कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

६ प्रदेशसभामा फुटको असर

सुदूरपश्चिममा एकीकृत समाजवादी बन्यो पहिलो दल, प्रदेश २ मा जसपा अगाडि, गण्डकीमा एमाले एकढिक्का
प्रदेश ब्युरो

काठमाडौँ — एमाले र जसपा विभाजन भई क्रमशः नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेसँगै त्यसको असर केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्मै पर्‍यो । निर्वाचन आयोगले दुवै नयाँ दल दर्ता गर्दै आफ्नो पक्ष स्पष्ट पार्न संघीय र प्रदेश सांसद तथा स्थानीय जनप्रतिनिधिलाई २१ दिन समय दियो । उक्त समय मंगलबार सकिएको छ । जसअनुसार प्रदेशहरूमा सत्ता समीकरण नै बदलिनेसम्मको अवस्था आएको छ ।

६ प्रदेशसभामा फुटको असर

एकीकृत समाजवादी सुदूरपश्चिममा पहिलो दल बनेको छ भने प्रदेश २ मा एमालेभन्दा ठूलो दल भएको छ । प्रदेश २ मै लोसपाले जसपालाई उछिन्न सकेन । प्रदेश १ र वाग्मतीमा एमाले सरकार अल्पमतमा परेको छ । गण्डकीमा एमाले फुटको कुनै असर परेन । लुम्बिनी र कर्णालीमा भने प्रदेशसभाको समीकरणमा सामान्य मात्रै बदलाव देखिएको छ ।

प्रदेश १ मा १० सांसदले छाडे एमाले

प्रदेश १ का १० जना एमाले सांसदले एकीकृत समाजवादी रोजेका छन् । उनीहरूले गत मंगलबार नै निर्वाचन आयोगको विराटनगरस्थित कार्यालयमा उपस्थित भई सनाखत गरेका थिए । जसका कारण भीमप्रसाद आचार्य नेतृत्वको प्रदेश सरकार एक सातामै अल्पमतमा पर्‍यो । ९२ सदस्यीय प्रदेशसभामा यसअघि ५१ सदस्यसहित एमालेको एकल बहुमत थियो ।

प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, राजन राई, पदमकुमारी गुरुङ, गणेशकुमार काम्बाङ, खिनु लङ्बा लिम्बू, सुनीताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, सावित्राकुमारी रेग्मी र उपेन्द्र घिमिरेले एमाले छाडेका हुन् । प्रदेशसभामा एकल बहुमत कायम राख्न एमालेले एकीकृत समाजवादीले निर्वाचन आयोगबाट कानुनी मान्यता पाएको भोलिपल्टै (भदौ १०) तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई हटाएर आचार्यलाई मुख्यमन्त्री चयन गरेको थियो ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्रकुमार राईले अब निर्वाचन आयोगले दल रोजेको कागजात पठाउनेबित्तिकै कांग्रेस, माओवादी केन्द्र, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धनसँग मिलेर सरकार निर्माणको प्रक्रिया सुरु गर्ने बताए । मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा विश्वासको मत लिने बताएका छन् । जसपा विभाजनको असर भने यो प्रदेशमा परेन । तीन जना सांसद रहेकामा सबै जसपामै बसेका हुन् ।

प्रदेश २ मा जसपा र एकीकृत समाजवादी बलियो

सातायता प्रदेश सांसद तानातान भए पनि जसपाका १६ जनाले मात्र लोसपा रोजेका छन् । प्रदेश २ मा उपेन्द्र यादव नेतृत्वको जसपा ठूलो दल बनेको छ । प्रदेशसभामा जसपाका ५४ सांसद रहेकोमा अब जसपातर्फ ३८ र लोसपातर्फ १६ सांसद बाँडिएका छन् । विगतमा महन्थ ठाकुर, राजेन्द्र महतोनिकट रहेका १० सांसद जसपामै बसेका हुन् । लोसपा सरकारमा जाने सम्भावना नभएपछि मन्त्री र अन्य पदको लोभमा परेका सांसदहरू जसपामा गएको लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले आरोप लगाए ।

एमालेका २१ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेपछि यो प्रदेशमा एमाले ८ मतमा खुम्चिएको छ । सांसद डिल्ली उप्रेतीले मंगलबार मात्रै एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । हाल १ सय ४ सदस्य रहेको प्रदेशसभामा कांग्रेसको १९, माओवादीको ८, संघीय समाजवादी पार्टी नेपालको १ मत छ भने १ स्वतन्त्र सांसद छन् । यसअघि माओवादीले ३ सांसद निलम्बन गरेको थियो ।

वाग्मतीका १३ सांसद एकीकृत समाजवादीतिर

वाग्मतीमा एमालेका १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् । राजेन्द्र पाण्डे, कृष्ण शर्मा खनाल, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, वसन्त मानन्धर, रमा आले मगर, मीना ज्ञवाली र कुसुमकुमार कार्की नयाँ दलतर्फ खुलेका हुन् ।

