कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

दार्चुलाका पहिरोपीडितको बिचल्ली

७ वटा झोलुंगे पुल, ५ वटा जलविद्युत् आयोजना र मोटरेबल पुल बगे 
मनोज बडू

दार्चुला — दुहुँ गाउँपालिका–५ दुल्लाकी विमला पार्की भदौ १३ को बाढीले घर बगाएपछि आफन्तको घरमा आश्रय लिइरहेकी छन् । घाइते भएका उनका श्रीमान् जनकराम उपचारका लागि धनगढीमा छन् । दुई छोरी र उनलाई स्थानीयले उद्धार गरेका थिए ।

दार्चुलाका पहिरोपीडितको बिचल्ली

अब उनलाई श्रीमान्को उपचारसँगै बालबच्चालाई कसरी सुरक्षित बासको व्यवस्था गर्ने भन्ने चिन्ता थपिएको छ । उनी दुई छोरी लिएर छिमेकी जोगी डडालको घरमा आश्रय लिइरहेकी छन् । ‘अहिले त खान, बस्न समस्या छैन, भोलि के गर्ने भन्ने चिन्ता छ,’ उनले भनिन्, ‘बाढीले घरसँगै कमाइ खाने खेत पनि बगायो ।

त्यस्तै, दुहुँ–२ नरोलीका मानसिंह साहुको घर/खेत पूरै बाढीपहिरोले लगेपछि उनी गौरिलमाडौं माध्यमिक विद्यालय हिकिलामा बसिरहेका छन् । ‘कालागाडको बाढीले घर/खेत बगाउँदा हाम्रो बिचल्ली भयो,’ उनले भने, ‘परिवारसँगै एक सातादेखि विद्यालयमा बसिरहेको छु । पाक्नै लागेको खेती बगेपछि अब कसरी पेट पाल्ने चिन्ता बढेको छ ।’

आइतबार रातिको अविरल वर्षाका कारण बाढीपहिरोले कालागाड र निजाङगाडमा नरोली, गुना, अफर्‍या, दुल्ला, बथ्थोली, सिमार, घोप्या, निजाङगाड, श्रीबगर, बासपानीलगायत बस्तीमा बाढीपहिरोले व्यापक क्षति पुर्‍याएको छ । अहिले पनि तटीय क्षेत्रमा जमिन धसिने क्रम रोकिएको छैन । दुहुँ–१, २, ३ र ५ मा क्षति भएको छ । कालागाड र निजाङगाड तटीय क्षेत्रमा बाढीले धनजनको क्षति गरेको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार बाढीमा तीन जनाको मृत्यु र दुई घाइते भएका थिए भने दुई जना बेपत्ता छन् ।

बाढीपहिरोबाट गाउँपालिकाका २ सय ६५ परिवारका १ हजार ४ सय ७ जना पीडित भएका छन् । ४६ घरमा पूर्ण र ९५ वटामा आंशिक क्षति पुगेको छ । ३० वटा पानीघट्ट र हजारौं रोपनी जमिन बाढीले बगाएको छ । बाढीपहिरोबाट नरोली, बथ्थोली, दुल्ला, सिमारलगायतका बस्ती पूर्णरूपमा विस्थापित भएका छन् । विस्थापित ४५ परिवार गौरिलमाडौं मावि हिकिलामा, १५ परिवार गरमोरा स्कुलमा, दुई परिवार सामुदायिक भवनमा र ७ परिवारलाई सुरक्षित स्थानमा त्रिपालमा राखिएको पालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए ।

विद्यालयमा बसेका परिवारलाई अहिले गाउँपालिकाले खानाको व्यवस्था मिलाएको छ । अधिकांश विस्थापित परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् । ‘विद्यालय खोल्ने निर्णय भएको छ, ३/४ दिनमा उनीहरूको पनि अस्थायी बासस्थान व्यवस्थापनका लागि पालिकाले छिट्टै निर्णय लिनुपर्ने भएको छ,’ कार्कीले भने, ‘अस्थायी सेल्टर बनाएर हुन्छ कि, सुरक्षित स्थानमा जस्ताका टहरा बनाएर हुन्छ, विस्थापितको व्यवस्थापन गर्ने तयारीमा छौं ।’

बाढीपहिरोबाट ७ वटा झोलुंगे पुल, ५ वटा जलविद्युत् आयोजना, तीन विद्यालय, एउटा बाल विकास भवन, एउटा आरसीसी पुल र एउटा मोटरेबल पुल बगाएको छ । दुई/तीन दिनदेखि सुरक्षाकर्मी आएर बाटो र काठेपुल निर्माण गरेपछि थोरै भए पनि आवतजावतमा सहजता आएको अध्यक्ष कार्कीले बताए । बाढीपहिरो गएको सातापछि जिल्ला समन्वय समिति प्रमुख र प्रमुख जिल्ला अधिकारीले शनिबार अवलोकन गरेका छन् । विपत्तिको एक सातासम्म क्षतिको यकिन विवरण आइसकेको छैन ।

त्यस्तै महाकाली नगरपालिका–१ को निजाङगाड र श्रीबगर क्षेत्रमा बाढीले बेपत्ता भएका दुई जना अझै भेटिएका छैनन् । निजाङगाडमा शेरसिंह कार्कीलगायतको तीनवटा पसल, श्रीबगरमा दार्चुला–टिंकर सडकको मोटरेबल पुल र दुईवटा झोलुंगे पुल बगाएको थियो । श्रीबगड क्षेत्रमा रहेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोस्ट कार्यालयको आधा भाग, सोही क्षेत्रमा रहेका स्थानीय पूर्णबहादुर बम, नरेन्द्रबहादुर बम, दीपक बम, रणबहादुर बम, धीरेन्द्र बम, शेरबहादुर बमको घरसमेत बगाएको थियो । श्रीबगडस्थित पसल थापेर बसेका महाकाली–१ का देवबहादुर बम, अमरबहादुर बम, सुन्दरबहादुर बम र जितबहादुर बमको होटल तथा पसल पनि बगाएको थियो 

प्रकाशित : भाद्र २१, २०७८ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?