कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

यसपालि पनि मलको हाहाकार

रोपाइँका बेला मल नपाएका किसानले हिउँदे तरकारी, तोरी र गहुँका लागि समेत दुःख पाउने सम्भावना 
प्रदेश ब्युरो

काठमाडौँ — रूपन्देहीको सम्मरीमाईका सन्दीप त्रिपाठी एक सातादेखि मल खोज्न सहकारी धाइरहेका छन् । ८ बिघा खेतका लागि युरिया चाहिएकामा सहकारीले १ बोरा मात्र उपलब्ध गरायो । आफूलाई त्यतिले नपुग्ने भएपछि उनी भारतीय बजार जाने योजनामा छन् । ‘धानले बाला हाल्ने बेला भइसक्यो,’ उनले भने, ‘अहिले मल नपाइए राम्ररी पसाउँदैन ।’

यसपालि पनि मलको हाहाकार

‘१ व्यक्ति १ बोरा मल’ नाराका साथ सहकारीले मल वितरण गरिरहेको छ । तर किसानले पर्याप्त पाउन सकेका छैनन् । कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख देवेशकुमार मिश्रा किसानबाट गुनासो नआएको जिकिर गर्छन् । ‘हिउँद लागेपछि किसानलाई युरिया मल चाहिन्छ,’ उनले भने, ‘एकैपटक माग हुँदा अभाव भइहाल्छ नि ।’ कृषि सामग्री कम्पनी लिमिटेड भैरहवामा भने पोटासबाहेक कुनै पनि मल सञ्चित छैन । सहायक प्रबन्धक एवं सूचना अधिकारी गणेशप्रसाद घिमिरेले असोज अन्तिमतिर मात्रै मल आउन सक्ने बताए । केन्द्रदेखि खरिद नै हुन नसकेकाले मल स्टक नरहेको उनको भनाइ छ । ‘धान पसाउँदा किसानले युरिया माग गर्छन्,’ उनले भने, ‘स्टक रित्तिएको अवस्था छ, मल कहिले आउने हो, भन्न सक्दैनौं ।’

कैलाली र कञ्चनपुरका किसानलाई पनि यतिखेर मल चाहिएको छ । तर सहकारी संस्थाहरूलाई मल उपलब्ध गराउने कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीको गोदाम साउनदेखि रित्तो छ । ‘केन्द्रीय गोदाम भैरहवामा पनि मल छैन । कहिले आइपुग्ने हो टुंगो छैन,’ कार्यालय प्रमुख नवसिंह बोगटीले भने ।

सुदूरपश्चिमका लागि डीएपी ६ हजार र युरिया ५ हजार मेट्रिक टन माग रहेको उनको भनाइ छ । ‘गहुँ खेतीका लागि मागभन्दा बढी आवश्यक पर्छ,’ उनले भने, ‘गहुँका लागि एक महिनापछि युरिया र डीएपी चाहिने हो । अहिले तरकारीका किसानलाई मल आवश्यक छ ।’ मल बितरण गर्ने सहकारीमा दिनदिनै धाए पनि किसान रित्तो फर्कनुपर्ने अवस्था छ । स्थानीय गंगाराम चौधरी किसानले कहिल्यै समयमा मल नपाउने गरेको गुनासो गर्छन् । ‘धान रोप्नुअघि चाहिने डीएपी र पोटास पाइँदैन,’ उनले भने, ‘धान हुर्काउने बेला पनि युरिया पाउने टुंगो हुँदैन ।

