संखुवासभा सामूहिक हत्याकाण्डका आरोपीले अपराध स्वीकारे : प्रहरी

हत्या आरोपमा छिमेकी लोकबहादुर कार्की पक्राउ

काठमाडौँ — संखुवासभाको मादी नगरपालिका-१ उम्लिङमा एक परिवारका ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ । पारिवारिक रिसइवीका कारण लोकबहादुरले हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपीले अपराध स्वीकारे : प्रहरी

गत सोमबार ५७ तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो । तेजबहादुर र लोकबहादुर काका-भतिज हुन् । लोकबहादुरको घर घटना भएको ठाउँबाट करिब १ सय ५० मिटरको दूरीमा पर्छ ।

प्रहरीले यस सम्बन्धी विस्तृत विवरण आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ ।

आरोपीले प्रहरीलाई दिएको बयानमा कसुर स्वीकार गरेको अनुसन्धानमा संलग्‍न एसपी भीम दाहालले बताए । 'घटनाको प्रकृति र अध्ययनले आरोपीले भनेका कुराहरुलाई पनि पुष्टि गर्छ,' एसपी दाहालले इकान्तिपुरलाई भने,'आरोपीले हत्या गरेको शत प्रतिशत पुष्टि हुन्छ । हत्याको विविध पक्ष र कारणबारे आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत रुपमा जानकारी गराउँछौं ।'

प्रहरी स्रोतका अनुसार लोकबहादुरले सुरुमा तेजबहादुरको हत्या गरेका थिए । परिवारका अन्य सदस्यले देखेपछि उनीहरुको पनि हत्या गरेको प्रहरी स्रोतले जनाएको छ । 'एकजनाको हत्या गर्दा अरुले देखेपछि 'चिन्छ भनेर' आरोपीले अन्यको हत्या गरेको देखिन्छ,' स्रोतले भन्यो ।

गत सोमबार तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) र संघीय इकाई प्रहरी कार्यालय धरानसमेतको ठूलो टिम परिचालन भएको थियो ।

प्रकाशित : भाद्र २६, २०७८ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?