कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पशुपतिको जलहरीमा ११ केजी सुन घोटाला !

अख्तियारले लियो सदस्यसचिवसहित कोषका अधिकारीसँग बयान
भदौ १७ मा बयान छलेर बसेका थापालाई भोलिपल्टै पर्यटनमन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवाले सदस्यसचिवमा नियुक्त गरेका हुन्
मातृका दाहाल

काठमाडौँ — पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा करिब ११ केजी सुन घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित बहालवाला तथा पूर्वपदाधिकारीसँग बयान लिएको छ । वर्तमान सदस्यसचिव मिलनकुमार थापा र निवर्तमान सदस्यसचिव प्रदीप ढकालसहित जलहरी निर्माणमा संलग्न कोषका अधिकारीसँग अख्तियारले बयान लिएको हो ।

पशुपतिको जलहरीमा ११ केजी सुन घोटाला !

थप केही अधिकारीसँग बयान लिइने स्रोतको भनाइ छ । ढकाल चारवर्षे कार्यकाल सकिएपछि साउन ३१ मा कोषबाट बाहिरिएका थिए । थापा भदौ १८ मा सदस्यसचिव नियुक्त भएका थिए ।

अख्तियार उच्च स्रोतका अनुसार सोमबार सदस्यसचिव थापासँग जलहरी निर्माणमा भएको अनियमितता सम्बन्धमा करिब पाँच घण्टा बयान लिइएको छ । ‘जलहरी निर्माणमा भ्रष्टाचार भएको हो/होइन ? सुनको जलहरी बनाउँदा कति खर्च लाग्यो ? बाँकी रहेको सुन कहाँ छ ? लगायतका प्रश्नसहित आयोगले सदस्यसचिव थापासँग बयान लिएको हो । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जलहरी निर्माणमा भएको अनियमितता सम्बन्धमा आयोगले अनुसन्धान जारी राखेको बताए । तर, अनुसन्धानमा भएका विषयबारे अहिले नै केही भन्न नसकिने उनले जनाए ।

भदौ १२ मा कोषाध्यक्षको कार्यकाल सकिएपछि बाहिरिएका थापालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्बाट निर्णय गराएर भदौ १८ मा सदस्यसचिव नियुक्त गरेका थिए । अख्तियारले उनलाई जलहरी बनाउँदा भएको अनियमितताबारे बयानका लागि भदौ १७ मै बोलाएको थियो तर बिरामी भएको बहाना बनाएर गएनन् । अख्तियारले उनी सदस्यसचिव नियुक्त भएको दिन पनि बयानका लागि बोलाएको थियो तर सोमबार उपस्थित हुने भनेर उम्किएका थिए ।

‘मन्दिरमा सुनको जलहरी राख्दा थापा कोषाध्यक्ष थिए, त्यहीबेला उनी, तत्कालीन सदस्यसचिव प्रदीप ढकाललगायत पदाधिकारी र केही सदस्यमाथि अनुसन्धान अघि बढेको थियो,’ स्रोतले भन्यो, ‘भदौ १२ मा कार्यकाल सकिएलगत्तै बयानका लागि थापालाई पत्र काटिएकामा विभिन्न बहाना बनाएर उपस्थित भएनन् । खासमा सदस्यसचिव नियुक्त हुन लागेको भएर बयान छलेका रहेछन् ।’

आयोग स्रोतका अनुसार २०७७ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको दर्शन गरी मन्दिरमा सुनको जलहरी राख्न निर्देशन दिएका थिए । कोषले १ सय ८ केजी सुनको जलहरी राख्ने प्रक्रिया अघि बढायो । त्यसको सबै तजबिजी हालका सदस्यसचिव थापाले मिलाएका थिए । त्यसपछि जलहरी निर्माणको काम अघि बढाइएको थियो भने फागुन १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुनको जलहरी उद्घाटन भएको थियो ।

जलहरी बनाउनकै लागि कोषले राष्ट्र बैंकबाट करिब १ सय ३ केजी सुन खरिद गर्‍यो । २४ क्यारेटको सुन पगालेर २२ क्यारेटको बनाउन त्यसमा ३ प्रतिशत तामा र १ प्रतिशत चाँदी राखिएको अभिलेख छ । त्योसहित २२ क्यारेटको १ सय ८ केजी सुनको जलहरी तयार पारियो तर कोषको रेकर्डमा भने जलहरी बनाएको सुनको परिमाण ९६ केजी ८ सय २२ ग्राम भएको मुचुल्का उठाइएको छ ।

