संखुवासभा सामूहिक हत्याकाण्ड : एक जना आरोपी पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संखुवासभा सामूहिक हत्याकाण्ड : एक जना आरोपी पक्राउ

दीपेन्द्र शाक्य

संखुवासभा — मादी नगरपालिका–१ उमलिङको खोलागाउँमा गत सोमबार एकै परिवारको ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक जना २५ वर्षीय छिमेकीलाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलनमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने जनाएको छ । संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालले आइतबार चैनपुरमा सार्वजनिक गरिने बताए ।

यसअघि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताउँदै आएको थियो । प्रहरीले अरु कसैलाई पक्राउ नगरेको बताएको छ । शुक्रबार थप एक जना शंकास्पद व्यक्तिमाथि अनुसन्धान अघि बढाएको र शुक्रबार नै एक जना छिमेकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका छिमेकीको घर घटना घटेको घरबाट करिब १ सय ५० मिटरको दूरीमा रहेको एसपी दाहालले बताए ।

घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) र संघीय इकाई प्रहरी कार्यालय धरानसमेतको ठूलो टिम परिचाल भएको थियो । मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको सोमबार बिहान शव फेला परेको थियो । तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको हो ।


प्रकाशित : भाद्र २६, २०७८ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

त्यो हिँडाइ, यो साइक्लिङ

सहरमा कमजोर र गरिबहरू कसरी बस्छन् वा आइपुग्छन् ? खुट्टाले सडक नाप्ने समयमा म यो प्रश्नका धेरैखाले जवाफ पाउँथें । साइकल हुइँक्याउन थालेका यी अढाई वर्षमा सहरले कहिल्यै नदेख्ने ती मानिसहरूसित फेरि मेरो भेट भएको छैन ।
जीवन क्षत्री

मध्याह्नको समय । पानी नपरेको बर्खाको दिन । पातलो बादल छेडेरै साइकलको सिट तताउने गरी सूर्यको ताप आइरहेकाले उखुम गर्मी थियो । त्यसमाथि पानी बोक्न बिर्सेछु । 

मधेसको मैदान छाडेर महाभारत शृंखला सुरु हुने पहिलो पहाड । मैले तेर्सो सडक छिचोलेर उकालोमा साइकल चलाउन सुरु गरें । पैंचालीस डिग्रीसम्मको उकालोमा साइकलको गति धीमा हुँदै गयो । मिटर ३ किमि प्रतिघण्टामा झर्‍यो । आँखाका परेलाहरूमा ढिक्का जम्मा हुने गरी पसिना आयो । कछुवा गतिमा उकालो लागे पनि थकाइ बढ्दै गयो । एकै छिनमा थकानलाई तिर्खाले उछिन्यो । तर, झन्डै तीन किलोमिटर उकालो नछिचोली पानी पाउन सम्भव थिएन ।

अन्ततः म त्यो बाटो छिचोलेर एउटा खाजा पसलमा पुगें र एक लिटर पानी तन्काएँ । तर, त्यसअगाडि नै शरीरको एउटा अंगले लत्तो छाडेछ । त्यो साँझदेखि मलद्वारमा बेस्सरी पीडा हुन थाल्यो । पर्सीपल्ट सर्जनलाई देखाएँ, पाइल्स रहेछ । त्यसमा पनि जटिलता आइसकेछ । फुलिएका नसामा रगत जमेर बनेको कडा डल्लोले घोचेर मलाई तीव्र पीडा दिएको रहेछ । तुरुन्त त्यसलाई चिरेर निकाल्नुपर्‍यो ।

अपरेसनपछि दुई सातासम्म निवृत्त हुँदा असहनीय पीडा भयो । त्यो पीडाले मलाई आफ्नो जीवनशैली बदल्न बाध्य बनायो । फर्केर हेर्दा दुई किसिमले मैले आफ्नो स्वास्थ्यप्रति निकै खेलबाड गरेछु । एक, पानी कम पिउने । दुई, नहिँड्ने ।

...

