कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बेपत्ता पार्नेलाई चिन्छौं’

ठाकुरसिंह थारू

बर्दिया — सरकारी अभिलेखअनुसार बढैयाताल–९ मुनालबस्तीका दिलबहादुर खड्का र नारायणदत्त सापकोटा बेपत्ता व्यक्तिको सूचीमा छन् । २०६० फागुन ३० गते माओवादीले बलपूर्वक घरबाट लगेका उनीहरूको अवस्था अझै अज्ञात छ ।

‘बेपत्ता पार्नेलाई चिन्छौं’

परिवारले स्थानीय सञ्चारमाध्यममा तत्कालीन सुरक्षा फौज र माओवादी भिडन्तमा दुवै जना मारिएको समाचार प्रकाशित भएको देखे । समाचारलाई भिडन्तमा मृत्यु भएको प्रमाण बनाएर दिलबहादुरकी श्रीमती लक्ष्मी र नारायणकी श्रीमती जुना तीन वर्षअघि नै जिल्ला प्रहरीमा किटानी जाहेरी दिन पुगेका थिए । त्यसबेला प्रहरीले मुद्दा दर्ता नगरेपछि उनीहरू उच्च अदालत नेपालगन्ज पुगे ।

दिलबहादुरकी श्रीमती लक्ष्मी १८ वर्षदेखि श्रीमान्को अवस्थाबारे जानकारी माग्दै दौडधुप गरिरहेकी छन् । ‘अब त अति भइसक्यो, श्रीमान् खोज्न सक्दैनौ भने बेपत्ता पार्नेविरुद्ध हामीले दर्ता गरेको मुद्दाको अनुसन्धान गरिदेऊ,’ लक्ष्मीले भनिन्, ‘मुद्दा दर्ता भए पनि अनुसन्धान नहुँदा पीडा दिएको छ ।’ उनले आफ्ना श्रीमान्लाई घरबाटै तत्कालीन विद्रोही पक्षले अपहरण गरेर बेपत्ता बनाएको बताइन् । ‘अपहरण गर्ने एक जना बितिसके । हामीले कहिले न्याय पाउने ?’ उनले भनिन्, ‘श्रीमान्लाई सरकारले न खोज्न सक्छ, न मुद्दाको अनुसन्धान गर्छ ।’

नारायणकी श्रीमती जुनाले पनि राज्यकै कारण आफूहरू थप पीडित बनेको गुनासो गरिन् । ‘मेरो श्रीमान्लाई राज्यले खोज्न सकेन ठीकै छ । तर, बेपत्ता बनाउनेलाई त चिन्छौं नि ! मुद्दाको अनुसन्धान गरे श्रीमान्लाई कहाँ लगेर बेपत्ता बनाए भन्ने खुल्छ,’ उनले भनिन् । उनले श्रीमान्लाई प्रहरीले पक्राउ गरेको र प्रहरीले रिहा गरेपछि माओवादीले अपहरण गरी बेपत्ता बनाएको हो । बारबर्दिया नगरपालिका–१ जमुनीकी देवीसरा ओली पनि बेपत्ता पार्नेहरूविरुद्ध मुद्दा दर्ता हुनुपर्ने बताउँछिन् ।

उनका श्रीमान् सुरेश वलीलाई सुरक्षा फौजले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो । २०५९ पुस ७ गते हिरासतमा रहेका उनलाई पुस २० गते बेपत्ता बनाइएको हो । ‘पुस १९ गतेसम्म म आफैं गएर श्रीमान्लाई खाना खुवाएकी छु । अर्को दिन खाना लिएर पुग्दा तेरो श्रीमान् यहाँ छैन भनेर फिर्ता पठाए,’ उनले भनिन्, ‘हिरासतबाट मान्छे हराउन सक्छ ?’ सशस्त्र द्वन्द्वका क्रममा बर्दियामा २ सय ७८ जना बेपत्ता छन् भने ४ सय जनाको हत्या भएको छ ।

प्रकाशित : भाद्र २०, २०७८ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?