पूर्वउपकुलपतिहरुको अपील : बीपी प्रतिष्ठानको जायज माग पूरा गर

सुदीप कैनी

काठमाडौँ — विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिहरु बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, प्राध्यापक, कर्मचारी र विद्यार्थीले उठाएका जायज माग पूरा गर्न सरकारसँग माग गरेका छन् ।

पूर्वउपकुलपतिहरुको अपील : बीपी प्रतिष्ठानको जायज माग पूरा गर

१२ पूर्वउपकुलपतिहरुले सोमबार संयुक्त अपील जारी गरेर माग सम्बोधन गरेर शैक्षिक एवं चिकित्सा सेवा अविलम्ब सुरु गर्नुपर्ने बताएका हुन् । प्रतिष्ठानमा ८४ दिनदेखि जारी आन्दोलन अन्तर्गत आइतबा देखि आकस्मिक र कोभिड बाहेक सेवा ठप्प पारिएको छ । ‘बीपी प्रतिष्ठान गरिमामय इतिहास बोकेको एउटा शैक्षिक संस्था हो,’ अपीलमा भनिएको छ, ‘यति लामो समयसम्म पनि आन्दोलनकारीहरूको मागहरूप्रति सरकार संवेदनशील नहुनु अत्यन्त दुर्भाग्यको कुरा हो ।’

प्रतिष्ठानको शुद्धिकरणको माग पूरा गरिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । प्रतिष्ठानभित्र भइरहेको आर्थिक अनियमितताको छानबिन र कारबाही, पदाधिकारीहरूको नियुक्ति प्रक्रियामा सुधार लगायतका माग आन्दोलनरत पक्षले राखेको छ । प्रतिष्ठान शुद्धिकरणको आन्दोलनमा नागरिक समाज, स्थानीय राजनीतिक दलले पनि ऐक्यबद्धता जनाएका छन् ।

आन्दोलनकै क्रममा सरकारले तत्कालीन प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा समस्या समाधानका लागि प्रतिष्ठानको अध्ययन गरेर सरकारलाई सुझावसमेत दिएको छ । तर सरकारले सुझाव कार्यान्वयन नगरेको आन्दोलनमा सहभागी अमृत जैसीले गुनासो गरे । प्रधानमन्त्री शेरबहादुर देउवा र प्राध्यापक डा. गोविन्द केसीबीच पनि अध्ययन प्रतिवेदनको सुझावअनुसार बीपी प्रतिष्ठानको समस्या समाधान गर्ने समझदारी भएको छ । झण्डै ३ महिनासम्म माग पूरा नभएकोमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले असन्तुष्टि जनाए ।

आन्दोलनको दौरानमा छानबिन समितिको गठन, समितिबाट प्रतिवेदनको प्रस्तुतिकरण र आन्दोलनको ५० औं दिनमा आन्दोलनकारी तथा सरकारबीच भएको ६ बुँदे सम्झौता भएको थियो । छानबिन प्रतिवेदन कार्यान्वनय र सम्झौता पालनामा सरकार पूर्णयता उदासिन भएको पूर्वउपकुलपतिहरुको ठहर छ । ‘प्रतिष्ठानको शैक्षिक कार्यक्रम र चिकित्सा सेवा यति लामो समय सम्म अस्तव्यस्त रहँदा पनि आन्दोलनकारीहरूसँग भएको सहमति कार्यान्वयन तर्फ सरकारले असंवेदनशीलता देखाएको छ, सरकारको यो उदासिनताप्रति हामी दु:ख व्यक्त गर्दछौं,’ अपीलमा उल्लेख छ ।

पूर्वउपकुलपतिहरू माथेमा, महेशकुमार उपाध्याय, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाशजङ्ग शाह, तोरणबहादुर कार्की, अर्जुन कार्की, कैलाशनाथ प्याकुरेल, हिराबहादुर महर्जन, खगेन्द्र भट्टराई जयराज अवस्थी र नरेशमान बज्राचार्यले संयुक्त अपील जारी गरेका हुन् ।

प्रकाशित : भाद्र २१, २०७८ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?