कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वायुयानको अनधिकृत प्रवेश अपराध : कानुन

मौसमी खराबीका कारण अर्को देशमा ओभरफ्लाई वा आपत्कालीन अवतरण गर्नुपर्दा यात्रुवाहक विमानलाई सहज छ भने सैनिक जहाज वा हेलिकोप्टरले पूर्वअनुमतिबेगर पाउँदैनन् 

काठमाडौँ — अनुमति नलिई कुनै पनि वायुयानले नेपाली भूभागमाथिबाट उडान गर्नु वा प्रवेश गर्नुलाई नेपालको कानुनले अपराध भनेको छ । गैरसैनिक हवाई उडान ऐन २०१५ ले ‘प्रचलित कानुनबमोजिम अनुमति प्राप्त नगरी कुनै पनि वायुयान नेपालभित्र प्रवेश गरेमा अनधिकृत प्रवेशको अपराध गरेको मानिनेछ’ भनेको छ । ऐनले नेपालभित्र र नेपालको कुनै भूभागमाथिबाट उडान (ओभरफ्लाई) गरे पनि हवाई क्षेत्र अतिक्रमणसम्बन्धी अपराध गरेको मानिने जनाएको छ ।

वायुयानको अनधिकृत प्रवेश अपराध : कानुन

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार सन् १९४४ मा अमेरिकाको सिकागोमा भएको सिकागो महासन्धिले पनि कुनै एक मुलुकको वायुयानलाई अर्को मुलुकमा अनधिकृत प्रवेश गर्न रोक लगाएको छ । यस्तो अपराधमा नेपालले छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट ध्यानाकर्षण गराउनुपर्ने हुन्छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारतीय हेलिकोप्टर नेपाली आकाशमा केही दिनदेखि बिहीबारसम्म उडेको थियो । हवाई यातायातलाई नियमन तथा विकास गर्ने प्राधिकरणसँग दार्चुला क्षेत्रमा उडिरहेको हेलिकोप्टर देखिने राडार न धनगढी विमानस्थलमा छ न त काठमाडौंमा । थाई एयर र पीआईएको दुर्घटनापछि नेपालले जापान सरकारको सहयोगमा २०५६ मा काठमाडौं आसपासबाट ८० किलोमिटर वृत्त (रेडियस) मात्रै क्षमता भएको राडार राखेको थियो ।

त्यो प्रविधि समयअनुकूल नभएपछि फेरि जापान सरकारको ९४ करोड रुपैयाँ र नेपालको १५ करोडसमेत गरी १ अर्ब ९ करोड रुपैयाँ लगानीमा २०७४ मा ललितपुरको भट्टेडाँडामा अत्याधुनिक रडार जडान गरिएको थियो । त्यसले नेपालको पूर्वी सिमानामा निश्चित उचाइमा उडिरहेका विमान देखाए पनि पश्चिममा त्यसको कभरेज सुर्खेतभन्दा पर्तिर छैन । अर्थात् सुदूरपश्चिमका पहाडी र हिमाली भेगमा उडेका जहाजलाई त्यसले निगरानी गर्न सक्दैन । अझ हेलिकोप्टर जमिनको सतहदेखि धेरैमाथि नउड्ने भएकाले छिमेकी जिल्लाका विमानस्थलले पनि थाहा पाउँदैनन् ।

सैनिक विमानले नेपालभित्र प्रवेश गर्नुपरे वा नेपालको कुनै भूभागमाथिबाट उडान (ओभरफ्लाई) गर्नुपर्ने भए कूटनीतिक माध्यमबाट अनुमतिका लागि पहल गर्नुपर्छ । सैनिक उडानलाई नेपालभित्र प्रवेश वा ओभरफ्लाईको अनुमति दिनुपर्ने भए त्यो काम गैरसैनिक उडान व्यवस्थापन गर्ने नागरिक उड्डयन प्राधिकरणले नै अनुमति जारी गर्छ । यसरी अनुमति लिनुपर्दा उद्देश्य, जहाजको प्रकार, दर्ता नम्बर, समय, उडानको लक्ष्य, चालक दल, उडान भर्ने कप्तान आदिबारे विस्तृत विवरण खुलाएको हुनुपर्छ ।

