कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३६

स्वास्थ्य प्रणालीलाई सुदृढ पार्ने दक्षिण–पूर्वी एसियाली मुलुकको प्रतिबद्धता

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्र अन्तर्गतका राष्ट्रहरूले स्वास्थ्य प्रणालीलाई थप सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्वास्थ्य प्रणालीलाई सुदृढ पार्ने दक्षिण–पूर्वी एसियाली मुलुकको प्रतिबद्धता

नेपालको आयोजना र अध्यक्षतामा विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको सोमबारदेखि सुरु भएको चौहत्तरौं बैठकको दोस्रो दिन स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्त गर्न र स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि उक्त घोषणा गरेका हुन् ।

मन्त्रीस्तरीय गोलमेचमा अनुमोदन गरिएको उक्त घोषणामार्फत् सदस्य राष्ट्रहरूले स्वास्थ्य सुरक्षा अभिवृद्धि गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच र स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यहरूतर्फ प्रगति गर्नका लागि आवश्यक राजनीतिक नेतृत्व र जवाफदेहिता प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

महामारीले स्वास्थ्य र त्यसमा पनि प्राथमिक स्वास्थ्य सेवाको तहको जनशक्तिमा लगानी गर्नुको महत्व र अत्यावश्यकतालाई प्रष्ट पारिदिएको जनाउँदै डब्लूएचओ, दक्षिण–पूर्वी एसियाका निर्देशक डा.पुनम खेत्रपाल सिंहले भनिन्, ‘जनस्वास्थ्य सम्बन्धी आपतकालको समयमा प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न र उत्थानशील स्वास्थ्य प्रणालीहरू निर्माण गर्नका लागि सुपथ, प्रभावकारी, गुणस्तरीय र सुरक्षित स्वास्थ्य सामग्रीहरू पर्याप्त मात्रा आवश्यक पर्ने कुरा पनि यस महामारीले देखाएको छ ।’

दक्षिण पूर्व एसियाका सदस्य राष्ट्रहरूले प्राथमिक स्वास्थ्य स्याहारको तहमा मानसिक स्वास्थ्य तथा अन्य रोग लगायतका नसर्ने रोगहरूलाई समाहित गर्ने, प्राथमिक स्वास्थ्य स्याहारका सेवाहरूका लागि राष्ट्रिय गुणस्तर मापदण्डहरू स्थापना गर्ने र महामारी तथा पुनरुत्थानको समय गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाएका छन् । परम्परागत औषधि प्रणालीहरूको सम्भाव्यताको उचित उपयोगसँगै डिजिटल स्वास्थ्य प्रविधिमा भएका नयाँ अविष्कारहरूको पनि उपयुक्त उपयोग गर्ने सहमति सदस्य मुलुकले जनाएका छन् ।

भर्चुअल माध्यमवाट सञ्चालन भइरहेको पाँच दिने बैठकमा नेपाल, भारत, भुटान, बंगलादेश लगायत दक्षिण पूर्व एसियाका ११ वटा सदस्य राष्ट्रहरु रहेका छन् । पछिल्लो पटक सन् २००९ मा नेपालले यस क्षेत्रीय समितिको सत्र सञ्चालन गरेको थियो ।

प्रकाशित : भाद्र २२, २०७८ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालय सभा (सिनेट) बाट बजेट पास हुने तर प्रधानमन्त्रीको निर्देशन पश्चात् प्रस्तावित नीति तथा कार्यक्रम चाहिँ पेस हुन नसक्नुलाई के भन्नुहुन्छ ?

×