एमालेको एकल बहुमतको सरकारको नेतृत्व गरेको तीन सातामै १३ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार अल्पमतमा परेको छ । १ सय ९ सदस्यीय प्रदेशसभामा अब एमालेका ४३ मात्रै सांसद हुने भएका छन् । सरकार बनाउन ५५ सिट पर्याप्त हुन्छ । प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२, नेमकिपाका ३, विवेकशील साझाका ३, राप्रपाका २ र स्वतन्त्र १ सांसद छन् ।

विपक्षी गठबन्धनले नयाँ सरकार निर्माणको तयारी थालेको छ । भावी मुख्यमन्त्रीका रूपमा कांग्रेसका इन्द्रबहादुर बानियाँ र एकीकृत समाजवादीका राजेन्द्र पाण्डेको चर्चा छ । कांग्रेस र माओवादी केन्द्रसँग नमिले साना दललाई मात्र समेटेर एमालेले सरकार बनाउन सक्ने अवस्था छैन । ‘सरकारको नेतृत्व कुन पार्टीले गर्ने त्यो ठूलो विषय होइन । वाग्मतीमा अब नयाँ सरकार निर्माण हुन्छ,’ कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले भने ।

गण्डकी प्रदेशसभामा एकीकृत समाजवादी शून्य

एमाले विभाजनको असर गण्डकी प्रदेशसभामा देखिएन । एकीकृत समाजवादीमा गण्डकीका कोही पनि सांसदले सनाखत गरेनन् । यसअघि माधवकुमार नेपाल पक्षमा खुलेका बागलुङका सांसद इन्द्रलाल सापकोटा पनि एमालेमै बसेका छन् । नेपाल समूहले संगठन विस्तार गर्ने क्रममा उनलाई बागलुङको अध्यक्ष तोकेको थियो । त्यतिबेला पार्टीभित्रको गलत प्रवृत्तिविरुद्ध लडे पनि पार्टी नै विभाजन हुनु विडम्बना भन्दै उनी एमालेमै रहेका हुन् । प्रदेशसभामा एमालेका २७ सांसद छन् । एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रदेश र स्थानीय तह दुवैमा पार्टी एक ढिक्का रहेको दाबी गरे ।

लुम्बिनीमा एकीकृत समाजवादी रोज्ने एक जनामात्रै

लुम्बिनीमा एकीकृत समाजवादी पार्टी रोज्ने जनप्रतिनिधिको संख्या एक मात्रै भएको छ । प्रदेशबाट केन्द्रीयस्तरमा राजनीति गर्ने प्रभावशाली नेताले पनि एमाले नै रोजेपछि प्रदेश तहमा एकीकृत समाजवादी कमजोर बनेको हो । ८७ सदस्यीय प्रदेशसभामा एमालेका ३६ सांसद छन् । तीमध्ये पाल्पाकी रमा घर्तीले मात्र एमाले छोडेकी हुन् 

कर्णालीका तीन सांसदले पार्टी फेरे

कर्णाली प्रदेशसभाका तीन जना सांसदले एकीकृत समाजवादी रोजेका छन् । जुम्लाका सांसद पदमबहादुर रोकाया, रुकुम पश्चिमकी देवी ओली र मुगुका चन्द्रबहादुर शाहीले समाजवादीको पक्षमा सनाखत गरेका हुन् । योसँगै अब एमालेको सांसद संख्या सभामुखसहित १३ भएको छ । ४० सदस्यीय प्रदेशसभा हाल ३५ जनामा सीमित छ । माओवादी केन्द्रले १ जना र एमालेले ४ जनालाई निष्कासन गरेपछि प्रदेशसभा खुम्चिएको हो ।

सुदूरपश्चिमका १४ सांसद एमालेमा रहेनन्

सोमबार सांसद माया तामाङ बोहराले एमाले छाडेसँगै सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १४ पुगेको छ । योसँगै एकीकृत समाजवादी सबैभन्दा ठूलो दलसमेत बनेको छ । जसपाका २ जनामध्ये एक सांसद लोसपातर्फ खुलेका छन् । मंगलबार लोसपाको पक्षमा सनाखत गर्ने सांसद कैलालीकी कृष्ण चौधरी हुन् । नयाँ समीकरणसँगै अब एमाले प्रदेशसभामा चौथो दल बनेको छ । यसअघि एमालेमा २४ (सभामुखबाहेक) सांसद थिए । सभामुखसहित ५२ जना रहेको प्रदेशसभामा माओवादी केन्द्रका १३, कांग्रेसका १२ सांसद छन् ।

पालिकामा पनि बाँडिए जनप्रतिनिधि

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि नेकपा (एकीकृत समाजवादी) र लोसपा नयाँ दलका रूपमा दर्ता भए । यसको प्रभाव स्थानीय सरकारमा पनि परेको छ । निर्वाचन आयोगले नयाँ दलमा सनाखत गर्न तोकेको समय मंगलबारसम्ममा स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्मले नयाँ पार्टी रोजेका छन् ।