कुनै समय म चितवनमा कार्यालयदेखि घरसम्मको झन्डै छ किमि दूरी अक्सर हिँडेर पार गर्थें । फुर्सद भए बिहान पनि हिँडेरै काममा गइदिन्थें । जुत्ता खुब फाट्थे ।

२०६५ देखि पाँच वर्ष खुब मोटरबाइक चलाएँ । तर ०७० सालतिरबाट देब्रे हातको नाडी दुख्न थाल्यो । असहज भएपछि चटक्कै साधनहरू चलाउन छाडिदिएँ, मोटरबाइक बेचिदिएँ । एकाध किमिको दूरी खुट्टाले लम्केरै हिँड्ने थालें । काठमाडौंमा पढाइ सकेर चितवनमा रोजगारी थालेपछिको नयाँ दैनिकीमा एकदेखि तीन घण्टासम्मको हिँडाइ मज्जाले मेल खायो ।

अर्को पाँच वर्षपछि बिहे भयो, बूढीले घरमा पाको स्कुटर भित्र्याइन् । अचानक म पनि आधा स्कुटरको मालिक भएँ । केही साता उनले मलाई पछि राखेर हुइँक्याइन् । स्कुटर हाम्रो गतिवान् रोमान्सको सारथि बन्यो । त्यसै क्रममा मैले एकाधपल्ट डराई–डराई स्कुटर चलाउने प्रयास गरिहेरें । अब नाडी दुखेर अरू काम पनि ठप्प होला भन्ने मेरो डर थियो । तर, परिणाम उल्टो निस्क्यो । चलाउँदा चलाउँदै त हात दुखेन नै, अरू बेला दुख्ने दर पनि घट्दै गयो । त्यसपछि मैले नियमित स्कुटर र मोटरबाइक चलाउन थालें ।

तर, दुईपांग्रे साधनको पूरा आनन्द लिनुअघि एउटा औपचारिकता बाँकी थियो । ०६४ सालमा निकालेको मोटरबाइकको लाइसेन्सको दसवर्षे आयु सकिएको थियो । म अनलाइन फर्म भरेर लाइसेन्स परीक्षा दिन काठमाडौं पुगें । लिखितमा पास भएँ, तर ट्रायलमा फेल । त्यसैको झोंकमा मैले चितवन फर्केपछि सस्तो गियरवाला साइकल किनें । अब म आधा स्कुटर र आधा साइकलको मालिक भएँ ।

त्यो साइकल किनेको पहिलो वर्षमै म साइकलको व्यवसायी र साइक्लिङ अभियन्ता बनें । काठमाडौं जानेबाहेक मेरा सबैजसो यात्राका लागि साइकल काफी हुन थाल्यो । अफिस र घर गर्दा मात्रै मैले नियमित मासिक ४०० किमि हाराहारी साइकल चलाउन थालें । दोस्रो वर्षमा साइकललाई बागलुङका अग्ला पहाडहरूमध्ये एक हाँडीकोटको टुप्पोमा पुर्‍याएँ । त्यहाँबाट फर्कने क्रममा बागलुङ र गुल्मी जिल्ला छिचोलेर कालीगण्डकी कोरिडोर हुँदै पाल्पाको रिडी बजारसम्म साइकल चलाएँ । चितवनको शक्तिखोरदेखि उपर्दाङगढीसम्म उकालो साइकल दौडमा भाग लिएर नौ जनामा सातौं भएँ । एक सपना साइकल र सफा नेपालको अभियानसित मिलेर हाम्रो कम्पनीले १२१ साइकल यात्रीलाई भरतपुरबाट नेपाल–भारत सीमाको चुरे पहाडको चुचुरोमा रहेको सोमेश्वरगढीसम्म पुर्‍याएर फर्कायो ।

यसरी जीवनमा साइक्लिङ अघिअघि लागेपछि पैदल यात्राचाहिँ पछिपछि छुट्दै गएछ । मलद्वारको अपरेशनपछि जब सर्जनले कब्जियत रोक्ने सजिलो उपाय रेसादार खाना र पर्याप्त पानीबाहेक दिनमा केही किलोमिटर नियमित हिँड्नु हो भने, म त झसंग भएँ । साइकल चढ्न थालेपछि दैनिक केही सय मिटर हिँड्न पनि छाडिएछ ।

...