प्राधिकरणको बबरमहलस्थित उडान अनुमति शाखाले त्यस्तो अनुमति जारी गर्दै गृह, परराष्ट्र, पर्यटन मन्त्रालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सेनाको गौचरनमा रहेको ११ नम्बर वाहिनीलाई पनि अनिवार्य जानकारी गराउनुपर्ने हुन्छ । महानिर्देशक पोखरेलका अनुसार विगतमा नेपालभित्र अनुमति नलिई प्रवेश गरेका सैनिक र गैरसैनिक वायुयानलाई प्राधिकरणले राडारमा देखेपछि रेडियो फ्रिक्वेन्सीबाट कल गरेर अवतरण गराएका घटना भएका छन् । यस्ता घटनामा सैनिक विमान भए कूटनीतिक च्यानलबाट सम्बन्धित मुलुकमा विमान फर्काइएका छन् भने गैरसैनिक वायुयानलाई स्पष्टीकरण सोधेर क्षतिपूर्ति लिई फर्काइएको छ ।

पोखरेलका अनुसार यात्रु बोकेर गन्तव्यमा उडिरहेका गैरसैनिक वायुसेवा भने बेलाबेला हवाई रुटको मौसम बिग्रिएका कारण नेपालभित्र पसेर निस्किने घटना भने भइरहन्छन् । ‘खराब मौसमका कारण कुनै पनि मुलुकका व्यावसायिक वायुसेवा एकअर्काको मुलुकको भूभागमाथि भएर ओहोरदोहोर गर्न सक्छन् । यस्ता उडानमा पाइलटहरूले नजिकैका टावरमा एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराइरहेका हुन्छन् । तर सैनिक विमानलाई यस्तो छुट हुँदैन,’ महानिर्देशक पोखरेलले भने ।

अनधिकृत उडानप्रति नेताहरूको आपत्तिएसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काइदिँदा नेपाली युवक महाकालीमा खसेर बेपत्ता भएको घटना नसुल्झिँदै भारतले महाकालीवारि अनधिकृत रूपमा हेलिकोप्टर उडाएकामा राजनीति दलका नेताहरूले आपत्ति जनाएका छन् । उनीहरूले यसलाई गम्भीरतापूर्वक लिएर भारतसँग संवाद गर्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपाली आकाशमा भारतले हेलिकोप्टर उडाउनु गम्भीर रहेकाले कूटनीतिक पहलमार्फत संवाद गरेर हल गर्नेतिर जानुपर्ने बताए । ‘राष्ट्रिय मुद्दा भएकाले सरकारले कूटनीतिक पहलमार्फत हल गर्नुपर्छ । परराष्ट्रसम्बन्धी विषयमा हामी गम्भीर हुनुपर्छ,’ उनले भने । अहिले भारत, चीन र अमेरिकासँगका मुद्दा गिजोलिन खोजेको उल्लेख गर्दै भट्टराईले यो शुभसंकेत नभएको बताए । ‘अहिले जुन मुद्दाहरू चर्चामा आएका छन्, सबैलाई अलगअलग ढंगले राष्ट्रिय सहमतिका साथ डिल गरेर जानुपर्छ । पहल सरकारले गर्नुपर्छ,’ उनले भने ।

