कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रोल्पामा घरमाथि पहिरो खस्दा दुईको मृत्यु

काशीराम डाँगी

रोल्पा — घरमाथि पहिरो खस्दा रोल्पा नगरपालिका–१० धबाङको बाम्दा गाउँमा सोमबार दुई जनाको मृत्यु भएको छ । पहिरोले स्थानीय पूर्णबहादुर थापाको घर भत्कँदा सोमबार बिहान उनकी आमा ७० वर्षीया गौरी थापा र ५ वर्षीय भान्जाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार निरन्तर वर्षाकै बीच सोमबार बिहान २ बजेतिर पहिरो खसेको हो । करिब २ सय मिटर माथिबाट खसेको पहिरोले घर भत्कँदा चार जना भित्रै च्यापिएका थिए । घटनामा गौरीका छोरी र ज्वाइँ घाइते भएका छन् । उनीहरू पाहुना आएका थिए ।

पहिरोबारे खबर पाएपछि राति नै टोली खटाइएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । स्थानीयको सहयोगमा मृतकको शव निकालिएको र राति नै घाइतेको उद्धार गरिएको उनले जानकारी दिए । वडा कार्यालयनजिकैको उक्त गाउँमा अरू १० घरजति छन् । तत्काल खबर पाए पनि वर्षाका कारण सडक र गोरेटो बाटोसमेत अवरुद्ध भएकाले सदरमुकामबाट प्रहरी बिहान मात्रै पुग्न सकेको थियो । धबाङमा प्रहरी चौकी छैन । धबाङको पहिरोस्थल सदरमुकाम लिबाङदेखि करिब २० किलोमिटर उत्तरमा पर्छन् ।

वडाध्यक्ष मानबहादुर खत्रीका अनुसार घटनाबारे जानकारी पाएपछि गाउँलेले उद्धार गरेका थिए । गौरीका छोरा–बुहारी रोजगारीको सिलसिलामा काठमाडौंमा छन् ।

यसैबीच पूर्वी रोल्पाको सुलीचौर र रुइनीबाङको बीचमा पर्ने फगाम खोलामा बाढी आउँदा निजी विद्यालयको एउटा बस बगाएको छ । प्रहरीका अनुसार बाढीले मर्मतका लागि ग्यारेजमा राखिएको रा१ख २०६८ नम्बरको बस बगाएको हो । दुई दिनदेखिको वर्षाका कारण सदरमुकाम जोड्ने अधिकांश सडक अवरुद्ध छन् । लिबाङदेखि रोल्पा अस्पताल हुँदै माडीचौर पुग्ने सडकसमेत पहिरोले थुनिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २१, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?