तोरी र गहुँलाई पनि अभाव हुँदै

कञ्चनपुरमा तोरी र गहुँका लागि पनि रासायनिक मल अभाव हुने देखिएको छ । धान रोपाइँका बेला मल नपाएका किसानले हिउँदे तरकारीलगायत तोरी र गहुँका बेला समेत मल अभाव झेल्नुपर्ने देखिन्छ । कञ्चनपुरमा मल बिक्री गर्ने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ दुवैका गोदाम रित्ता छन् । तत्काल मल आउने सम्भावना पनि छैन । ‘केही दिनअघिसम्म युरिया थियो, अहिले पोटासबाहेक छैन,’ कम्पनी महेन्द्रनगरका प्रमुख बलबहादुर शाहले भने । कञ्चनपुरमा ५० हजार हेक्टरमा धान खेती गरिन्छ । महेन्द्रनगरस्थित साल्ट ट्रेडिङको गोदाम असारदेखि रित्तो छ । जेठमा आएको मल रोपाइँका बेला सकिएपछि गोदाम खाली भएको हो । कार्यालय प्रमुख दीपक भट्टले भने, ‘जताततै हाहाकार छ, हामीले गहुँको कोटा पनि रोपाइँकै बेला बिक्री गरिसक्यौं ।’

धान पसाउने बेला पनि रासायनिक मल आवश्यक पर्छ । फूल लाग्ने बेला युरिया र सिँचाइ चाहिन्छ । नत्र २५ प्रतिशतसम्म उत्पादनमा ह्रास आउने कृषि प्राविधिक बताउँछन् । अहिले धान पसाउने र फूल लाग्ने समय हो । कञ्चनपुरमा करिब ३६ हजार हेक्टरमा गहुँ खेती गरिने कृषि ज्ञान केन्द्र प्रमुख डा. दिलबहादुर विष्टले बताए ।

चितवनमा त युरिया वितरण नै हुन छाडेको छ । एक सातायता जिल्लामा युरिया वितरण नभएको कृषि सामग्री कम्पनी भरतपुर शाखाका प्रमुख राजन बगालेले बताए । ‘सय टन मल भए वितरण गरौंला भनेको स्टोरमा जम्मा ५० टन छ । कसलाई दिने, कसलाई नदिने ?’ उनले भने ।

यो बेला चितवनमा मासिक तीन–चार सय टन युरिया मल आवश्यक पर्ने उनले बताए । आधाभन्दा बढी खेतमा युरिया राख्न नपाएको पूर्वी चितवन कठारका किसान कृष्ण अर्यालले गुनासो गरे । आउँदो बालीमा पनि मल राख्न नपाइने हो कि भन्ने चिन्ता उनीजस्ता अरू किसानलाई पनि छ । असोज–कात्तिकमा आलु रोप्ने समय सुरु हुन्छ । ‘त्यसबेला १२/१३ क्विन्टल युरिया त मलाई चाहिन्छ,’ अर्यालले भने, ‘युरिया नभए आलु रोप्नु बेकार हुन्छ ।’

चितवनमा मल संकट नौलो होइन । यहाँ युरियासहित डीएपी र पोटास वर्षमा ३० हजार टन चाहिनेमा एकतिहाइ मात्रै आपूर्ति हुने गरेको छ । ‘जिल्लामा युरिया मात्रै वार्षिक १५ हजार टनजति चाहिन्छ । हाम्रो कम्पनी र साल्ट ट्रेडिङबाट पाँच हजार टन आउँछ,’ कम्पनीका भरतपुर शाखा प्रमुख बगालेले भने । युरिया पर्याप्त मौज्दात नहुँदा धानमा हाल्न नपाइने हो कि भन्नेमा सिन्धुलीमा किसान पिरोलिएका छन् । रोपाइँको सिजनमा अभाव खेपेका उनीहरू गोड्ने बेलामा पनि हाल्न नपाइने चिन्तामा छन् । ‘पहिला नै खरिद गरेर राख्ने कुरा भएन,’ कमलामाई नगरपालिका–१० का रामहरि ढुंगेलले भने ।

