महाधिवेशन निष्पक्ष हुनेमा पौडेल पक्ष सशंकित

क्रियाशील सदस्यताको विवाद नमिलाई गरिने निर्वाचनमा भाग नलिने चेतावनीका बाबजुद सभापति देउवाको गृहजिल्ला डडेलधुरामा वडा अधिवेशन 

काठमाडौँ — कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो जिल्लामा ‘पेलेरै’ वडा अधिवेशन गराएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठाएको छ ।

महाधिवेशन निष्पक्ष हुनेमा पौडेल पक्ष सशंकित

डडेलधुरामा उब्जेको सदस्यता विवाद मिलाएर मात्रै महाधिवेशन गराउन पौडेल पक्षले शुक्रबार बिहान देउवालाई भेटेरै आग्रह गरेको थियो । उपभापति विमलेन्द्र निधिले सदस्यता विवाद समाधान गरेर मात्रै अघि बढ्न पत्रमार्फत देउवालाई सचेत गराएका थिए । जिल्लामै संस्थापनइतर खेमामा रहेका जिल्ला सभापति कर्ण मल्लसहितले पार्टी सदस्यताको विवाद नमिलाई गरिने निर्वाचनमा भाग नलिने चेतावनी दिएका थिए ।

यी सबै दबाब र आग्रहका बाबजुद केन्द्रीय निर्वाचन समितिले पूर्वनिर्धारित कार्यक्रमअनुसार शुक्रबार डडेलधुराका अधिकांश वडामा निर्वाचन सम्पन्न गरायो । जिल्ला निर्वाचन समितिका संयोजक लोकेन्द्र बमका अनुसार अजयमेरु–३ बाहेक शनिबारसम्म सबै वडाका अधिवेशन सम्पन्न भएको छ । उनले करिब १५ वटा वडामा निर्वाचन भएको र अरू सबैमा सर्वसम्मत प्रतिनिधि चयन गरिएको बताए । पेलेरै निर्वाचन गराउन निर्वाचन समितिलाई निर्देशन दिएको भन्दै पौडेल पक्षले अन्य २० जिल्लाका अधिवेशनप्रति पनि आशंका उब्जाएको छ । भदौ १८ देखि सुरु भएको वडा तहको अधिवेशन सदस्यताको विवादले अझै २० जिल्लामा हुन सकेको छैन । प्रदेश र केन्द्रबाहेकका सबै तहका अधिवेशनको तालिकासमेत प्रभावित भइसकेको छ ।

‘हामीसँग सभापतिजीले ठिक गर्छु भन्ने पार्नुभयो तर व्यवहारमा उल्टो भयो, राज्यशक्तिको दुरुपयोग गरियो,’ वरिष्ठ नेता पौडेलले भने, ‘सहमतिबेगर प्रशासनिक शक्तिको दुरुपयोग गरेरै वडा अधिवेशन गरियो । कांग्रेस पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग गरेको यो पहिलोपल्ट हो ।’ उनले प्रशासनिक र राज्य सत्ता लगाएर वडा अधिवेशन गराएपछि आफूहरूलाई भयानक अविश्वास भएको बताए । उनले भने, ‘पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र हुँदाहुँदै व्यवहारमा नेतृत्वकै कारण पार्टीभित्रको लोकतन्त्र संकटमा पर्न थालेको छ ।’

माओवादीवाट प्रवेश गरेका जनकराज कलौनीलाई उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिले ११ सय ७ सदस्यता दिने निर्णय गरेको थियो । त्यसलाई लिएर विवाद उठाइयो । विवाद नहोस् भनेर सभापतिले ८ सय सदस्य कटौती गर्न लगाउनुभयो । त्यति गर्दा पनि नभएपछि वडा अधिवेशन नरोक्ने तय भएको हो ।’ कांग्रेस नेता शेखर कोइरालाका अनुसार केन्द्रमा पठाइएका ४ सय ६० जना क्रियाशील सदस्यको नाम हटाएर जिल्लाका कुनै निकायलाई थाहै नभएको ३ सय १२ जनाको नाम समावेश गरिएपछि विवाद उब्जेको बताए । ‘यसको समाधान गर्नुको साटो पूर्वराजा ज्ञानेन्द्रको शैलीमा राज्यशक्तिको दुरुपोग गरेर चुनाव गराइयो । यसले बाँकी २० जिल्लाका निर्वाचन पनि निष्पक्ष हुन्छ भन्नेमा आशंका बढेको छ,’ उनले भने, ‘राज्य शक्तिको दुरुपयोग गरी नेतृत्व कब्जा गर्ने मनसाय हो भने त्यस्तो सोच नराखे हुन्छ ।’

प्रधानमन्त्री देउवा आफैं सभापतिको उम्मेदवार भएकाले नेतृत्वको आकांक्षा राख्ने संस्थापनइतर खेमाका नेताहरू बढी संशकित हुन थालेका छन् । सभापतिनिकट केन्द्रीय सदस्य श्याम घिमिरेले भने नेताहरूबीच चरम अविश्वासका कारण आरोप/प्रत्यारोप चल्ने गरेको बताए । अर्का केन्द्रीय सदस्य अर्जुनरसिंह केसी अहिले भइरहेका घटनाक्रमलाई सामान्य मान्न तयार छैनन् । ‘अधिवेशन प्रारम्भ भएको साता बित्दा पनि २० जिल्लाको क्रियाशील सदस्यता अझ नआउनु, देशको संविधान र पार्टी विधानको समयसीमा तोडिनु र डडेलधुरा जिल्ला सभापति र कार्यसमितिकै सहभागिता र सहमतिबिना पार्टी सभापतिले दिएको बचनविपरीत प्रशासनिक शक्ति प्रयोग गरी एकपक्षीय रूपमा अधिवेशन गरिनु लोकतान्त्रिक मर्यादा र परम्पराको खिल्ली उडाउने काम हो,’ केसीले भने ।

प्रकाशित : भाद्र २७, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?