संखुवासभामा एकै परिवारका ६ जनाको हत्या 

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको शान्त खोलागाउँ सोमबार बिहानदेखि भयानक त्रासदीमा रुमल्लिएको छ । गाउँले निःशब्द छन् । कसले किन यस्तो अकल्पनीय घटना गरायो भनेर प्रहरीले समेत पत्ता लगाउन सकेको छैन । मादी नगरपालिका–१ का तेजबहादुर कार्कीको परिवारका ६ जनाको बीभत्स हत्याको कारण खोतल्न प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ ।

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या 

मृतक परिवारका ज्येष्ठ सदस्य ९३ वर्षीय बौद्धमान कार्की भने सकुशल छन् । देख्न र सुन्न नसक्ने उनले यो घटनाबारे पत्तै पाएनन् । प्रहरीका अनुसार बौद्धमानकी श्रीमती पार्वती, छोरा तेजबहादुर, बुहारी कमला, तेजबहादुरकी बुहारी रञ्जना, नाति विपिन र नातिनी गोमाको हत्या भएको हो । मृतकको शव घर वरिपरि यत्रतत्र छरिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले बताए । उनका अनुसार गाउँलेले सोमबार बिहान १० बजेतिर मात्र घटनाबारे थाहा पाएका हुन् ।

‘हेर्न जाँदा शव यत्रतत्र छरिएका थिए । धारिलो हतियारले क्षतविक्षत हुने गरी काटिएको छ,’ उनले भने, ‘घटना आइतबार रातिको हो कि सोमबार बिहानको भन्ने थाहा भएन ।’ जुत्ता, चप्पल लगाएर भागेको जस्तो देखिएकाले शवको प्रकृति हेर्दा खेदाइखेदाइ हत्या गरेको हुन सक्ने उनको अनुमान छ । ओझाकाअनुसार तेजबहादुरको शव घरदेखि अलि पर सडकमा फेला परेको छ । उनकी बुहारी र श्रीमती खोलामा मृत भेटिएका छन् ।

नाति र नातिनीको शव घरदेखि माथि खरबारीमा भेटिएको छ भने तेजबहादुरकी आमा पार्वतीको शव घरभित्रै छ । मादी–१ का वडाध्यक्ष खेमनाथ कटुवाल आफूले बिहान १० बजेतिर छिमेकी लक्ष्मीभक्त कार्कीबाट खबर पाएको बताए । उनले घटनास्थल पुगेर इलाका प्रहरी कार्यालय चैनपुरमा फोन गरेर हत्याका बारेमा जानकारी गराएका थिए । ‘चप्पल पनि लगाएका रहेछन्, लखेटेर मारेको जस्तो देखिन्छ,’ उनले भने । कटुवालका अनुसार उनीहरू सामान्य परिवारका हुन् । दुई जना छोरा नरेश र रमेश डेढ वर्षदेखि विदेशमा छन् ।

‘नरेश मलेसियामा छन् भने रमेश दुबईमा छन्,’ उनले भने, ‘घटनाबारे उनीहरूलाई जानकारी गराइसकेका छौं ।’ हत्या हुनेमा रमेशकी श्रीमती पनि छिन् । गाउँमा उनीहरूको झैझगडा भएको कहिल्यै नसुनेको वडाध्यक्ष कटुवालले बताए । घटनास्थल पुग्दा स्थानीयको भीड जम्मा भइसकेको मादी नगर प्रमुख विदुर सुब्बाले बताए । ‘दुईवटा भैंसी बाँधिएको अवस्थामा थिए, कुखुरा र बाख्राहरू भने छाडिएको रहेछ,’ उनले सुनाए ।

इलाका प्रहरी कार्यालय चैनपुर घटनास्थलबाट ५५ किलोमिटर पूर्वमा छ । खबर पाउनासाथ घटनास्थल पुगेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए । विराटनगर र धरानबाट खटिएको प्रहरी टोली पुग्न समय लागेकाले मंगलबार मात्रै शव उठाउने तयारी छ । अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको छ ।

प्रकाशित : भाद्र २१, २०७८ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?