कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

सुरक्षित ठानेकै घरमा पहिरो

सुतेकै ठाउँमा एकै परिवारका ५ सहित ११ को मृत्यु 

पोखरा, पर्वत — घरमाथि मोटरबाटो खनेपछि कुश्मा नगरपालिका–३ दुर्लुङ बाँधस्वाँराका माधव शर्मा पौडेल अर्को घर किनेर बाटोमाथि सरे । सुरक्षित ठानेर किनेको घरमा उनले परिवारसँग एक वर्षभन्दा बढी बिताउन पाएनन् । बिहीबार मध्यरातमा खसेको पहिरोले घर पुर्‍यो । भित्रै पुरिएका आमा, श्रीमती, दुई छोरी र एक छोरालाई उनले गुमाए । विदेशबाट फर्किएर सुरक्षित घरमा बस्ने उनको सपना पहिरोसँगै पुरियो । 

सुरक्षित ठानेकै घरमा पहिरो

छिमेकी प्रताप गिरीका अनुसार वैदेशिक रोजगारीमा गएका शर्माले कतारबाट फर्किएर डेढ वर्ष अघिमात्र ५ मिनेटमाथिको भोगेनीमा माइजूकी आमा नर्वदी पाध्याको घर किनेका थिए । घर सरेपछि पौडेल परिवारले सुरक्षित ठानेको थियो । ‘झन्डै सय मिटरमाथिबाट आएको पहिरोले घर पुरिदियो,’ गिरीले भने, ‘बरु उहाँहरू बाँधस्वाँरामै बसेको भए हुने रहेछ, आज यो अवस्था देख्नुपर्‍यो ।’ पहिरोले पुरिएर शर्माकी आमा ७५ वर्षीया कौशिला, ३५ वर्षीया श्रीमती भगवती, दुई छोरीहरू १६ वर्षीया विमला, ११ वर्षकी विनीता र ९ वर्षीय छोरा विनोद पौडेलको मृत्यु भएको हो ।

राति करिब डेढ बजेतिर पहिरो खसेको थियो । दर्के झरी परेकाले पहिरो जान सक्ने शंका गर्दै राति गाउँलेका धेरै जना जागै थिए । तत्कालै उद्धारमा जुटेका स्थानीयले कौशिला, विमला र विनीताको शव निकालेका हुन् । विमला १२, विनीता ४ र विनोद ३ कक्षामा पढ्थे ।

गिरीका अनुसार पहिरो खसेको स्थानको जमिन अलिअलि दबिएको थियो । स्थानीयले पुरपार गरेका थिए । तर, बुधबार रातिदेखि परेको भारी वर्षापछि पर्खालसहित पहिरो खस्यो । घर बिक्री गरेकी नरबदी पनि सोही घरको एक कोठामा बस्दै आएकी थिइन् । उनी बस्ने कोठा भने पहिरोले छोएको छैन ।

छोरा नभएको र तीन छोरीको बिहे भएकाले नरबदीले घर बेचे पनि बाँचुन्जेलसम्मका लागि भन्दै त्यसकै एउटा कोठामा बस्दै आएकी थिइन् । अर्का छिमेकी प्रेमप्रसाद पौडेलका अनुसार माधव गत चैतमा वैदेशिक रोजगारीका लागि फेरि कतार गए । ‘पहिला पनि कतार गएर फर्किएर आएपछि घर किन्नुभएको हो,’ उनले भने, ‘असुरक्षित ठानिएको स्थानमा भने अहिलेसम्म केही भएको छैन । सुरक्षित ठानिएको स्थानमा यस्तो अवस्था आइलाग्यो ।’ घटनापछि शर्मा नेपाल फर्कंदै गरेको उनले बताए ।

यसैगरी कुश्मा–११ पकुवामा माथिबाट आएको पहिरोले घर पुर्दा एकै घरका ३ जनाको मृत्यु भएको छ । शुक्रबार बिहानै आएको पहिरोले घर पुर्दा ७० वर्षकी डल्ली पाध्या पौडेल, उनकी बुहारी ४० वर्षीया मायाकुमारी र ३ वर्षका जाति प्रयुशको मृत्यु भएको पर्वतका डीएसपी शिवराज बुढाथोकीले बताए । त्यस्तै कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घर पहिरोले पुर्दा पाहुना आएकी मोदी–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको मृत्यु भएको छ । यस्तै पर्वतकै मोदी–५ आम्बोटमा पहिरोले घर पुरिँदा ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ । चारवटै घटनामा पहिरोले एउटा/एउटा घर पुरेको डीएसपी बुढाथोकीले बताए ।

पहिरोले विभिन्न स्थानमा बिजुलीका पोल ढालेको छ भने फोनको अप्टिकल फाइबरमा क्षति पुर्‍याएको छ । शुक्रबार पर्वतमा विद्युत् र सञ्चार सेवा अवरुद्ध रह्यो । डीएसपी बुढाथोकीका अनुसार पहिरोले मध्यपहाडी राजमार्ग र अन्य सडकसमेत अवरुद्ध भएको छ । ‘ठाउँठाउँमा पोल ढलेका छन्, कहाँकहाँ समस्या भन्ने पनि पत्ता लागिसकेको छैन,’ उनले भने ।

मोदीको आम्बोट क्षेत्रमा खसेको पहिरोले टेलिकमको अप्टिकल फाइबरमा क्षति पुर्‍याएपछि दिनभर फोन र मोबाइल सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइबर मर्मत गर्न पश्चिमाञ्चल सोलुसनका प्राविधिक पहिरो स्थलमा पुगे पनि शुक्रबार अबेरसम्म काम पूरा भइसकेको छैन । नेपाल टेलिकम पोखराका इन्जिनियर विकास तिमिल्सिनाका अनुसार अप्टिकल फाइबर बन्द भएपछि रेडियो सेटमार्फत सीमित कलमात्रै जाने भएकाले फोन पर्वतमा नलाग्ने समस्या भएको छ ।

प्रकाशित : भाद्र १९, २०७८ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?