कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काठमाडौं र आसपासमा आरीघोप्टे वर्षा 

काठमाडौंमा गएको २४ घण्टामा १२१.५ मिमि वर्षा भएको छ । यसअघि सन् २००२ को जुलाई २३ मा २४ घण्टामा १७७ मिमिसम्म वर्षा भएको रेकर्ड छ ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार रातिका लागि काठमाडौंसहित वरिपरिका जिल्लामा भारी वर्षाको खासै आकलन गरेको थिएन । तर, केही दिनयता काठमाडौंमा बढेको तापक्रमसँगै स्थानीय वायुमण्डलमा देखा परेको वायुमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु मिसिएपछि एक्कासी मौसममा बदलाब आयो ।

काठमाडौं र आसपासमा आरीघोप्टे वर्षा 

'स्थानीयस्तरमा रातिदेखि नै बादल विकसित भएपछि मध्यरातदेखि मेघगर्जनसहितको वर्षा सुरु भयो,' महाशाखाका मौसमविद् मीनकुमार अर्यालले कान्तिपुरसित भने, 'काठमाडौंका विभिन्न स्थान र वरपरका जिल्लामासमेत क्षणभरमै भारी वर्षा भयो, यत्तिको वर्षा हुने हाम्रो आकलन थिएन ।'

मौसमविद् अर्यालका अनुसार बितेको २४ घण्टामा काठमाडौंमा १२१.५ मिमि वर्षा भयो । काठमाडौंका लागि मात्र नभई मुलुकको अन्य भागका लागि पनि यो परिमाणको पानी भारी वर्षा हो । लगातार ६० मिमि भन्दा बढी वर्षा भयो भने विज्ञहरुले भारी वर्षा भन्ने गरेका छन् ।

कुनै स्थानमा २४ घण्टामा १५० मिमि वर्षा भयो भने त्यो स्थानमा पहिरो र बाढीको अत्यधिक सम्भावना हुन्छ, त्यसैले जल तथा मौसम विज्ञान विभागले त्यस्तो अवस्थामा सतर्कता अपनाउन सूचना नै जारी गर्ने गरेको छ ।

अहिले मुलुकभर मनसुन जारी छ । आइतबारदेखि सोमबारसम्म काठमाडौं र आसपासमा भएको वर्षा यो मनसुनकै सबभन्दा बढी हो । विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार यसअघि गत असार २७ (जुलाई ११) २४ घण्टामा काठमाडौं (एअरपोर्ट) मा ९१.४ मिमिसम्म वर्षा भएको थियो ।

यस्तै, १९ असारमा ६६ मिमि र ३० असारमा ५७.३ मिमि वर्षा भएको रेकर्ड छ । हुन त, काठमाडौंमा २४ घण्टामा १७७ मिमिसम्म वर्षा भएको रेकर्ड छ । सन् २००२ को जुलाई २३ मा त्यति वर्षा भएको थियो । त्यतिबेला पनि काठमाडौंका नदीतटीय आसपासका बस्तीमा बाढी पसेर असर गरेको थियो ।

मौसमविद् अर्यालका अनुसार बिहान ९ बजेअघि ६ घण्टाको अवधिमै भक्तपुरको नगरकोटमा ८० मिमि, नुवाकोटको ककनीमा ५० मिमि, बबरमहलमा ८६ मिमी, बुढानिलकण्ठमा ३० मिमि, कीर्तिपुरमा ४०, सुन्दरीजलमा ४० मिमि वर्षा भएको थियो ।

थोरै अवधिमा धेरै पानी खनिनेगरी हुने वर्षा हुनेक्रम पछिल्ला वर्षहरुमा बढिरहेको छ । यसलाई विज्ञहरुले आरीघोप्टे वर्षा भन्ने गरेका छन् । जलवायु विज्ञ ङमिन्द्र दाहाल सोमबार परेको वर्षा काठमाडौंका लागि नयाँ रेकर्ड नभए पनि त्यसले गर्ने क्षति भने नौलो रहेको विश्लेषण गर्छन् ।

'परेको पानीको उपयुक्त निकास नभएकाले यो अवस्था निम्तिएको हो,' दाहालले भने, 'वर्षाले आफ्नो बाटो लिएर बग्ने भएकाले हामीले नयाँ संरचना बनाउँदा धेरै ख्याल गर्नुपर्ने हुन्छ ।' केही वर्ष यता मनसुनको अवधिमा हुने वर्षाको चरित्र बदलिएको छ । क्षणभरमै कहीँ भारी वर्षा हुने र कहीँ लामो समय खडेरी पर्ने दिनहरु बढिरहेका छन् ।

प्रकाशित : भाद्र २१, २०७८ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?