साल्ट ट्रेडिङ विराटनगरको गोदाम रित्तो

काभ्रेमा भने थोरै मात्रै मौज्दात रहेको कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेलले जनाएको छ । कम्पनीकी स्टोरकिपर कालिका न्यौपानेका अनुसार बुधबारसम्म १४ टन युरिया, १५ दशमलव ३ सय टन पोटास र २२ दशमलव ६७५ चुन मात्रै मौज्दात छ । डीएपी मल भने गोदाममा नभएको न्यौपानेले जानकारी दिइन् । उनका अनुसार स्थानीय पालिकाको सिफारिसको आधारमा धुलिखेल वीरगन्जस्थित गोदामबाट जिल्लाका विभिन्न सहकारीले भदौमा ८ सय टन युरिया र डीएपी ल्याएका छन् । धुलिखेलस्थित गोदामबाट साउनयता ३ सय ७८ टन युरिया बिक्री भएको छ । डीएपी, पोटास र चुन गत वर्षकै मौज्दातबाट बिक्री गरिएको हो । दसैंअघि नै चीनबाट तातोपानी नाका हुँदै ४ हजार टन युरिया र ३ हजार टन डीएपी आउने न्यौपानेले बताइन् ।

नुवाकोटमा बर्सेनि मलको हाहाकार हुने गरे पनि यो वर्ष अलि सहज छ । ‘अहिले त्यति समस्या छैन,’ कृषि सामग्री कम्पनी लिमिटेड त्रिशूली शाखा प्रबन्धक गोमादेवी राईले भनिन्, ‘युरिया किसानले लगिसकेका छन्, डीएपी आउने क्रममा छ ।’ धान लगायतका बालीलाई ३ हजार ५ सय २२ मेट्रिक टन मल किसानले लगिसकेको कम्पनीले जनाएको छ । त्यसैगरी डीएपी १९ सय मेट्रिक टन र पोटास १ सय ६ टन मल बिक्री भएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले सिन्धुलीका अलावा रामेछाप र दोलखामा पनि स्थानीय कृषि सहकारी संस्थामार्फत रासायनिक मल बिक्री गर्दै आएको छ । कामु शाखा प्रबन्धक नवराज महत ८२ बोरा युरिया र एक हजार ३ सय बोरा डीएपी मौज्दात रहेको बताउँछन् । ४ सय बोरा युरिया माग भएकाले प्राप्त भए माग र आपूर्तिको सन्तुलन मिलाउन सकिने उनको भनाइ छ ।

सिन्धुपाल्चोकमा भने कृषि सहकारीमार्फत सहुलियत मूल्यमै आवश्यक युरिया, डीएपी, पोटास र बीउ उपलब्ध गराइएको छ । जनप्रतिनिधिले सहकारीमार्फत कृषि सामग्री कम्पनी लिमिटडेकै मूल्यमा किसानलाई मल–बीउ दिन थालेका हुन् । कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरका नवरत्न गौतमका अनुसार अहिले युरिया ११ सय दशमलव ७५ मेट्रिक टन र पोटास ४६ दशमलव ५ मेट्रिक टन मौज्दात छ । किसानले मल प्रयोग गर्ने सिजन सकिएकाले आउँदो सिजनका लागि मल ल्याउने तयारी गरेको उनले बताए । कम्पनीको क्षेत्रीय कार्यालय विराटनगरबाट मोरङका लागि कृषि मल वितरण हुन्छ ।

कम्पनीका लहान, राजविराज, गाईघाट, इटहरी, धनकुटा, बिर्तामोड र इलामस्थित कार्यालयबाट प्रदेश १ का १४ र प्रदेश २ का सिरहा, सप्तरी गरी १६ जिल्लामा कृषि मल आपूर्ति हुने गरेको छ । साल्ट ट्रेडिङ विराटनगरका प्रमुख राधेश्याम चौधरीले बुधबारसम्म सबै मल सकिएर गोदाम रित्तिएको बताए । उनले अहिले कृषि मल प्रयोग गर्ने सिजन समाप्त भइसकेकाले आउँदो सिजनका लागि १५/२० दिनमा मल आइपुग्ने दाबी गरे ।

-सन्जु पौडेल (लुम्बिनी), मोहन बुढाऐर (धनगढी), भवानी भट्ट (कञ्चनपुर), रमेशकुमार पौडेल (चितवन), देवनारायण साह (मोरङ), राजकुमार कार्की (सिन्धुली), अनिश तिवारी (सिन्धुपाल्चोक) र सुवास बिडारी (हेटौंडा)

प्रकाशित : भाद्र २५, २०७८ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?