कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

ब्युँतियो किरातकालीन नागेचा प्याखँ

तीन रात चल्ने नाच खर्च व्यवस्थापनको समस्याले आठ वर्ष बन्द भएको थियो, यो वर्ष एक दिन देखाउने तयारी छ 
दामोदर न्यौपाने

काठमाडौँ — चाबहिलको चारुमती विहारमा अचेल हरेक साँझ खिं, नायखी, धा र ता बाजा गुन्जिन्छ । बाजाको धुनमा हात र गोडाको ताल मिलाउन सिकिरहेका भेटिन्छन् १० वर्षीय आयुष डंगोल । उनीसँगै १४ वर्ष हाराहारीकै शुब्लल शाक्य, अमित लामा वैद्य र रोनी शाक्यले पनि नागेचा प्याखँ (शिव पार्वती नाच) सिकिरहेका छन् । उनीहरूलाई नृत्य सिकाउने गुरु हुन् सचिन शाक्य । सचिनका पनि गुरु कृष्णकाजी शाक्य भने नृत्य भयो कि भएन भनेर अवलोकन गर्छन् । 

ब्युँतियो किरातकालीन नागेचा प्याखँ

संस्कृतिविद्हरूका अनुसार नागेचा प्याखँ किरातकालीन नृत्य हो, जसलाई यही वर्ष ब्युँताइन लागिएको हो । ८ वर्षदेखि रोकिएको प्याखँ ब्युँताउन नागेचा प्याखँ संरक्षण समिति गठन भएको छ । भाद्र शुक्ल पक्षको प्रतिपदामा सुरु हुन्छ, प्याखँ । तीन रात चल्ने नाच यो वर्ष भने एक दिन मात्र हुने समितिका कोषाध्यक्ष श्रीकृष्ण डंगोलले जानकारी दिए । ‘तीन महिनाअघि नै प्रशिक्षण दिन सुरु गरेका थियौं,’ उनले भने, ‘तर यही बेला कोरोनाको संक्रमण बढ्यो । निषेधाज्ञा जारी भयो । नाचका पूरै ताल सिकाउन भ्याइएन ।’

यो नाचमा बाजा, गीत र नृत्य गरी तीनवटा पक्ष हुन्छन् । बाजामा खिं, नापखी धा, ता, मुस्या, छुस्या, छुवाली, मुवाली र जोगी बाजा हुन्छन् । जोगी बाजा पशुपति नाथबाट ल्याइन्छ । यी बाजामा पोख्त भएपछि मात्र गीत सिकाइन्छ । गीतमा चो, जति र परताल तीन वटा ताल हुन्छन् । गीत अनेक भाषामा हुन्छन् । ‘गीत न नेपाली, न नेवारी पाराको हुन्छ,’ समितिका सल्लाहकार परमानन्द शाक्यले भने, ‘कतै अवधि मिसिएको हुन्छ, कतै भोजपुरी, कतै नेपाली । गीतै फरक खालको छ । यस्तो गीत अन्त कतै गाइँदैन ।’

गीतका ध्वनि र लयले नृत्यको मुद्रा, ताल र भावभंगीमा प्रकट गर्छन् । नृत्यको सम्बन्ध पशुपतिनाथसँग जोडिएको छ । यो नृत्य पशुपतिनाथको शक्तिपीठमध्ये एक जयबागेश्वरीमा सुरु हुन्छ । पुजारीले जयबागेश्वरीको चाँदीको सिक्री शिवको रूप धारण गरेका नृत्यकारलाई लगाइदिएर नाच्न थालिन्छ । साँझको बत्ती बालेपछि अमालकोट कचहरी छेउकै जयबागेश्वरी डबलीमा सुरु हुने नाच देवपाटन क्षेत्रका टोल–टोल घुमाइन्छ । डबली डबलीमा नचाइन्छ । दोस्रो रात पशुपतिका मूल भट्टसहित चारै भट्टको घर–घरमा गएर नाचिन्छ । तेस्रो रात पशुपति क्षेत्रका गुहेश्वरी, चाबहिल गणेश, चारुमती विहारलगायत मुख्य ठाउँमा नचाइन्छ । ‘अर्को वर्ष यी सबै विधि पूरा गर्छौं,’ नृत्य गुरु कृष्णकाजी शाक्यले भने, ‘यो वर्ष नृत्य ब्युँतायौं है भन्ने सन्देश दिने उद्देश्य हो ।’