पूर्वपरराष्ट्रमन्त्री एवं एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अनुमतिबिना भारतले नेपाली सेनाको क्याम्पमाथि हेलिकोप्टर उडाउनु गम्भीर विषय भएको बताए । ‘भोलि असावधानीवश ठूलै दुर्घटना पनि हुन सक्छ । आफ्नो भूमिमाथि विदेशी हेलिकोप्टर उडे भने कुनै पनि देशले आफ्नो सुरक्षाका लागि कदम चाल्नुपर्ने हुन्छ,’ उनले कान्तिपुरसँग भने, ‘त्यसले भोलि बेकारमा तनाव सिर्जना गर्छ । यस्ता मामिलामा सरकारले भारतसँग गम्भीर रूपमा कुरा गर्नुपर्छ । सत्यतथ्य बुझ्नुपर्छ । आपत्ति जनाउनुपर्छ । यी कुरा फेरि हुन नदिने कुरामा सुनिश्चित गर्नुपर्छ ।’

पूर्वपरराष्ट्रमन्त्री तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारले तत्काल आपत्ति प्रकट गर्नुपर्ने बताए । ‘आफ्नो देशको एयर स्पेस नदिईकन अरू कसैले अतिक्रमण गर्छ भने त्यो गम्भीर विषय हो । सरकारले तत्काल आपत्ति प्रकट गर्नुपर्छ,’ उनले भने । श्रेष्ठका अनुसार पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई स्वतन्त्र परराष्ट्र नीति, राष्ट्रिय हितबाट विचलित नहुन र न्यूनतम साझा कार्यक्रममा उल्लेखित परराष्ट्र मामिलामा राष्ट्रिय सहमति गरिने कुराबाट विचलित नहुन सचेत गराएको जानकारी दिए । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य बेदुराम भुसालले अनुमतिबिना नेपाली भूमिमा भारतले हेलिकोप्टर उडाएको विषय गम्भीर रहेकाले सरकारले कूटनीतिक हिसाबले जतिसक्दो छिटो आफ्नो धारणा प्रस्टसँग राख्नुपर्ने बताए । ‘यसबारे हामी पनि प्रधानमन्त्रीसँग कुरा राख्छौं,’ उनले भने । पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतले भने यथार्थ पत्ता लगाएर सरकारले आवश्यक पहल गर्ने बताए ।

एमाले प्रवक्ता ज्ञवालीले तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका जयसिंह धामीका विषयमा पनि सरकार लाचार देखिएको बताए । ‘यस्ता मुद्दामा सरकार नै बोल्नुपर्ने हो । अरू कुरामा हाम्रा मतभेद होलान् तर यस्ता मामलामा हामी सरकारलाई सहयोग नै गर्न चाहन्छौं । सरकारले राष्ट्रिय हितको पक्षमा आवाज उठाउनुपर्ने हो,’ उनले भने, ‘जयसिंह धामीका विषयमा पनि सरकार बोल्दैन । भारतको विदेश मन्त्रालयले मिडियामा सुनेको हो, आधिकारिक ढंगले कसैले भनेको छैन भनेर बताउँछ । पत्रसम्म मात्रै पठाएको भए भारत पनि गम्भीर हुनुपर्थ्यो होला ।’

कांग्रेस सह–महामन्त्री महतले भनेका जयसिंह धामीका विषयमा सकारले पहल नै नगरेको भन्नु गलत रहेको दाबी गरे । ‘पहल किन गरेको छैन ? गृह मन्त्रालयले छानबिन समिति बनायो । त्यसले प्रतिवेदन दियो । त्यसकै आधारमा गृहले परारष्ट्रलाई पत्र लेखिसक्यो । अब परराष्ट्रले पहल गर्छ,’ उनले भने ।

बेपत्ता धामीको खोजबिनका लागि गृह मन्त्रालयको टोलीले महाकाली नदीको पल्लो किनारमा ड्रोन उडाउन खोज्दा भारतले असहयोग गरेको थियो । गत साउन १५ मा बेपत्ता भएका धामीको खोजबिन गर्न ‘ड्रोन’ क्यामेरा उडाउन अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २३ मा पठाएको अनुरोधपत्रको जवाफ अझै आएको छैन । भारतले भने महाकालीवारि दार्चुला सदरमुकाम खलंगा बजारमाथि पटक–पटक हेलिकोप्टर उडाएको छ ।

प्रकाशित : भाद्र १९, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?