फर्केर हेर्दा लाग्छ, साँझ परेपछि सडकछेउमा लुखुरलुखुर डेढ घण्टासम्म हिँड्नु मेरा लागि मानसिक रूपले समेत निकै लाभदायी बनेको थियो । २०७३ पुस १६ मा ट्वीटर र फेसबुकबाट बाहिरिएपछि मसित फुर्सदै फुर्सद थियो । न दिनमा सयवटा हेडलाइन पढ्नु, न टाइमलाइनमा कुण्ठा पोखेर कमेन्ट कुर्दै बस्नु । त्यसरी निस्केको समयमा मैले मानिस जातिको इतिहास खोतल्ने विचार गरें । युट्युबमा इतिहाससम्बन्धी वृत्तचित्रहरू खोजें र हेर्न प्रयास गरें । तर, त्यसको केही समयअगाडि नै आँखा सुक्खा हुने र स्क्रिन धेरै बेर हेर्न नसक्ने समस्या आइसकेको थियो ।

जहाँ इच्छा त्यहाँ उपाय भनेझैं सडकको हिँडाइ र वृत्तचित्रको सुनाइ एकअर्कासित ठ्याक्कै मिले । अफिसबाट निस्कने बेला मोबाइलमा एकदेखि डेढ घण्टाको वृत्तचित्र डाउनलोड गर्‍यो, खल्तीमा राखेर सुन्दै हिँड्यो । घर पुग्दा एउटा सिंगो युगसित साक्षात्कार भइसक्ने । समय बितेको वा खुट्टा गलेको पनि पत्तै नहुने । वृत्तचित्रको अडियो त्यसरी सुन्ने बानी लागेपछि बिस्तारै त्यसको दृश्य भागको अभावसमेत महसुस हुन छाड्यो ।

लगत्तै मैले अडियोबुक्स नामक एपबाट किताबहरू पनि सुन्दै हिँड्न थालें । तीमध्ये हेनरिक इब्सेन र ओस्कार वाइल्डका केही नाटकहरू त मैले दर्जनौंपल्ट दोहोर्‍याएर सुनें । ती नाटकले मलाई सहजै डेढ सय वर्षअगाडिको नर्वेली वा दुई सय वर्षअगाडिको बेलायती समाजमा विचरण गराउँथे । आन्तोन चेखवको ‘द सिगल’ नाटक मैले पहिलोपल्ट त्यसरी नै सुनेको हुँ ।

त्यसपछिका केही वर्ष मेरो पदयात्राले विश्वव्यापी पोडकास्टिङ क्रान्तिलाई अँगाल्यो । आजको साइकल युगमा पनि म पोडकास्ट निकै सुन्छु तर घण्टौंको हिँडाइमा जसरी पोडकास्ट सुन्न सम्भव थियो, त्यो अहिले सम्भव छैन । जस्तो कि, फ्रान्सेली क्रान्तिबारे माइक डंकनको झन्डै ३० घण्टा लामो ५५ पोडकास्टको शृंखला मैले ती दिनमा आद्योपान्त सुनें । अरू क्रान्तिहरू समेत गरेर १५० घण्टा जति डंकनका पोडकास्टहरू मात्रै सुनें । तिनले मलाई क्रान्तिकालीन फ्रान्स र अरू युरोपेली देशहरूको जीवन्त मानसिक यात्रा गराएर मनमा गहिरो छाप छाडे । अहिले पनि घर जाने सडकका केही खण्डहरूमा पुग्दा झलक्क याद आउँछ ः मैले कुनै दिन यहाँनिर हिँड्दै गर्दा फ्रान्सेली क्रान्तिको त्योचाहिँ घटना विशेषका बारेमा सुन्दै थिएँ ।

अहिले पनि साइकल चलाउँदै पोडकास्ट सुन्ने मेरो सोख छ तर साइकलले धेरै छिटो गन्तव्यमा पुर्‍याउने हुँदा दस मिनेटदेखि आधा घण्टासम्मका पोडकास्ट सुन्न मात्रै सहज हुन्छ ।

...

