परिवारका ६ जनाको हत्यामा प्रहरीले अझै भेटेन ‘क्लु’

सीआईबीदेखि प्रदेश र जिल्ला प्रहरीसम्म परिचालित भए पनि घटनामा संलग्न कोही पक्राउ पर्न सकेनन्
दीपेन्द्र शाक्य

संखुवासभा — मादी नगरपालिका–१ मा भएको सामूहिक हत्याको चार दिन बित्दा पनि प्रहरीले ‘क्लु’ भेटेको छैन । घटनास्थलमा खटिएका संघदेखि जिल्लासम्मका प्रहरीका चार टोलीले अनुसन्धान सकारात्मक रहेको बताउँदै आएका छन् तर कसैलाई पक्राउ गर्न सकेका छैनन् । 

परिवारका ६ जनाको हत्यामा प्रहरीले अझै भेटेन ‘क्लु’

घटनाकै दिनबाट संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको विशेष प्रहरी टोली घटनास्थलमा छ । त्यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, प्रदेश प्रहरी कार्यालयको टोली तथा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चैनपुरको टोली अनुसन्धानमा खटिएको छ ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी पनि घटनास्थलमा पुगेका छन् । यति धेरै प्रहरी परिचालन भए पनि घटनाको चार दिनसम्म हत्यामा संलग्न व्यक्ति भेटिएको छैन । घटनाको ‘क्लु’ पत्ता लागेको प्रहरी स्रोतले बताएको छ तर अनुसन्धानमा खटिएका प्रहरीले केही खुलाएका छैनन् । हत्याको कारण र हत्यारा फेला नपर्दा सर्वसाधारणमा त्रास बढेको मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपले बताए । प्रहरीले भने प्राविधिक कोणबाटै केही प्रमाण भेटिने आशामा अनुसन्धान गरिरहेको दाबी गरेको छ ।

घटनाअघिको सात दिन र घटनापछिको २४ घण्टाको कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषण गर्दा ठोस उपलब्धि हात नपरेको अनुसन्धान अधिकृतहरूले बताएका छन् । घटनास्थलदेखि करिब १० किलोमिटर रेन्जमा रहेको दुईवटा बीटीएस टावरबाट कनेक्ट भएका करिब सयभन्दा बढी सक्रिय मोबाइल नम्बरको विश्लेषण गर्दा शंकास्पद केही नदेखिएको प्रहरी स्रोत बताउँछ । त्यस क्षेत्रमा एनसेल र एनटीसीको सेवा विस्तार भए पनि मृतक तेजबहादुर कार्कीको घर आसपास दुवै नेटवर्कको रेन्ज कम छ ।

कार्कीको घरदेखि केही माथि डाँडामा उक्लिएपछि मात्र दुवैको नेटवर्क राम्रो टिप्ने गर्छ । सीडीआरको १६ वटै विधिको रिपोर्टअनुसार घटना घटेको सात दिनभित्र केही नयाँ व्यक्तिहरू गाउँमा आए पनि प्रत्येकलाई सोधपुछ गर्दा हत्यासँग अहिलेसम्म कुनै कनेक्सन भेटिएको छैन ।

अनुसन्धान टोलीले परिवारका तीन जनाले प्रयोग गर्ने तीन वटा मोबाइलसमेत घटनास्थल र घरबाट बरामद गरिसकेको छ । प्राविधिक पाटोमा सहयोग गर्न सीआईबीबाट डीएसपी रुगम कुँवर नेतृत्वको टोली पनि यति बेला घटनास्थलमै खटिएको छ । प्रहरीको संयुक्त अनुसन्धान टोलीले दर्जनौं व्यक्तिलाई बोलाएर बयान लिइसकेको छ । घटनापछि गाउँबाट हराएका व्यक्तिबारे प्रहरीले सोधीखोजी गरिरहेको छ ।

मादी नगरपालिका–१ का ६ जनाको हत्या गरिएको अवस्थामा गत सोमबार बिहान शव फेला परेको थियो । तेजबहादुर, उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमाको बीभत्स रूपमा हत्या भएको थियो ।

प्रकाशित : भाद्र २५, २०७८ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?