कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

सुदूरपश्चिममा एमाले छाड्ने धेरै

माओवादी र एकीकृत समाजवादीको गठबन्धन कायमै राख्ने कसरत 
अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको एमाले विभाजनपछि नवगठित एकीकृत समाजवादीभन्दा सानो भएको छ । प्रदेशसभाका २५ सदस्यमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेपछि एमाले १२ (सभामुखसहित) सांसदमा खुम्चिएको छ । पाँच दिनअघि १० जनाले एकीकृत समाजवादीमा सनाखत गरेकामा आइतबार उक्त दलमा तीन जना थपिएका हुन् । 

सुदूरपश्चिममा एमाले छाड्ने धेरै

एमालेबाट निर्वाचित भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र पूर्वप्रमुख सचेतक तारा लामा तामाङले आइतबार प्रदेश निर्वाचन कार्यालयमा पुगेर एकीकृत समाजवादीमा सनाखत गरे ।

यसअघि पूर्णा जोशी र लालबहादुर खड्का, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी र मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सांसदहरू सुशीला बुढाथोकी, कुलवीर चौधरी, अमर साउद र बलबहादुर सोडारीले नयाँ दल रोजेका थिए । ५२ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

सांसद तामाङले २०७५ जेठ २ को अवस्था कार्यान्वयन हुने नदेखिएकाले नयाँ दल रोजेको बताए । ‘जेठ २ अघिको अवस्था कार्यान्वयन हुने अवस्था रहेको भए पदीय नैतिकताका आधारमा एमाले छोड्न समस्या हुने थियो,’ उनले भने । एकीकृत समाजवादीका नेता सोडारीले एमालेबाट अझै केही सांसद आउने दाबी गरेका छन् ।

निर्वाचन कार्यालयले सनाखत गर्ने म्याद २२ गतेसम्म तोकेको छ । विगतमा एमालेभित्र केपी शर्मा ओली समूहमा रहेकाहरूले भने नयाँ दल रोजेका छैनन् । एमाले विभाजनअघि सुदूरपश्चिमका १७ सांसद माधव नेपाल–झलनाथ खनाल समूहमा थिए । यसअघि एमालेभित्र नेपाल–खनाल समूहमा रहेका संसदीय दल नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज, कृष्ण सुवेदी र हर्कबहादुर कुँवर अहिलेसम्म एमालेमै छन् ।

पूर्वमन्त्री पठानसिंह बोहरा, नेपालु चौधरी, लीलाधर भट्ट, गेल्बोसिंह बोहरा, बलदेव रेग्मी, माया तामाङ बोहरा र रतनबहादुर थापा सुरुदेखि नै ओली पक्षमै थिए । एकीकृत समाजवादीले सबैभन्दा ठूलो बन्ने कसरत गरिरहेको छ । एकीकृत समाजवादीमा १४ सांसद भए अहिलेकै सरकारको बहुमत पुग्छ ।

प्रकाशित : भाद्र २१, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?