पुसको एउटा छोटो दिनमा म कार्यालयबाट लुखुरलुखुर घर फर्कंदै थिएँ । बाटोमा लठ्ठी टेकेर हिँडिरहेकी बयोवृद्ध महिला भेटिइन् । धनुषाकार शरीर, बन्द भइहाल्लान्झैं लाग्ने परेलाभित्र धमिला भइसकेका आँखा, मुजैमुजा परेको अनुहार अनि गुफाबाट निस्केजस्तो लाग्ने मसिनो बोली !

केही दिनअघि पहाडबाट कुनै आफन्तकोमा झरेकी रहेछिन् । त्यहाँबाट अर्को आफन्तकोमा पुगेर फर्कने क्रममा बाटो हराएर दिनभरि भरतपुरका भित्री सडकहरूमा चक्कर लगाइछन् । आफन्तको घर कुन ठाउँ भनेर सोध्दा भन्न पनि सकिनन् । खाली ‘छेउमा नहर छ’ मात्रै भनिन् । मैले उनलाई घरनजिकैको नहरको डिलतिर लिएर गएँ । तर, एक छिनपछि उनले ठाउँको याद आएझैं गरेर ‘पारसनगर’ भनिन् ।

त्यहाँबाट अरू डेढ घण्टा उनलाई लिएर पैदलै म पारसनगरको दिशातिर गएँ । बाटैमा साँझ पर्‍यो, उनका आँखाले ठ्याम्मै काम गर्न छाडे । चोकबजारनेरको अर्को नहरको किनारै किनार उनलाई पाखुरा समातेर डोर्‍याएँ र सुकुम्बासी बस्तीका मानिसहरूलाई ‘यी आमैलाई चिन्नुहुन्छ ?’ भनेर सोध्दै गएँ । साँझपख काउछो आइलागेझैं मान्छेहरू टक्टकिए । झमक्क अँध्यारो भयो । मलाई घर फर्कन ढिलो, आमैका घुँडा बस्लान्जस्तो भइसक्यो । पुसको जाडोमा पनि मैले चिटचिट पसिना छाडें । आखिर बाटोमा आगो ताप्दै गरेका केही युवतीहरू भेटिए । मेरो बेलिबिस्तार सुनेपछि उनीहरूले आमैको जात सोधे । त्यो दलित बस्ती रहेछ । पहाडबाट झरेर हराएकी दलित महिला देखेपछि उनीहरूको मन पग्ल्यो । उनीहरूले ‘आमा आज यतै बसौं, भोलि हामी पारसनगर पुर्‍याइदिउँला’ भने । म राहतको लामो सास फेर्दै अँध्यारोमा अर्को एक घण्टा लम्केर घर पुगें ।

त्यसको केही महिनामा भरतपुरमै लमजुङ जाने बाटो सोध्दै हिँडेका अर्का वृद्ध भेटिए । तिनलाई हिँडाउँदै नारायणीमा पुर्‍याएँ । त्यहाँ नुहाउन र लुगा फेर्न लगाएर तिनलाई बेंसीसहरको गाडी चढाएर पठाइदिएँ ।

अलि मिहिनेत परेकाले यी प्रसंग मलाई याद छन् । तर, केही दिनको अन्तरमा सडकमा कोही न कोही त्यस्तो मानिस भेटिन्थ्यो, जसलाई बाटो बताइदिँदा मात्रै पनि धेरै सहयोग पुग्थ्यो । मैले आफ्नो मोबाइलबाट गरिदिएको एक कलले नै जसको ठूलो संकट दूर हुन्थ्यो ।

सहरमा कमजोर र गरिबहरू कसरी बस्छन् वा आइपुग्छन् ? उनीहरूलाई कस्ता विपत्ति आइलाग्छन् ? ती विपत्ति झेल्न उनीहरूलाई कति मुस्किल पर्छ ? खुट्टाले सडक नाप्ने समयमा म यी प्रश्नका धेरैखाले जवाफ पाउँथें । साइकल हुइँक्याउन थालेका यी अढाइ वर्षमा सहरले कहिल्यै नदेख्ने ती मानिसहरूसित फेरि मेरो भेट भएको छैन ।

...

