संखुवासभा सामूहिक हत्या प्रकरण : अनुसन्धानमा सघाउने नै पक्राउ

दीपेन्द्र शाक्य

संखुवासभा — एकै परिवारका ६ जनाको सामूहिक हत्यापछि बिहानै गाउँलेलाई खबर गर्ने पहिलो व्यक्ति थिए, लोकबहादुर कार्की । पहिलो प्रत्यक्षदर्शी भन्दै उनले धेरै सञ्चारमाध्यममा अन्तर्वार्तासमेत दिए । घटनास्थल पुगेकालाई भन्थे, ‘ठूलोबुबाको कसैसँग रिसराग थिएन, हत्या गर्नेलाई त्यसै छाड्न हुन्न ।’

संखुवासभा सामूहिक हत्या प्रकरण : अनुसन्धानमा सघाउने नै पक्राउ

शव उठाउनेदेखि व्यवस्थापनसम्म लोकबहादुर अघि सरेर खटिएका थिए । घटनाको चार दिनपछि भने प्रहरीले उनको घरबाट रगत लागेको कपडा, फलामको रड र चिर्पट फेला पार्‍यो । प्रहरीको तालिमप्राप्त कुकुरले समेत शंका नगरेका उनी लोकबहादुर शुक्रबार पक्राउ परे ।

२६ वर्षीय लोकबहादुर हत्या भएका तेजबहादुर कार्कीका भतिजा हुन् । उनीहरूको घरको दूरी करिब १ सय ५० मिटरमात्रै छ । बयानमा लोकबहादुरले ६ जनाको हत्या आफूले गरेको स्विकारेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । प्रहरीले प्रारम्भिक अनुसन्धानमा ‘व्यक्तिगत रिसिइबीका कारण हत्या’ भनेको छ । तेजबहादुरले पटकपटक ‘तल्लोस्तर’ को शब्द प्रयोग र गालीगलौज गर्ने भएकाले ज्यान लिएको लोकबहादुरले स्विकारेको प्रहरीको भनाइ छ ।

संखुवासभा सामूहिक हत्याकाण्ड : एक जना आरोपी पक्राउ

छिमेकी चन्द्रबहादुर थापाका अनुसार लोकबहादुरले कक्षा ८ सम्म पढेका छन् । उनी वैदेशिक रोजगारीका लागि मलेसिया र कतार गए पनि वर्ष दिन नपुग्दै फर्किएका थिए । गत चैत २६ मा आमा बितेपछि उनी बुबा र भाइसँग बस्दै आएका छन् । एक वर्षअघि घरमै लडेर घाइते भएकी आमाको झापास्थित एक अस्पतालमा मृत्यु भएको थियो । मृत्युको कारण पनि तेजबहादुर नै भएको लोकबहादुरले आरोप लगाउने गरेको छिमेकी बताउँछन् । एक वर्षदेखि औषधि सेवन गरिरहेकाले लोकबहादुर मानसिक रोगी हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले बतायो ।

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

प्रहरीका अनुसार सोमबार बिहानै घरबाट निस्किएका तेजबहादुरलाई बाटोमा ढुकेर बसेका लोकबहादुरले अचानक आक्रमण गरेर हत्या गरेका थिए । उक्त घटना देखेपछि श्रीमती मनमाया र बुहारी रञ्जना घरबाट दौडिँदै पुगेका थिए । हल्ला हुने डरले उनीहरूलाई पनि घरनजिकै खोलाछेउमा फलामको रडले हिर्काएर हत्या गरेको हुन सक्ने प्रहरी अनुसन्धानले देखाएको छ । मृतक सबैको टाउकोमा चोट लागेको थियो । ‘आमा र हजुरआमालाई हत्या गरेको नाति विपिन र नातिनी गोमाले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरूलाई पनि खेदेर बारीमा हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने । उनका अनुसार त्यसपछि घरमा पसेर तेजबहादुरकी आमा पार्वतीको पनि हत्या गरिएको थियो ।

प्रदेश १ प्रहरी कार्यालयका डीआईजी अरुण बीसी, संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका डीएसपी रुगम कुँवर र संखुवासभाका डीएसपी लालध्वज सुवेदीसहितको टोली अनुसन्धानमा संलग्न छ । पक्राउ परेका लोकबहादुर र घटनाबारे थप विवरण आइतबार चैनपुरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने एसपी दाहालले बताए । गत सोमबार बिहान तेजबहादुर कार्की, उनकी श्रीमती मनमाया, आमा पार्वती, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमाको हत्या भएको अवस्थामा शव फेला परेको थियो । तेजबहादुरका दुई छोरा विदेशमा छन् ।

प्रकाशित : भाद्र २७, २०७८ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?