२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सर्वोत्तम स्टिलमा विस्फोट :  उपचाररत ५ मजदुरको मृत्यु

भूषण यादव

वीरगन्ज — गत भदौ १० मा सर्वोत्तम स्टिलको भट्टीमा भएको विस्फोटमा घाइते भएका १५ जना मजदुरमध्ये ५ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित स्टिल उद्योगमा फलाम पगाल्ने भट्टीमा विस्फोट हुँदा सात जना भारतीयसहित १५ जना घाइते भएका थिए ।

सर्वोत्तम स्टिलमा विस्फोट :  उपचाररत ५ मजदुरको मृत्यु

घाइतेमध्ये ५ जना भारतीय कामदारको उपचारकै क्रममा बिहारको पटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका ६ जना कामदारलाई उद्योग व्यवस्थापनले भदौ १० मै एम्बुलेन्समा राखेर थप उपचारका लागि वीरगन्जबाट पटना लगेको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भारत उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, ३७ वर्षीय मानस परिदा, ३० वर्षीय रामपुकार यादव, बिहारका ५२ वर्षीय विनोद पाण्डे र २७ वर्षीय गगन नायक रहेका छन् । पर्साका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेका अनुसार पटनाको एपोलो अस्पतालमा उपचाररत ३ जनाको भदौ १६ मा दुई जनाको भदौ १८ मा मृत्यु भएको जानकारी बिहीबार मात्र आएको हो ।

भारतीय ठेकेदारमार्फत उद्योग व्यवस्थापनसँग सम्झौता गरी उद्योगमा मजदुरले काम गर्दै आएका थिए । भट्टी विस्फोट प्रकरण दबाउन सुरुदेखि नै प्रयास गर्दै आएको उद्योग व्यवस्थापनले ५ जना मजदुरको मृत्युको जानकारी समेत एक हप्तापछि मात्र प्रहरी प्रशासनलाई दिएको छ ।

अन्य कबाडसँगै ग्यासका पुराना सिलिन्डर गलाउँदा भट्टीमा विस्फोट भएको घाइते मजदुरले बताएका छन् । विस्फोट भएको भोलिपल्ट पर्सा क्षेत्र नं. १ का सांसद, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकको टोली अनुगमन गर्न उद्योग पुगेका थिए ।

भट्टीमा प्रयोग हुने रसायन र ग्यास लिक हुँदा विस्फोट भएको अनुगमन टोलीलाई उद्योग व्यवस्थापनले जानकारी गराएको थियो । ‘प्राविधिक समस्याकै कारण लिकेज भएको हो जस्तो लाग्छ,’ एसपी पाण्डेले भने ।

प्रकाशित : भाद्र २५, २०७८ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?