राष्ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभामा 'राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेस गरेका छन् । शुक्रबार दिउँसो बसेको बैठकमा गृहमन्त्री खाँणले अध्यादेश पेस गरेका हुन् ।

अध्यादेश पेस गर्ने बेला एमालेका राष्ट्रिय सभा सदस्यहरुले उभिएर विरोध जनाएका थिए ।

एमालेका सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभामा सभामुख अग्नीप्रसाद सापकोटा, सरकार र निर्वाचन आयोगले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ जना सांसदहरु संसदहरुलाई संरक्षण गरेर पार्टी फुटाउने काम गरेको भन्दै बैठक चल्न नदिने जानकारी गराएका थिए । उनले लोकतन्त्रलाई मास्ने काम, दलीय प्रणालीलाई दललाई कमजोर पार्ने काम सरकार, प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोग मिलेर लागेकाले त्यसको विरोधमा बैठक अवरुद्ध गर्नु परेको स्पष्ट पारे । एमालेले गत २३ गते बुधबारबाट सुरु भएको संघीय संसदको दुवै सदन अवरुद्ध पार्दै आएको छ ।

राष्ट्रिय सभाले संविधानसभा सदस्यहरू जेबी टुहुरे र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आगामी बैठक भदौ २८ गते बस्ने गरी राष्ट्रिय सभा बैठक स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभालाई जानकारी गराएका थिए ।

प्रकाशित : भाद्र २५, २०७८ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्

बीपी प्रतिष्ठानका रजिस्ट्रार रेग्मीको राजीनामा स्वीकृत

धरान — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीको राजीनामा स्वीकृत भएको छ । राजीनामा स्वीकृत भएपछि रेग्मी स्त्री तथा प्रसूति विभागमा फर्किएका छन् ।

रेग्मीले राजीनामा पत्र बुझाएको १३ दिनपछि प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा स्वीकृत गरेका छन् ।

बीपी प्रतिष्ठान शुद्धीकरण अभियान, संयुक्त संघर्ष समितिले चारै पदाधिकारीको राजीनामा माग गरेपछि रेग्मीले आन्दोलनकारी र राज्यलाई सहयोग गर्न भन्दै भदौ १३ गते राजीनामा दिएका थिए ।

राजीनामा स्वीकृत भएपछि उनले भने, ‘प्रतिष्ठानको रजिस्ट्रार पदमा नियुक्त भएपछि केही परिवर्तन गरौं, प्रणालीगत भएका गलत थितिलाई सुधार गर्न सकिन्छ कि भन्ने लागेको थियो ।’ उनले प्रतिष्ठानभित्र मेडिकल उपकरण खरिद र भौतिक पूर्वाधार निर्माण प्रक्रियामै पनि अनेक कैफियत रहेकाले त्यसलाई सही बाटोमा ल्याउन आन्दोलनकारी चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीको माग जायज रहेको पनि बताए ।

आन्दोलनकारीको मागअनुसार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले यसअघि चारैजना पदाधिकारीले राजीनामा नदिए कारबाही गर्ने चेतावनी दिएका थिए । पछिल्लो समयमा रजिस्ट्रार रेग्मीले राजीनामा दिए पनि उपकुलपति डा. ज्ञानेन्द्र गिरि, शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर साहले भने राजीनामा दिएका छैनन् ।

बीपी प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले गत आइतबारदेखि इमर्जेन्सी र कोभिड अस्पतालबाहेक ओपीडीसेवा बहिस्कार गरेर सडकमै टेबल राखेर बिरामीको उपचार सेवा दिइरहेको छ ।

प्रकाशित : भाद्र २५, २०७८ १३:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×