कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद तानातान गर्दै जसपा र लोसपा

प्रदेश २ मा जसपाका ५५ सांसदमध्ये १५ जना लोकतान्त्रिक समाजवादीमा खुलेका छन्, अझै सांसद तान्न शीर्ष नेताहरु जनकपुरमै बसेर परामर्श गरिरहेका छन्

जनकपुर/धनुषा — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा लाग्न चाहने जनता समाजवादी पार्टी (जसपा) का प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले तोकेको भदौ २२ सम्मको समय दुवै पार्टीका लागि ‘पीडादायी क्षण’ बनेको छ । 

सांसद तानातान गर्दै जसपा र लोसपा

सरकारले भदौ २ मा ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशका आधारमा छुट्याएका जसपा र लोसपाको आधार क्षेत्र प्रदेश २ हो । दल रोज्ने साइतले यी दुवै दलभित्र हलचल ल्याएको छ । स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसद दुवै दलको चेपुवामा परेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसहित दुवै दलका शीर्ष नेता जनकपुरमै बसेर जनप्रतिनिधि आफूतिर तान्न लागेका छन् ।

गत निर्वाचनमा प्रदेश २ मा उपेन्द्रको दल संघीय समाजवादीले २९ प्रदेश सांसद र २६ स्थानीय तहमा प्रमुख जितेको थियो भने महन्थको दल राजपाले २५ प्रदेश सांसद र २५ स्थानीय तहमा प्रमुख जितेको थियो । प्रदेश २ मा १ सय ७ सदस्यीय प्रदेशसभा र १ सय ३६ स्थानीय तह छन् । दल एक हुनुअघि प्रदेश २ मा यादवको संघीय समाजवादीसँग ३० र ठाकुरको राजपासँग २५ प्रदेश सांसद थिए । दुवै दल एक भएपछि प्रदेश २ मा ५५ सांसदसहित बहुमतको सरकार थियो । तर, ओली सरकारमा सहभागी हुने ठाकुर पक्षको निर्णयसँगै दल टुक्रिएपछि यादवको जसपातिर ३६ जना सांसद खुलेका छन् । जसमा ठाकुर पक्षका नवलकिशोर साह, रामनरेश राय, मनीष सुमन, सुरेश मण्डललगायत छन् । लोसपाले आफूतिर प्रदेश सांसदको संख्या २० पुग्ने दाबी गरेको छ ।

दल विभाजनपछि सनाखत गर्न आयोगले तोकेको म्याद गुजार्न यादव–ठाकुरलाई ‘फलामको चिउरा चपाउनु’ जस्तै भएको छ । ‘राजनीतिक तरलता आउनेबित्तिकै मधेसकेन्द्रित दल समस्यामा फस्ने गर्छन्,’ मधेस मामिलाका जानकार विजय मिश्रले कान्तिपुरसँग भने, ‘त्यसमा जनप्रतिनिधिको लोभलालच पनि देखिन्छ । हलचलको बेला राजनीतिक अवसर ताक्दा दलहरूबीचमा समस्या बढ्ने गर्छ ।’ प्रभाव क्षेत्रकै जनप्रतिनिधि तानातानमा परेपछि बुधबार लोसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेताहरू राजेन्द्र महतो र शरतसिंह भण्डारी जनकपुर आइपुगे । जनकपुरको सिटी स्टार होटलमा बसेका लोसपाका शीर्ष नेतासित यादवनिकट जनप्रतिनिधि र प्रदेश सांसदले भेट्ने क्रम बढेपछि यादव पनि बिहीबार जनकपुर झरेका छन् । दुवै दलका शीर्ष नेता जनप्रतिनिधि तानातानमा लागेका छन् ।

भदौ २२ सम्म दल रोज्न निर्वाचन आयोगले दिएको समयावधिभित्र आफ्नो पक्षमा प्रदेश सांसद बढाउन लोसपा नेताहरू जसपाभित्र खेलिरहेका छन् भने जसपाले आफूलाई नोक्सानी हुन नदिन प्रदेश सांसदलाई निगरानीमा राखेको छ । जसपाका प्रदेश सांसद प्रह्लाद गिरीलाई बिहीबार लोसपाले आफूतिर तानेको छ । जसपाबाट असन्तुष्ट रहेका गिरीलाई लोसपाका प्रदेश सांसद जितेन्द्र सोनलले आफूसँगै लगेर निर्वाचन कार्यालयमा दल रोज्न लगाएका थिए ।