कहिलेकाहीँ सोच्छु, मेरो नाडीमा हठात् सुरु भएको रहस्यमय दुखाइका कारण पाँच वर्षमा मैले धेरै कुरा गुमाएँ । तर, के मेरो हात नदुखेर निरन्तर साधन चलाएको भए मैले यतिका अनुभव बटुल्थें ? के सयौं घण्टासम्म वृत्तचित्र र पोडकास्टहरू सुन्थें ? के दिनभर खानु न पिउनु सडकमा चक्कर लगाएकी बूढीआमैलाई बाटैमा घुक्रुक्क लड्नुअगाडि उद्धार गर्न सक्थें ? के बसवालाले ढोकाबाट छिर्न नदिने हुलिया भएका लमजुङे बालाई मैले झैं अरू कसैले नारायणीमा पुर्‍याएर नुहाइधुवाइ गराएर बस चढाइदिन्थ्यो ?

फर्केर हेर्दा लाग्छ, बाध्यताजन्य भए पनि पैदलयात्राले विशेषज्ञ चिकित्सक भइसकेको मलाई पहाडबाट झरेका विपन्न र दलित वृद्धवृद्धाहरूकै धरातलमा उभ्याइदिएको थियो । उनीहरूको र मेरो हिँडाइको गति उस्तै थियो, संसारलाई हेर्ने कोण एउटै थियो ।

अब साइकल चलाउन थालेपछि मेरो गति बढेको छ । मिटर भन्छ, मेरो औसत गति १२.६ किमि प्रतिघण्टा छ । सडकमा हिँड्नेहरू ३–६ किमिभन्दा बढी हिँड्न सक्दैनन् । त्यसैले उनीहरूको संसार अब मभन्दा निकै पछि छुटिसकेको छ । अब मलाई कसैले पारसनगर वा लमजुङ जाने बाटो सोध्दैनन् । म गन्तव्यमा पहिलेको आधाभन्दा पनि कम समयमा पुग्छु, तर पनि मलाई आफूभित्रको मानवताको एउटा हिस्सा तिनै ढिलो हिँड्ने मानिसहरूसितै छुटेको र आफू अधुरो, अपुरो भएको महसुस हुन्छ ।

चढ्नलाई साधन नहुनेहरू मेरो साइकलभन्दा त त्यति पछि छुटे भने ५० किमिको गतिमा हुइँकिने नीति निर्माताहरूसित उनीहरूको दूरी कति होला ? सर्वहाराका लागि स्वर्ग बनाउँछौं भनेर राजनीति गर्नेहरू समेत सडकको धूवाँ, धूलो छिचोलेर साधन र घर नहुनेहरूसित ताल मिलाएर हिँडेको कहिल्यै देख्नुभएको छ ? कोभिडको लकडाउनमा हिँडेरै सयौं किमि छिचोल्नेहरू त्यसै राज्यको नजरबाट लुकेका होइनन् । अनि दसौं किमि छिचोलेर मनकारीहरूबाट निःशुल्क तातो भात खान आएकाहरूका पेटमा जनप्रतिनिधिहरूले यसै निषेधाज्ञा जारी गरेका होइनन् । मलाई लाग्छ, रगत जमेको पाइल्सले मलाई महिना दिनसम्म दिएको पीडा म स्वार्थी हुँदै गएकोमा मैले पाएको दण्ड थियो । तर, निहित स्वार्थका सबै किल्लाहरू पार गरिसकेका यो देशका राजनीतिज्ञहरू कहिले दण्डित हुने हुन्, थाहा छैन ।

प्रकाशित : भाद्र २६, २०७८ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×