बीपी प्रतिष्ठानका रजिस्ट्रार रेग्मीको राजीनामा स्वीकृत


धरान — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीको राजीनामा स्वीकृत भएको छ । राजीनामा स्वीकृत भएपछि रेग्मी स्त्री तथा प्रसूति विभागमा फर्किएका छन् ।



रेग्मीले राजीनामा पत्र बुझाएको १३ दिनपछि प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा स्वीकृत गरेका छन् ।
बीपी प्रतिष्ठान शुद्धीकरण अभियान, संयुक्त संघर्ष समितिले चारै पदाधिकारीको राजीनामा माग गरेपछि रेग्मीले आन्दोलनकारी र राज्यलाई सहयोग गर्न भन्दै भदौ १३ गते राजीनामा दिएका थिए ।
राजीनामा स्वीकृत भएपछि उनले भने, ‘प्रतिष्ठानको रजिस्ट्रार पदमा नियुक्त भएपछि केही परिवर्तन गरौं, प्रणालीगत भएका गलत थितिलाई सुधार गर्न सकिन्छ कि भन्ने लागेको थियो ।’ उनले प्रतिष्ठानभित्र मेडिकल उपकरण खरिद र भौतिक पूर्वाधार निर्माण प्रक्रियामै पनि अनेक कैफियत रहेकाले त्यसलाई सही बाटोमा ल्याउन आन्दोलनकारी चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीको माग जायज रहेको पनि बताए ।
आन्दोलनकारीको मागअनुसार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले यसअघि चारैजना पदाधिकारीले राजीनामा नदिए कारबाही गर्ने चेतावनी दिएका थिए । पछिल्लो समयमा रजिस्ट्रार रेग्मीले राजीनामा दिए पनि उपकुलपति डा. ज्ञानेन्द्र गिरि, शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर साहले भने राजीनामा दिएका छैनन् ।
बीपी प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले गत आइतबारदेखि इमर्जेन्सी र कोभिड अस्पतालबाहेक ओपीडीसेवा बहिस्कार गरेर सडकमै टेबल राखेर बिरामीको उपचार सेवा दिइरहेको छ ।
प्रकाशित : भाद्र २५, २०७८ १३:१२