बाँकी रहेको करिब ११ केजी सुनको हिसाब गोलमाल भएपछि अख्तियारमा उजुरी परेको थियो । त्यसपछि अघि बढेको प्रारम्भिक अनुसन्धानमा जलहरी निर्माणमा अनियमितता भेटिएपछि अख्तियारले विस्तृत अनुसन्धान थालेको थियो । स्रोतका अनुसार जलहरी प्रकरणबाहेक कोषसँग सम्बन्धित अरू छुट्टाछुट्टै ११ वटा विषय पनि विस्तृत अनुसन्धानका क्रममा छन् । यस विषयमा भने स्रोतले केही खुलाउन चाहेन । ‘अहिले हामी जलहरीमा भएको अनियमितता छानबिनमा केन्द्रित छौं, यो सकेपछि बाँकीमा प्रवेश गर्छौं ।’

२०७७ माघ १२ मा तत्कालीन प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ पुगी ‘संकल्प पूजा’ गरेका थिए । कम्युनिस्ट नेता मन्दिरको दर्शनमा गएको भन्दै त्यसबेला उनका विरोधीले आलोचना पनि गरे । संकल्प पूजापछि कोषका पदाधिकारीसँग पशुपति क्षेत्रको अवस्थाबारे जानकारी लिएर ओलीले मन्दिरमा सरकारी खर्चमा करिब १ अर्ब रुपैयाँ बराबरको सुनको जलहरी राख्ने घोषणा गरे । त्यही दिन ओलीले कोषलाई ३० करोड रुपैयाँ तत्काल उपलब्ध गराउने बचन दिएका थिए ।

त्यसपछि कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकालले जलहरी राख्नेसम्बन्धी प्रक्रिया थाल्न त्यसबेलाका कोषाध्यक्ष मिलन थापाको संयोजकत्वमा समिति गठन गरे । समिति गठनपछि जलहरी निर्माण, सुन/नगद खर्च, कालिगड परिचालनलगायत आर्थिक खटनपटन कोषका सीमित पदाधिकारी तथा सदस्यको मात्रै संलग्नतामा अघि बढाइयो ।

फागुन ११ को राति ८ बजेतिर जलहरी राख्ने काम सकिएको जानकारी मात्रै खटनपटनमा सहभागी नभएका सदस्यहरूलाई दिइएको स्रोत बताउँछ । कतिसम्म भने, जलहरी निर्माणको काम सकिएको र छिट्टै कोषमा बैठक राखेर उद्घाटन मिति तोकिने भनेर राति ९ बजे सूचना दिइएकोमा निर्माण कार्यमा संलग्न नभएका सदस्यहरू घर गएपछि सीमित व्यक्ति बसेर राष्ट्रपति भण्डारीबाट फागुन १२ मा जलहरी उद्घाटन गर्ने निर्णय भयो ।

‘राति ८ बजेतिर जलप निर्माणको काम सकिएको जानकारी पायौं, ९ बजे पाँच जना सदस्यलाई निर्माण कार्य सकियो, अब छिट्टै उद्घाटन गर्नुपर्ला, यसका लागि बसेर छलफल हुन्छ’ भनियो तर हामी घर हिँडेपछि बैठक बसेर भोलिपल्टै उद्घाटनको योजना बनेको रहेछ,’ एक सदस्यले भने । त्यसको भोलिपल्टै राष्ट्रपति भण्डारीबाट सुनको जलहरी उद्घाटन गरियो । जलहरी निर्माण र कालीगढको खर्चबारेको हिसाब पारदर्शी भएन । त्यसप्रति असन्तुष्ट सदस्यहरूले सुरुमा मौखिक र पछि लिखित निवेदन दिएरै खर्चको हिसाब मागे तर दिन आनाकानी गरियो ।

जलहरी निर्माण कोषका केही अधिकारीको मात्रै मिलेमतोमा अघि बढाइएको भन्दै आर्थिक अनियमितताको आशंकामा कोषका सदस्यहरू देवीप्रसाद बराल, भगवतीप्रसाद देव, आशा पाण्डे, विश्वकरण जैन र उद्धव बरालले सदस्यसचिव र कोषाध्यक्षलाई विवरण उपलब्ध गराउन माग गर्दै निवेदन दिए । तर, कोषले जलहरी राख्न करिब ८० करोड रुपैयाँ खर्च भएको हिसाब देखाएको छ ।

अख्तियार स्रोतका अनुसार कोषले देखाएको खर्च अस्वाभाविक र पत्याउन नसकिने खालको छ । जलहरी राख्ने भएपछि विभिन्न उद्योगी/व्यापारीले सुन र कालीगढका लागि रकम दान दिएको बताइए पनि त्यसको समेत हिसाब गोलमाल देखिएको अख्तियार स्रोतले जनाएको छ ।

प्रकाशित : भाद्र २२, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?