२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सत्ता गठबन्धन बैठक : प्रधानमन्त्रीले मन्त्रीको नाम मागेपछि साँझ पुनः बस्ने गरी स्थगित

काठमाडौँ — सत्ता गठबन्धनका नेताहरुले अब चाँडै मन्त्रिपरिषद् विस्तार गरेर सरकार र संसदका कामलाई गति दिनुपर्ने निष्कर्ष निकालेका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाईको प्रभाव सबैतिर परेको र त्यसले नकारात्मक असर गइरहेको बताएका थिए ।

सत्ता गठबन्धन बैठक : प्रधानमन्त्रीले मन्त्रीको नाम मागेपछि साँझ पुनः बस्ने गरी स्थगित

मन्त्रिपरिषद् विस्तारमा अब पनि ढिला गर्न नहुने नेताहरुको जोड थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुलाई मन्त्रीको नाम छिटो दिन आग्रह गरेका थिए । प्रधानमन्त्रीले मन्त्रीको नाम मागेपछि नेताहरुले दलमा छलफल गरेर नाम दिने भनेका छन् । नेताहरु शुक्रबारै साँझ ६ बजे पुनः बस्ने गरी उठेका छन् ।

बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठकमा मन्त्रिपरिषद् विस्तार, संसद् सञ्चालन र गठबन्धनलाई मजबुत बनाउने विषयमा छलफल भएको जानकारी दिइन् । ‘प्रधानमन्त्रीज्यूले नाम माग्नुभयो । पार्टीभित्र छलफल गरेर नाम दिने भन्ने कुरा नेताहरुले गर्नुभएको छ,’ उनले भनिन्, ‘मन्त्रिपरिषद् विस्तारमा ढिला भएकोमा सबैको एकमत छ । कहिले ? कसरी विस्तार गर्ने ? भन्ने मात्रै हो ।’

पौडेलले संसद्को शुक्रबारको बैठकमा प्रस्तुत हुने अध्यादेश र विभिन्न विचाराधीन विधेयकहरुमाथि समेत छलफल भएको बताइन् । ‘अहिले अध्यादेशहरु टेबल गर्ने तयारी छ, ती नै विषयमा छलफल भयो । साथै संसद्लाई निरन्तर बिजनेस दिनुपर्ने छ । त्यसका लागि पनि सरकारले कस्ता विधेयकहरुलाई अघि बढाउने ? भन्ने विषयमा पनि सामान्य छलफल भयो,’ उनले भनिन् ।

संसद्‍बाट एमसीसी पास गर्ने विषय र एमसीसीकै उपाध्यक्ष फतिमा सुमारलगायत टोलीको नेपाल भ्रमणले राजनीति गर्माएका बेला बसेका गठबन्धनको बैठकमा एमसीसीका विषयमा पनि छलफल भयो । एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग भेटवार्ता गरिसकेका नेताहरुले भेटघाट र कुराकानीबारे जानकारी गराएका थिए । प्रधानमन्त्री देउवासँग सुमारले शुक्रबार अपरान्ह चार बजे भेटवार्ता गर्ने कार्यक्रम छ । ‘एमसीसीको प्रसंग निस्कियो । तर, त्यसबारे त्यस्तो गहन छलफल भएन । सबैले भेटघाट भएको कुरा गर्नुभयो, प्रधानमन्त्रीजीले पनि भेटेपछि साँझ केही छलफल होला,’ उनले भनिन् ।

नेताहरुले गठबन्धनलाई थप मजबुत बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकाल्दै गठबन्धनका बैठकहरुलाई बाक्लो बनाउने सहमति गरेका छन् ।

बैठकमा कांग्रेसबाट सभापति एवम् प्रधानमन्त्री देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

प्रकाशित : भाद्र २५, २०७८ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?