प्रदेश १ मा एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये जिल्ला समन्वय समिति (जिसस) र स्थानीय तहका गरी १८२ जनाले एकीकृत समाजवादी रोजेका छन् । जसमा जिसस प्रमुख २, उपप्रमुख ३ र सदस्य ५ जना छन् । सोलुखुम्बुका कसैले पनि पार्टी फेरेका छैनन् । प्रदेशका १३७ स्थानीय तहमध्ये ९२ स्थानीय तहमा एमालेबाट निर्वाचित ६७ प्रमुख तथा अध्यक्षमध्ये ५ जनाले मात्रै एकीकृत समाजवादी रोजेका छन् । यस्तै, ८१ उपप्रमुख तथा उपाध्यक्षमध्ये ५ र वडाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्य गरी १५५ जनाले एमाले छोडेका हुन् ।

प्रदेश २ मा ८ सय ६६ जना जनप्रतिनिधिले लोसपा रोजेका छन् । महोत्तरीमा सबैभन्दा बढी २ सय ५८ जना, सर्लाहीमा १ सय ३७, रौतहटमा ८८, बारामा १ सय ३८, पर्सामा २८, सप्तरीमा ९६, सिरहामा १२ र धनुषाका १ सय ९ जनाले लोसपाको पक्षमा सनाखत गरेका हुन् । एमालेबाट एकीकृत समाजवादीमा जाने जनप्रतिनिधिको संख्या भने यकिन हुन सकेको छैन ।

वाग्मतीमा उपत्यकाबाहेक १० जिल्लाका २ सय ४१ जनप्रतिनिधिले एमाले छाडेका छन् । जसमा सबैभन्दा बढी धादिङका ८५ जना छन् । काभ्रेमा ५६, मकवानपुरमा ३९ र चितवनमा ३६ जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । नवगठित पार्टी रोजेकामध्ये चितवनका ६ जनाले सनाखत फिर्ताका लागि निर्वाचन कार्यालयमा निवेदन दिएका छन् । नुवाकोटमा ९, दोलखामा ७, रामेछापमा ५, सिन्धुपाल्चोक र सिन्धुलीमा २/२ जनाले एकीकृत समाजवादी रोजेका छन् । रसुवाका स्थानीय तहमा भने एमाले एकढिक्का देखिएको छ ।

गण्डकीका स्थानीय तहमा एमाले फुटको असर न्यून देखिएको छ । सबैभन्दा बढी तनहुँबाट ५ वडाध्यक्षसहित १३ जना एकीकृत समाजवादीमा खुलेका छन् । स्याङ्जामा आँधीखोला गाउँपालिकाकी उपाध्यक्षसहित ७ जनाले एमाले छोडेका छन् । पूर्वी नवलपरासी, लमजुङ र मनाङमा फुटको असर परेन । कास्कीमा एमालेका २ सय ८२ जनप्रतिनिधिमध्ये ४ जनाले मात्रै पार्टी छोडेका छन् । गोरखामा ३, तनहुँमा १३, म्याग्दीमा ३ र मुस्ताङमा १ जना मात्रै नयाँ पार्टीमा लागेका छन् ।

लुम्बिनीका १ सय ९ स्थानीय तहमा २ उपप्रमुख, २ उपाध्यक्ष, ८ वडाध्यक्षसहित ७८ सदस्यले एकीकृत समाजवादी रोजेका छन् । १२ स्थानीय तह रहेको गुल्मीमा एकीकृत समाजवादीमा कोही पनि गएनन् । कपिलवस्तु, पाल्पा, पश्चिम नवलपरासीमा यो संख्या १/१ मात्रै छ । बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, पश्चिम नवलपरासीमा केही वडाध्यक्षले समाजवादी रोजेको उक्त पार्टीकी केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरेले बताइन् । त्यस्तै, जसपा फुटेर बनेको लोसपा रोज्नेमा रूपन्देहीका १९ जनप्रतिनिधि छन् ।

कर्णालीमा ३ सय ४० जनप्रतिनिधिले एमाले छाडेर एकीकृत समाजवादी रोजेका छन् । सुर्खेतमा १५, रुकुम पश्चिममा ३, सल्यानमा ६४, डोल्पामा ४२, जुम्लामा ४४, मुगुमा २८, हुम्लामा ६ र जाजरकोटमा १० जनाले एकीकृत समाजवादी रोजेका हुन् ।

सुदूरपश्चिमका ८८ स्थानीय तहका २ सय १० जनप्रतिनिधिले एमाले छोडेका छन् । कञ्चनपुरमा ५१ जनाले नयाँ पार्टी रोजेकोमा ३ जनाले सनाखत फिर्ताको निवेदन दिएका छन् । कैलालीमा ६५, डडेलधुरामा २, बझाङमा २४, डोटीमा ४, बाजुरामा ९ र दार्चुलामा २ जनाले एमाले छोडेका छन् । अछाममा नयाँ पार्टी रोज्नेको संख्या २७ छ । बैतडीमा ५ वडाध्यक्षसहित २८ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

-देवनारायण साह (मोरङ), सन्तोष सिंह (धनुषा), सुवास बिडारी (मकवानपुर), लालप्रसाद शर्मा (पोखरा), घनश्याम गौतम (रूपन्देही), ज्योति कटुवाल (सुर्खेत) र अर्जुन शाह (धनगढी)

प्रकाशित : भाद्र २३, २०७८ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?