एमाले र जसपाका सांसद तानातान

प्रदेश २ मा नेकपा एमालेबाट एकीकृत समाजवादीमा र जसपाबाट लोसपामा प्रदेश सांसद तान्न चलखेल सुरु भएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताले उपेन्द्र यादवनिकट सांसदलाई लोसपा रोजेको सनाखत गराएका छन् भने एकीकृत समाजवादीको सनाखत सूचीमा रहेका दुई सांसदलाई एमालेले आफूतिर फर्काएको छ ।

जसपा अध्यक्ष यादवनिकट प्रदेश सांसद प्रह्लाद गिरीलाई लोसपाले सनाखत गराएको छ । अन्य तीन जना सांसदसँग नेताहरू दुई दिनदेखि छलफलमा छन् । एकीकृत समाजवादीको सनाखत सूचीमा रहेका बाराका प्रदेश सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ अन्तिम समयमा आएर एमालेतर्फ लागेका छन् । मौसम खराब भएको कारण देखाउँदै सनाखतका लागि आउन नसकेको जानकारी दिएका दुवै सांसद वीरगन्जमा एमालेको प्रदेश भेलामा सहभागी भएका थिए ।

प्रदेश २ मा २१ जना सांसद रहेको एमालेबाट ११ जना एकीकृत समाजवादीतर्फ लागेका छन् । प्रदेश निर्वाचन कार्यालयमा बिहीबार एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेको सनाखत गरेका छन् । सर्लाहीका प्रदेश सांसद डिल्ली उप्रेती भारतमा उपचारक्रममा रहेका कारण दूतावासमार्फत सनाखत गराउने प्रक्रिया अगाडि बढाएको प्रदेश सांसद शत्रुधन महतोले बताए ।

निर्वाचन कार्यालयमा उपस्थित भएर प्रदेश सांसदहरू गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन र नागेन्द्र यादवले सनाखत गरेको महतोले बताए । निर्वाचन कार्यालयमा १० जना र दूतावासबाट उप्रेतीको सनाखत प्रक्रिया अगाडि बढाएको जानकारी गराउँदै महतोले बाराका सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ मौसम खराब भएका कारण आउन नसकेको बताए । एमालेभित्र दुवै समूहको भेलामा देखिइरहने विश्वकर्मा पछिल्लो समय नेपालनिकट थिए ।

महतो १३ सांसद र दुई मन्त्रालय लिएर प्रदेश सरकारमा सहभागी हुने तयारीमा जुटेका छन् । प्रदेश २ मा मुख्यमन्त्री लालबाबु नेतृत्वको सरकारमा १९ सांसद रहेको कांग्रेसले ३ र सात सांसद रहेको माओवादी केन्द्रले एक मन्त्रालय पाएका छन् । जनता समाजवादीले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय लिएको छ ।

जसपाका ५५ सांसदमध्ये लोसपामा १५ जना खुलेका छन् । प्रदेश सांसद डिम्पल झा र प्रह्लाद गिरीले बिहीबार लोसपा रोजेको सनाखत गरेका छन् । यसअघि बुधबार १० जनाले लोसपाको पक्षमा सनाखत गरेका थिए । ‘लोसपाको पक्षमा १२ जनाले सनाखत गरेका छन्,’ सांसद उपेन्द्र महतोले भने, ‘मलगायत तीन जना सांसदको सनाखत गर्न बाँकी छ ।’ महतो, जितेन्द्र सोनल र अभिराम शर्माले सनाखत गरेका छैनन् । उपेन्द्र यादवनिकट सांसदहरूलाई लोसपामा ल्याउन प्रयास भइरहेको उनले बताए । उनका अनुसार यादवनिकट तीन जना सांसद लोसपामा आउन सकारात्मक छन् ।

प्रकाशित : भाद्र १८, २०७८ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?