अध्यादेशकाे असर : निर्वाचन आयोगमा दर्ता मात्र भएकाे पार्टी पनि फुट्याे- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्यादेशकाे असर : निर्वाचन आयोगमा दर्ता मात्र भएकाे पार्टी पनि फुट्याे

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले र जसपाको असन्तुष्ट समूहलाई अर्को दल गठन सहज बनाउन सरकारले जारी गरेको अध्यादेशले साना दल पनि फुट्न थालेका छन् । राजनीतिक दल सम्बन्धी ऐन संशोधन गरी २० प्रतिशत केन्द्रीय सदस्य वा संघीय सांसदका आधारमा पार्टी फुटाउन सकिने प्रावधान राखेर सरकारले अध्यादेश जारी गरेको थियो । 

रामशरण पाण्डे नेतृत्वको नयाँ नेपाल पार्टीको असन्तुष्ट युवराज पौडेलको समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि निवेदन दिएका हुन् । ४९ जना केन्द्रीय सदस्यमध्ये १७ जनाले अर्को नयाँ दल दर्ताको निवेदन दिएका थिए । नयाँ नेपालमा पौडेल उपाध्यक्ष थिए ।

उनीहरूले प्रस्ताव गरेको समाजवादी केन्द्र नेपाल नाम गरेको नयाँ दल दर्ताको प्रक्रिया अघि बढाउन आयोगले आइतबार सनाखत समेत गराइसकेको छ । ‘सनाखत भइसक्यो । नयाँ दलको मान्यता दिन निर्णय हुन मात्रै बाँकी छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने । नयाँ नेपाल पार्टीबाट अलग हुन १७ जनाले निवेदन दिएपनि १२ जनाको मात्रै सनाखत भएको आयोगले जनाएको छ । यो पार्टीलाई मान्यता दिन आयोगले निर्णय गर्न बाँकी छ ।

नयाँ नेपाल ०६९ मा दर्ता भएको थियो । विवेकशील साझा पार्टीका नेताहरूबीच द्वन्द्व बढेपछि यो असन्तुष्ट समूहले छुट्टै पार्टी गठनको आन्तरिक छलफल सुरू गरिसकेको छ ।

सरकारले जारी गरेको अध्यादेश अनुसार नै यसअघि एमालेबाट असन्तुष्ट माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जसपामा असन्तुष्ट महन्थ ठाकुर समूहले लोकतान्त्रिक समाजवादी पार्टीको मान्यता पाइसकेको छ ।

प्रकाशित : भाद्र २१, २०७८ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्

धन्न, आफूले लगाएको आगोले आफैलाई पोलेन

तस्बिर : अंगद ढकाल

काठमाडौँ — सत्ता गठबन्धन नेकपा(एस) को भ्रातृ संगठन अनेरास्ववियुले मिनभवनस्थित नेपाल कमर्स क्याम्पस (एनसीसी) अगाडि गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गर्ने क्रममा आगो लगाइको पुत्ला अचानक एक विद्यार्थीमाथि नै झर्‍यो । अनेस्वावियु केन्द्रीय सचिवालय सदस्य विराज धमलालाई आगोको लप्काले भेटेपछि उनी अत्तालिँदै दौडिए । पुत्लामा आगो लगाएर कलेज बाहिर निस्कने क्रममा प्रहरीले पुत्ला खोस्न खोजेपछि आगो लागेको पुत्ला उनीमाथि खसेको थियो । धन्न उनलाई गम्भीर घाउ भने लागेन ।

'पुत्ला जलाउने क्रममा पुलिससँग सामान्य धकेलाधकेल भएपछि आगोको लप्का शरीरमा खसेको हो । गम्भीर चोट लागेको छैन । म ठीक छु,' उनले भने । लम्की कैलालीका धमला ८ वर्षदेखि विद्यार्थी राजनीतिमा छन् । एमाले, नेकपा हुँदै अहिले नेकपा(एस) मा आबद्ध छन् । राजनीतिशास्त्रमा स्‍नातक सकाएका धमला हाल काठमाडौंको सिनामंगल बस्दै आएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आपत्ति जनाएपछि नेकपा(एस) निकट अनेरास्ववियुले सोमबार मिनभवनस्थित एनसीसी अगाडि गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।


प्रकाशित : भाद्र २१, २०७८ १९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×