वैधानिकताको डर

निर्वाचन आयोगलाई कांग्रेसको पत्र : भदौ १८ गतेबाट अधिवेशन सुरु गर्‍यौँ 

काठमाडौँ — साढे पाँच वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाबमोजिम गर्न नसकेको कांग्रेसले निर्वाचन आयोगलाई पत्राचार गर्दै अधिवेशनको प्रक्रिया सुरु गरेको जानकारी गराएको छ । 

निर्वाचन आयोगलाई कांग्रेसको पत्र : भदौ १८ गतेबाट अधिवेशन सुरु गर्‍यौँ 

बुधबार कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले आयोगलाई पत्राचार गर्दै भदौ १८ गतेबाट अधिवेशन सुरु गरेको जानकारी गराएका छन् । ‘१४औं महाधिवेशन सुरु भइसकेको छ । भदौ १८ गतेबाट अधिवेशन सुरु गर्‍यौँ । महामारीका कारणले केही ढिला हुन गएको हो भनेर जानकारी गराएका छौँ,’ केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘महामन्त्रीज्यूले महाधिवेशनको कार्यतालिकासहितको जानकारी पत्र आयोगलाई पठाउनुभएको छ ।’ पौडेलले पत्रमार्फत महामारीका बीच स्वास्थ्य मापदण्ड पालना गर्दै अधिवेशनलाई अघि बढाएको जानकारी गराएको बताए ।

निर्वाचन आयोगले पनि कांग्रेसले अधिवेशन सुरु गरेको जानकारी गराएको जनाएको छ । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले कांग्रेसले भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु गर्दै महाधिवेशनको प्रक्रिया प्रारम्भ गरेको जानकारी आएको बताए । ‘निर्वाचन आयोगले कुनै निर्णय गरेको छैन । तर, खाली कांग्रेसले भदौ १८ गतेदेखि अधिवेशनको प्रारम्भ गरेको छ भन्ने जानकारी आयोगलाई भएको छ,’ धमलाले भने ।

संविधानको धारा–२६९ (४) को (ख) बमोजिम राजनीतिक दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन पाँच वर्षभित्र गरिसक्ने व्यवस्था हुनुपर्ने, यदि त्यो मितिमा हुन नसकेमा थप ६ महिना म्याद थप गर्न बाधा नपर्ने व्यवस्था छ । त्यस्तो निर्वाचनको अद्यावधिक विवरण निर्वाचन आयोगमा नबुझाए दलको वैधतामाथि प्रश्न उठ्छ । त्यसआधारमा कांग्रेसको साढे पाँच वर्षे कार्यकाल भदौ २३ अर्थात् बुधबारबाट सकिएको छ ।

कांग्रेसले संविधानको त्यही व्यवस्था छल्न क्रियाशील सदस्यताको विवाद टुंगो नलगाउँदै महामारीकै बीचमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याएको थियो । कांग्रेसले १३ औँ महाधिवेशन २०–२३ फागुन, ०७२ मा गरेको थियो । त्यसआधारमा कांग्रेसको अधिवेशन चार वर्षभित्र अर्थात् २३ फागुन ०७६ फागुनमा भइसक्नुपर्ने थियो । तर, सभापति शेरबहादुर देउवाले विधानको विशेष अवस्थामा एक वर्ष कार्यकाल लम्ब्याउन सकिने व्यवस्थालाई टेकेर त्यसबेला सामान्य अवस्थामै एक वर्ष कार्यकाल थपेका थिए । ०७७ फागुन ७–१० कालागि १४ औँ महाधिवेशनको मिति तोकिएको थियो । तर, त्यो मितिमा पनि महाधिवेशन हुन सकेन ।

क्रियाशील सदस्यता वितरण र नवीकरण नसकिएपछि महाधिवेशन प्रभावित भएको थियो । त्योसँगै कांग्रेसको विधानको पाँच वर्षे हद म्याद सकियो । त्यसपछि ६ फागुनमा संविधानको ६ महिना थप गर्न सकिने व्यवस्थाबमोजिम कांग्रेसले विधान संशोधन गर्‍यो, र ०७८ भदौ ७–१० का लागि महाधिवेशन तोक्यो । त्यो कार्यतालिकामा पनि क्रियाशील सदस्यताको काम अघि बढेन । ४ असारमा तेस्रो पटक महाधिवेशनको मिति तोकियो, १६–१९ भदौका लागि । तर, क्रियाशील सदस्यता विवादकै कारण महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसले चौथोपटक महाधिवेशनको मिति सारेर मंसिर ९–१३ सम्म धकेलेको छ । त्यही कार्यतालिकाअनुसार १८ भदौदेखि वडा अधिवेशन सुरु भएको छ । तर, अहिलेसम्म क्रियाशील सदस्यको टुंगो लगाउन नसक्दा २१ जिल्लाको अधिवेशन कहिले हुने भन्ने अनिश्चित छ ।

काठमाडौंसहित २१ जिल्लाका क्रियाशील सदस्यता टुंगिएको छैन । कांग्रेसले प्रदेश नं. २ का कुनै पनि जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाउन सकेको छैन । सो प्रदेशका आठ वटै जिल्लामा विवाद कायमै छ । क्रियाशील सदस्यको नामावली पनि सार्वजनिक भएको छैन । त्यस्तै, प्रदेश १ को मोरङ, वाग्मती प्रदेशका काठमाडौं, काभ्रे, रसुवा र सिन्धुपाल्चोक, लुम्बिनी प्रदेशका बाँके र बर्दिया, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेल्धुरा र कैलालीका क्रियाशील सदस्यको विवाद टुंगिएको छैन ।

मुख्यसचिव पौडेलले बिहीबार साँझसम्म थप ८–१० वटा जिल्लाको क्रियाशील सदस्यता टुंगो लाग्ने बताए । ‘सदस्यताको टुंगो लागेका ठाउँमा अपवादबाहेक अधिवेशन भइसकेको छ । अब बाँकी रहेका ठाउँको विषयमा पनि हामीले केही दिनभित्रै मतदाताको टुंगो लगाएर वडा अधिवेशनको प्रक्रिया अघि बढाउँछौँ,’ पौडेलले भने । कांग्रेसले पालिका तहको अधिवेशन २७ भदौमा गर्ने कार्यतालिका छ । तर, सबै वडाको अधिवेशन नै नसकिएका कारण पालिका तहको अधिवेशन हुने वा नहुने ? भन्ने टुंगो छैन ।

कांग्रेसले प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ । त्यस्तै, आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

प्रकाशित : भाद्र २४, २०७८ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?