१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अन्नभण्डारमै छैन मल 

प्रदेश २ ब्युरो

जनकपुर — माग र आपूर्तिको सन्तुलन नमिल्दा मल छर्ने मुख्य सिजनमै युरिया मलको चरम अभाव झेल्नुपरेको छ । कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालय वीरगन्जमा छ, तर पर्सामै मलको अभाव छ ।

अन्नभण्डारमै छैन मल 

वीरगन्ज–२३ प्रसौनीका किसान विजय कोइरीले आफ्नो १ बिघा धान खेतका लागि ५ बोरा युरिया मल आवश्यक रहेकामा १ बोरा मात्र जोहो गर्न सकेको बताए । ‘सहकारीहरूले मल दिँदैनन्, कालोबजारीले महँगोमा बिक्री गर्छन्,’ उनले भने । केही सहकारीले किसानलाई मल वितरण नगरी बारा र रौतहटका कालोबजारीलाई प्रतिबोरा १ हजार १ सयदेखि १ हजार २ सय रुपैयाँमा बेच्ने गरेको किसान बताउँछन् । यसरी १ बोरामै ३ सय ५० रुपैयाँसम्म नाफा लिइरहेको उनीहरूको भनाइ छ ।

जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिवकुमार साहले भने सहकारीहरूले कालोबजारी गरेको गुनासो हालसम्म नआएको दाबी गरे । तर कृषि कम्पनी वीरगन्ज क्षेत्रीय कार्यालय प्रमुख गोरखनाथ केसी पर्साकै केही सहकारीले मलको कालोबजारी गरी गैरजिल्लाका मल व्यापारीलाई मल बेचेको गुनासो आफूसम्म आएको बताउँछन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनले युरिया नल्याएपछि त्यसको दबाब कम्पनी एक्लैमाथि पर्न गएको केसी बताउँछन् । ग्लोबल टेन्डरबाट ३१ हजार मेट्रिक टन युरिया आयातको ठेक्का पाएको स्विस सिंगापुर कम्पनीको मल हाल सिपमेन्टमा रहेकाले उक्त मल आउन करिब १ महिना लाग्ने उनले बताए । कम्पनीको वीरगन्ज कार्यालयले प्रदेश १, २ र वाग्मती प्रदेशका डेढ दर्जनभन्दा बढी जिल्लामा मल वितरण गर्दै आएको छ ।

सप्तरीको छिन्नमस्ता–७ का किसान उमेशप्रसाद यादवले खेतमा धान लहलहाउँदा पनि मल नपाएको गुनासो गरे । रोप्ने र हुर्किएको बेला हरेक वर्ष मलको अभाव हुने गरेको उनीजस्ता आमकिसानको गुनासो हो । कृषि सामग्री कम्पनी लिमिटेड राजविराजका निमित्त प्रबन्धक सोनेलाल मुर्मुका अनुसार किसानको मागअनुसार मलको आपूर्ति हुन सकिरहेको छैन ।

मल नपाउँदा किसान लुकीचोरी भारतबाट ल्याउन बाध्य छन् । कृषि ज्ञान केन्द्र गौरका अधिकृत अशोककुमार सिंहले धान रोपेको ५० देखि ६० दिनभित्र गजाउने र बाला पसाउने हुँदा मल अत्यन्तै आवश्यक पर्ने बताए । रैथाने धानमा चाँडै रोग लाग्ने र मल अभाव हुने भएकाले पछिल्ला वर्ष धान खेती गर्ने किसान घट्दै गएका छन् ।

प्रकाशित : भाद्र २५, २०७८ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?