएको प्रहरीले जनाएको छ ।

तेजबहादुरका दुई छोराहरु विदेशमा छन् भने लोकबहादुर वैदेशिक रोजगारीका लागि विदेश गएको वर्षदिन नपुग्दै फर्किएका थिए । उनी मानसिक रुपमा रोगी समेत रहेको प्रहरीले जनाएको छ ।

हत्या हुनु अघिल्लो दिन तेजबहादुर लोकबहादुरको घर गएका थिए । खेतालाका लागि बोलाउन गएका तेजबहादुरले त्यसदिन पनि लोकबहादुरलाई 'सम्झाउने बुझाउने' काम गरेको प्रहरीले जनाएको छ । लोकबहादुरले उक्त विषयलाई व्यक्तिगत कुण्ठा बनाए । डीआईजी बीसीले पत्रकार सम्मेलनमा भने,'खेताला बोलाउन जाँदा तेजबहादुरले सधाझै दुवैलाई बोलाएर गाली गर्दै सम्झाएको देखिन्छ । त्यो विषयलाई लोकबहादुरले कुण्ठाको रुपमा लिए । '

सोमबार बिहानै घरबाट निस्किएका तेजबहादुरलाई बाटोमा ढुकेर बसेका लोकबहादुरले अचानक आक्रमण गरे । उनले घरबाटै लिएर गएको चिर्पटले तेजबहादुरको टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

तस्बिर : दीपेन्द्र शाक्य/कान्तिपुर

तेजबहादुरलाई आक्रमण गरेको देखिपछि श्रीमती मनमाया र बुहारी रञ्जना घरबाट दौडिँदै त्यहाँ पुग्छन् । हल्ला हुने डरले उनीहरूलाई पनि तेजबहादुरले टाउकोमा चिर्पटले प्रहार गरेर हत्या गरेको डीआईजी बिसीले बताए । त्यहीबेला तेजबहादुरका नाती विपी र नातिनी गोमाले घटना देखपछि उनीहरुको पनि लोकबहादुरले हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । 'तेजबहादुरका नाती/नातिनीले घटना देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरूलाई पनि खेदेर चिर्पट प्रहार गरेर बारीमा हत्या गरेको देखिन्छ,' डीआईजी बिसीले भने ।

५ जनाको हत्या गरेपछि लोकबहादुर तेजबहादुरको घरमा पुग्छन् । कुडो नजिकै बसिरहेकी तेजबहादुरकी आमा पार्वतीलाई भित्तामा ठेलेर चिर्पटले प्रहार गरी उनको पनि हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । तेजबहादुरका बुवा कान नसुन्ने र आँखा त्यति नदेख्ने भएकाले उनलाई केही नगरी लोकबहादुर आफ्नो घर फर्किएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

'केही मिनेटको फरकमा पालैपालो हत्या गरेको देखिन्छ । बालियो मानिसलाई ढालेपछि कमजोरहरुलाई आक्रमण गरेको देखिन्छ,' उनले भने,' घरको मूलीलाई नै आक्रमण गरेर ढालेपछि महिलाहरु आत्तिएर केहि गर्न नकसेपछि उनीहरुलाई हत्याराले सजिलै चिर्पटले हिर्काएको देखिन्छ ।'

प्रहरीलाई आरोपी लोकबहादुरले दिएको बयानमा तेजबहादुरले आफूलाई अल्छी,जाँगर नभएकोलगायत विभिन्न शब्द प्रयोग गर्ने,गाली गर्ने जस्ता कार्य गरेको भन्दै हत्या गरेको बयान दिएको उल्लेख छ ।'तेजबहादुरले लोकबहादुरलाई सम्झाउने क्रममा गर्ने गालीलाई कुण्ठाको रुपमा लिएपछि त्यही विषयलाई लिएर हत्या गरेको देखिन्छ,' उनले भने ।

६ जनाको हत्या गरेपछि हातमा भएको चिर्पटलाई लोकबहादुरले डेढसय मिटरमा रहेको आफ्नो घरमा लगी डढाएको प्रहरी अनुसन्धानमा देखिएको छ । हत्या गरेपछि लुगा फेरेर लोकबहादुर घरमाथि चढेका थिए ।

बिहान साढे ८ बजेतिर लोकबहादुरले आफ्नो भाइलाई 'पर बढिबाको लाश छ' भनेर सुनाएका थिए । 'हत्या भएको स्थान लोकबहादुरको घरबाट देखिदैँन । घरमाथिबाट कसरी मृतकको शव देखियो भन्नेबारे हामीले अनुसन्धान गर्दै जाँदा अभियुक्त पत्ता लाग्यो,' डीआईजी बीसीले भने,' आफन्तको हत्या हुँदा लोकबहादुरमा कुनै समवेदना नदेखिपछि शंका गर्ने ठाउँ भयो । लोकबहादुरको कपडामा लागेको रगतको दाग भेटिएपछि पक्राउ गरेर अनुसन्धान थालेपछि हत्या गरेको स्वीकार्दै बयान दिएका छन् ।'

प्रहरीले मृतकहरुले प्रयोग गरेका मोबाइल विधि विज्ञान प्रयोगशालामा पठाएको छ । अभियुक्तले दिएको साबिति बयानको भिडियो, घटनास्थलमा पुगेर गरिएको कुराकानीको क्लिप, कपडामा लागेका रगतको दागलगायतका सामानहरुलाई प्रहरीले प्रमाणको रुपमा पेस गरेको छ । पोष्टमार्टम रिपोर्टमा टाउकोमा ब्लन्ट फोर्सहरु भएको देखिएको डीआईजी बीसीले बताए ।

घटनाको अनुसन्धानमा डीआईजी बीसी, संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका डीएसपी रुगम कुँवर र संखुवासभाका डीएसपी लालध्वज सुवेदीसहितको टोली संलग्न थियो ।

प्रकाशित : भाद्र २७, २०७८ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?