‘स्कुल खोल्न हतार नगरौं’- समाचार - कान्तिपुर समाचार

‘स्कुल खोल्न हतार नगरौं’

१८ वर्षमुनिकाले खोप नपाएकाले विद्यालय खोल्नु जोखिमपूर्ण हुने चेतावनी
अतुल मिश्र

काठमाडौँ — उपत्यकाका तीनै जिल्ला प्रशासनको बुधबारको बैठकले ‘स्मार्ट लकडाउन’ को मापदण्डमा रहेर विद्यालय सञ्चालन गर्न सकिने निर्णय गर्‍यो । तर, विज्ञहरूले भने कोरोना महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोलेर पढाइ सञ्चालन गर्नु जोखिमपूर्ण हुने बताएका छन् ।

खोप नपाएका बालबालिका प्रभावित भए अत्यधिक संक्रमण र जटिलता देखिने र यसको उपचार मुलुकले थेग्न नसक्ने उनीहरूको चेतावनी छ । बालबालिकालाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन पनि उनीहरूले सुझाव दिएका छन् ।

‘दोस्रो लहर कायम रहेको, केस उल्लेख्य रूपमा नघटेको तथा बिरामी आउने क्रम पनि कम भएको छैन,’ कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. अजित रायमाझीले भने, ‘अभिभावकमा कोभिडको सामान्य लक्षण देखिएको छ तर बच्चाहरूमा खोकी आउने, स्याँ–स्याँ हुने, बेस्सरी ज्वरो आउने देखिन्छ, कोभिडबाट त्यो समूह सुरक्षित छैन ।’

शिक्षा मन्त्रालयले पनि विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ का आधारमा विद्यालय खोल्न सकिने जनाइसकेको छ । कार्यढाँचामा विद्यालय खोल्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ तर स्थानीय प्रशासनको अनुमति लिनुपर्ने प्रावधान राखिएको छ । यही प्रावधानलाई देखाएर कतिपय स्थानीय तहले विद्यालय खोल्ने निर्णय गरिसकेका छन् । यद्यपि विद्यालय खोल्ने विषयमा स्वास्थ्य र शिक्षा मन्त्रालयबीच नै एकमत छैन । ‘हामीले शिक्षा मन्त्रालयलाई हाल स्कुल नखोल्न सुझाव दिएका थियौं, त्यो मानिएन,×’ स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने, ‘खोप नलगाएका १८ वर्षमुनिका एक तिहाइभन्दा बढी जनसंख्यामा संक्रमण फैलिए हाम्रो संरचना, जनशक्तिले थेग्ने अवस्था छैन ।’

बालबालिकाले सुरक्षित तरिकाले मास्क नलगाउने र सामाजिक दूरी एवं हातको सरसफाइमा ध्यान नदिने भएकाले उनीहरूमा संक्रमण फैलने जोखिम बढी रहेको विज्ञहरूको भनाइ छ । विद्यालयको पूर्वाधारलाई समेत उनीहरूले प्रमुख चुनौतीका रूपमा लिएका छन् । उनीहरूका अनुसार अधिकांश भवन साँघुरा भएकाले कक्षाकोठामा सामाजिक दूरी कायम गर्न सम्भव देखिँदैन । ‘साधारण सावधानी अपनाउन नसक्नेका लागि स्कुल खोलेर जोखिम मोल्नु हुन्न,’ डा. रायमाझीले भने, ‘उनीहरूले खोप लगाएका छैनन् र कोरोनाबारे पूर्ण जानकारी पनि छैन ।’

विद्यालय खोल्दा खोप लगाएका शिक्षकलगायत सहायक कर्मचारीले रोगको ‘क्यारियर’ का रूपमा बालबालिकालाई संक्रमण सार्ने जोखिमसमेत त्यत्तिकै छ । ‘हाल स्कुल खोल्नु जोखिमपूर्ण छ, राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभवले समेत यही भन्छ,’ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विभाग प्रमुख डा. प्रकाश पौडेलले भने, ‘यदि तेस्रो लहरमा हालसम्म आकलन गरेअनुसार नै बालबालिका केन्द्रित संक्रमण भयो भने हाम्रो स्वास्थ्य संरचनाले उपचार थेग्न सक्दैन । पहिलो, दोस्रो लहरभन्दा जटिल देखिने सम्भावना छ ।’

महामारीको तेस्रो लहर आएमा खोप नलगाएका बालबालिका बढी जोखिममा पर्ने त्रिवि शिक्षण अस्पतालकी बालरोग विशेषज्ञ डा. सिर्जना बस्नेतले बताइन् ।

प्रकाशित : भाद्र १८, २०७८ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागी हुन देउवाको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको भन्दै स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि वडा तहको अधिवेशन सुरु हुँदै छ ।

तस्बिर : अंगद ढकाल

देउवाले शुक्रबार बिहानै भिडियो सन्देश जारी गर्दै यस्तो आग्रह गरेका हुन् । ‘स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउँदै जन–जनमा लोकतन्त्रको रक्तसंचार गर्छ । देशभरका साथीहरूलाई लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु,’ देउवाले भनेका छन्, ‘लोकतन्त्रको पर्यायका रूपमा रहेको कांग्रेस लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैं अग्रणी साबित गर्दै आएको छ । नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैं अगाडि छ ।’

देउवाले बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव रहेको बताएका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली कांग्रेसलाई बलियो बनाउन जरुरी छ । त्यसैले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु,’ उनले भनेका छन् ।

संवैधानिक बाध्यताले कोरोना महामारीकै बीच महाधिवेशन गर्नुपरेको भन्दै देउवाले सामाजिक दुरी कायम गर्दै आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर मात्रै वडा अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् । कांग्रेसको विगतको योगदान, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको भन्दै देउवाले भिडियो सन्देशमार्फत् जनताको विश्वास जित्ने गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित : भाद्र १८, २०७८ ०९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×