‘स्कुल खोल्न हतार नगरौं’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘स्कुल खोल्न हतार नगरौं’

१८ वर्षमुनिकाले खोप नपाएकाले विद्यालय खोल्नु जोखिमपूर्ण हुने चेतावनी
अतुल मिश्र

काठमाडौँ — उपत्यकाका तीनै जिल्ला प्रशासनको बुधबारको बैठकले ‘स्मार्ट लकडाउन’ को मापदण्डमा रहेर विद्यालय सञ्चालन गर्न सकिने निर्णय गर्‍यो । तर, विज्ञहरूले भने कोरोना महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोलेर पढाइ सञ्चालन गर्नु जोखिमपूर्ण हुने बताएका छन् ।

खोप नपाएका बालबालिका प्रभावित भए अत्यधिक संक्रमण र जटिलता देखिने र यसको उपचार मुलुकले थेग्न नसक्ने उनीहरूको चेतावनी छ । बालबालिकालाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन पनि उनीहरूले सुझाव दिएका छन् ।

‘दोस्रो लहर कायम रहेको, केस उल्लेख्य रूपमा नघटेको तथा बिरामी आउने क्रम पनि कम भएको छैन,’ कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. अजित रायमाझीले भने, ‘अभिभावकमा कोभिडको सामान्य लक्षण देखिएको छ तर बच्चाहरूमा खोकी आउने, स्याँ–स्याँ हुने, बेस्सरी ज्वरो आउने देखिन्छ, कोभिडबाट त्यो समूह सुरक्षित छैन ।’

शिक्षा मन्त्रालयले पनि विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ का आधारमा विद्यालय खोल्न सकिने जनाइसकेको छ । कार्यढाँचामा विद्यालय खोल्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ तर स्थानीय प्रशासनको अनुमति लिनुपर्ने प्रावधान राखिएको छ । यही प्रावधानलाई देखाएर कतिपय स्थानीय तहले विद्यालय खोल्ने निर्णय गरिसकेका छन् । यद्यपि विद्यालय खोल्ने विषयमा स्वास्थ्य र शिक्षा मन्त्रालयबीच नै एकमत छैन । ‘हामीले शिक्षा मन्त्रालयलाई हाल स्कुल नखोल्न सुझाव दिएका थियौं, त्यो मानिएन,×’ स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने, ‘खोप नलगाएका १८ वर्षमुनिका एक तिहाइभन्दा बढी जनसंख्यामा संक्रमण फैलिए हाम्रो संरचना, जनशक्तिले थेग्ने अवस्था छैन ।’

बालबालिकाले सुरक्षित तरिकाले मास्क नलगाउने र सामाजिक दूरी एवं हातको सरसफाइमा ध्यान नदिने भएकाले उनीहरूमा संक्रमण फैलने जोखिम बढी रहेको विज्ञहरूको भनाइ छ । विद्यालयको पूर्वाधारलाई समेत उनीहरूले प्रमुख चुनौतीका रूपमा लिएका छन् । उनीहरूका अनुसार अधिकांश भवन साँघुरा भएकाले कक्षाकोठामा सामाजिक दूरी कायम गर्न सम्भव देखिँदैन । ‘साधारण सावधानी अपनाउन नसक्नेका लागि स्कुल खोलेर जोखिम मोल्नु हुन्न,’ डा. रायमाझीले भने, ‘उनीहरूले खोप लगाएका छैनन् र कोरोनाबारे पूर्ण जानकारी पनि छैन ।’

विद्यालय खोल्दा खोप लगाएका शिक्षकलगायत सहायक कर्मचारीले रोगको ‘क्यारियर’ का रूपमा बालबालिकालाई संक्रमण सार्ने जोखिमसमेत त्यत्तिकै छ । ‘हाल स्कुल खोल्नु जोखिमपूर्ण छ, राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभवले समेत यही भन्छ,’ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विभाग प्रमुख डा. प्रकाश पौडेलले भने, ‘यदि तेस्रो लहरमा हालसम्म आकलन गरेअनुसार नै बालबालिका केन्द्रित संक्रमण भयो भने हाम्रो स्वास्थ्य संरचनाले उपचार थेग्न सक्दैन । पहिलो, दोस्रो लहरभन्दा जटिल देखिने सम्भावना छ ।’

महामारीको तेस्रो लहर आएमा खोप नलगाएका बालबालिका बढी जोखिममा पर्ने त्रिवि शिक्षण अस्पतालकी बालरोग विशेषज्ञ डा. सिर्जना बस्नेतले बताइन् ।

प्रकाशित : भाद्र १८, २०७८ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्

कोभिड निको भएकालाई स्नायु समस्या

कतिपयको मस्तिष्कमा रगत जम्ने समस्यासमेत देखिएको छ, जसले स्ट्रोक गराउन सक्छ
अतुल मिश्र

काठमाडौँ — कोभिड संक्रमणबाट मुक्त भएका केही व्यक्तिमा स्नायु (न्युरोलोजिकल) सम्बन्धी जटिल समस्या देखिएको छ । कोभिडलाई मुख्य रूपमा श्वासप्रश्वाससँग सम्बन्धित गम्भीर रोग मानिए पनि यसले आम नेपालीमा स्नायुसम्बन्धी जटिल समस्या निम्त्याएको विज्ञहरू बताउँछन् । स्नायु प्रणाली मुख्य रूपमा मस्तिष्क र मेरुदण्डमा हुन्छ । मस्तिष्कबाट निस्केको १२ जोडी स्नायुलाई ‘क्रानियल नर्भस्’ भनिन्छ ।


