३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

संखुवासभा सामूहिक हत्या : शव पोष्टमार्टमका लागि बीपी प्रतिष्ठान पठाइयो

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको मादी नगरपालिका–१ स्थित खोलागाउँबाट ६ जना मृतकको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार मृतको शव मुचुल्का गरेर पोष्टमार्टमका लागि मंगलबार धरान पठाइएको हो । उनीहरुको शव घटना घटेको २४ घन्टापछि मात्रै उठाइएको थियो । 

संखुवासभा सामूहिक हत्या : शव पोष्टमार्टमका लागि बीपी प्रतिष्ठान पठाइयो

हत्यापछि घटनास्थल पुगेका प्रहरीले अनुसन्धान सकारात्मक भएको दाबी गरेको छ । हत्याको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान तल्लो तहमा पुगिसकेको जनाएको छ ।

घटना संलग्न नउम्किउन् भनेर प्रहरीले सतर्कता भने धेरै अपनाएको जनाएको छ । घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा सोमबारबाटै निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । गाउँबाट कसैलाई पनि छिमेकी जिल्ला जान नदिइएको उनले बताए ।

घटनास्थलमा तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको सूक्ष्म अनुसन्धान भइरहेको मात्रै प्रहरीले प्रतिक्रिया दिएको छ । घटनामा संलग्न र घटनाको वास्तविकता चाँडै बाहिर ल्याउने प्रहरीले जनाएको छ ।

सामूहिक हत्या भएको संखुवासभाको मादी–१ खोलागाउँस्थित तेजबहादुर कार्कीको घर ।

यसैबीच थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)बाट प्रहरी नायब उपरीक्षकको टोली खटिएको छ । प्रहरी नायब उपरीक्षक रुकमबहादुर कुँवरको नेतृत्वमा ३ जनाको टोली घटना स्थल आएको हो । टोली मंगलबार साँझसम्म घटनास्थल पुग्ने छ । लगातारको वार्षात्‌ले कच्ची सडक हिलाम्मे भएकाले टोलीलाई घटनास्थल पुग्न समय लाग्ने छ । टोली घटनास्थल पुग्नासाथ थप अनुसन्धान गर्ने छ ।

मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको थियो । तेजबहादुर कार्की उनका आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित : भाद्र २२, २०७८ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?