यो झन्डै ताण्डव नृत्य जस्तै हुन्छ । गीत गाउने, बीच–बीचमा अभिनय गर्ने पनि हुन्छ । ताण्डव नृत्यमा जस्तै महादेव उफ्रिन्छन् । अभिनय गर्दागर्दै पार्वती हराउँछिन् । हराएकी पार्वतीलाई खोज्दै शिव यताउता भौंतारिन्छन् । पार्वती खोज्ने क्रममा नृत्य हेर्न आएका महिलालाई यही नै पार्वती हो भन्दै बोलाउँछन् । हराएकी पार्वती खोज्दा–खोज्दै शिव भावविह्वल हुन्छन् । छाती पिट्छन् । र्‍याल काढ्छन् । आँसु झार्छन् । भावविह्वल बनेकै बेला पार्वती आइपुग्छिन् । शिव खुसी हुन्छन् । हराउँदा पाएको दुःख सम्झेर शिव फेरि रिसाउँछन् । किन हराइस् भनेर पार्वतीलाई कुट्छन् । अन्तिममा भने दुवै मिल्छन् । एकअर्कालाई चुम्बन गर्दै कथा सकिन्छ । ‘अभिनय गर्दा पनि गीतकै धुन बजेको हुन्छ,’ कृष्णकाजीले भने, ‘रोमाञ्चक हुन्छ वातावरण ।’

कुलचन्द्र कोइरालाको पुस्तक ‘नेपालका आराध्य देव भगवान् पशुपतिनाथ’ मा उल्लेख भएअनुसार नागेचा प्याखँले किरातकालीन सभ्यताको झल्को दिन्छ । ‘नृत्यका विभिन्न विधाको विकास इसापूर्वका सहस्राब्दीमा नै भइसकेको हुँदा शिवपार्वती नृत्यलाई पुरातनकालकै देन भन्न सकिन्छ,’ कोइरालाले लेखेका छन् । नृत्यको प्रचलन परापूर्व कालमा भए पनि यसलाई चाहिने खर्चको व्यवस्थापन गर्न भने पहिलो पटक गीर्वाणयुद्ध विक्रम शाहको पालामा थालिएको हो । गीर्वाणयुद्धको विसं १८७० को लालमोहरमा यो नृत्यका लागि चौध मोहर छुट्याएको उल्लेख छ । त्यतिबेला शिव पार्वती नृत्यलाई भन्दा कम छुट्याएको बत्स्लेश्वरी जात्राको खर्च पशुपति क्षेत्र विकास कोषले बढाएर २० लाख रुपैयाँ पुर्‍याएको छ । ‘बत्स्लेश्वरीलाई त्यत्रो बढाउँदा शिवपार्वतीलाई एक लाख मात्र पुर्‍याइएको थियो,’ कोषका पूर्वसदस्य सचिव परमानन्द शाक्यले भने, ‘नृत्य रोकिनुका धेरै कारण छन् । तीमध्ये मुख्यचाहिँ खर्चकै अभाव हो ।’

एकपटक छानिएका शिवपार्वतीले ५ वर्षसम्म नाच्छन् । त्यसपछि अर्को पुस्ता तयार गर्नुपर्छ । अर्को पुस्ता तयार गर्न सिकाउनुपर्छ । त्यसका लागि खर्च लाग्छ । २०६९ सालमा नयाँ पुस्ता तयार गर्नुपर्ने भयो । प्रशिक्षण दिइयो । प्रशिक्षण दिँदा ५ लाख खर्च भयो । तर कोषले खर्च दिएन । उल्टै १ लाखको नाचलाई ५ लाख दाबी गरेको भनेर प्रचार भएपछि त्यसबाट रुष्ट भएका सरोकारवालाले नृत्य गर्नै छाडिदिए । ‘पशुपति क्षेत्रमा शिव पार्वती नाचै रोकिँदा कोषले वास्ता गरेन,’ शाक्यले भने, ‘अब भएन, हामीले गर्नैपर्छ भनेर जाग्यौं । काठमाडौं महानगरमा सहयोगको प्रस्ताव राख्यौं । महानगरले १० लाख रुपैयाँ दिने भयो । अनि हराइसकेको यो नाच ब्युँताउन सफल भएका छौं ।’

प्रकाशित : भाद्र २५, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?