यो अनुहार र घाँटीमा जान्छ भने मेरुदण्डबाट निस्केको स्नायु (स्पाइनल नर्भस्) हातखुट्टा, छाती, पेटलगायत शरीरका बाँकी भागमा जान्छ । स्वाद र गन्धसम्बन्धी समस्या, दृष्टिमा समस्या, स्ट्रोक, मस्तिष्क ज्वरो, गुलियन बारी सिन्ड्रोम, मेरुदण्डमा असर स्नायुसम्बन्धी समस्या हुन् । त्यतिमात्र नभई कोभिड निको भएको दुई महिनादेखि पन्ध्र सातासम्म टाउको दुखाइ, थकाइ, चिन्ता, चक्कर, स्वाद र गन्धमा कमीलगायत समस्यासमेत देखिने गरेको पाइएको छ ।

कोभिड संक्रमणका कारण डेढ वर्षयता विभिन्न स्नायुसम्बन्धी समस्या भएर त्रिवि शिक्षण अस्पतालको न्युरोलोजी विभागमा भर्ना भएका २ हजार ६ सय ७९ जनाको स्वास्थ्य स्थितिको विश्लेषणपछि यी समस्या पहिचान गरिएको न्युरोलोजी विभागका स्नायुरोग विशेषज्ञ डा. रागेश कर्णले बताए । ‘कोभिडलाई मुख्य रूपमा श्वासप्रश्वाससँग सम्बन्धित गम्भीर रोग मानिए पनि यसले मस्तिष्कलगायत शरीरका सबैजसो अंगमा असर पारिरहेको छ,’ उनले भने ।

अस्पताल भर्ना भएका कोभिडका कुल बिरामीमध्ये ५०.२४ प्रतिशतमा ‘क्रानियल न्युरोपेथी’ अर्थात् गन्ध हराउने समस्या देखिएको छ । डा. कर्णका अनुसार मस्तिष्कबाट निस्किने १२ जोडी स्नायुमध्ये पहिलो जोडी स्नायु ‘अलफ्याक्ट्री’ ले गन्धलाई मस्तिष्कसम्म लिएर गएपछि मात्र मानिसले गन्ध थाहा पाउँछ । तर कोभिडले अलफ्याक्ट्री स्नायुमा असर पार्दा गन्धसम्बन्धी सूचना मस्तिष्कमा पुग्न पाउँदैन ।

त्यस्तै क्रानिएल स्नायुमध्ये दोस्रो अर्थात् ‘अप्टिक स्नायु’ समेत प्रभावित भएका बिरामी अस्पतालमा भर्ना भएका छन् । त्यस्तो प्रभाव देखिएका ०.०७ प्रतिशत अर्थात् दुई जनामा आँखाको दृष्टिमा समस्या देखिएको छ । ‘अप्टिक स्नायुले आँखाको मस्तिष्कसँग सम्बन्ध स्थापित गर्छ तर कोभिडले गर्दा यो स्नायु प्रभावित भएर बिरामीको दृष्टिमा कमी आएको पायौं,’ डा. कर्णले भने ।

त्यस्तै, कोभिड निको भइसकेका बिरामीको मस्तिष्कमा रगत जम्ने (ब्लड क्लटिङ) समस्यासमेत देखिएको छ । यो समस्याले स्ट्रोक हुने गर्छ । आर्टिरियल र भेनस गरी दुई प्रकारका स्ट्रोकमध्ये अस्पतालमा भर्ना भएका कुल बिरामीमध्ये ०.५२ प्रतिशत अर्थात् १४ जनामा आर्टिरियल स्ट्रोक र ०.१५ प्रतिशत अर्थात् ४ जनालाई भेनस स्ट्रोक देखिएको थियो ।

कोभिडले गर्दा मस्तिष्क ज्वरो (मेनिंगो इन्सेफ्लाइटिस) समेत देखिएको छ । यस किसिमको ज्वरोले मस्तिष्कलाई छोप्ने खोलको तन्तुमा संक्रमण गराउँछ । ‘कोभिडका कारण मस्तिष्क ज्वरोबाट प्रभावित १७ जनालाई हामीले उपचार गरिसकेका छौं,’ डा. कर्ण भन्छन्, ‘यति मात्र नभई कोभिड भएकाहरूमा देखिएको गुलियन बारी सिन्ड्रोमको समेत उपचार गरिसकेका छौं ।’

गुलियन बारी सिन्ड्रोमले शरीरका विभिन्न भाग कमजोर बनाउनुका साथै झमझमाउने र प्यारालाइसिसको खतरासमेत बढाउँछ । त्रिवि शिक्षण अस्पताल भर्ना भएका बिरामीमध्ये एक जनामा मेरुदण्डमा समेत असर (माइलाइटिस) देखिएको थियो । केही बिरामीमा त कोभिड भएको ३ देखि ६ महिनासम्म पनि स्वाद र गन्ध नफर्किएको डा. कर्णले बताए । ‘लामो समयसम्म गन्धको समस्या रहिरहे पछि पार्किन्सन्स, डिमेन्सिया हुने सम्भावना रहन्छ,’ उनले भने ।

कोभिड संक्रमणका बेला केही बिरामीमा अक्सिजनको अत्यधिक कमीले गर्दा मस्तिष्कमा गम्भीर दुष्प्रभाव अर्थात् हाइपोक्सिक ब्रेन इन्ज्युरीसमेत देखिएको छ । कतिपयमा ‘ब्रेन फग’ को समस्या देखिएको र उनीहरूको स्मरणशक्ति कमजोर पाइएको डा. कर्णले बताए ।

प्रकाशित : भाद्र १७, २०७८ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×