३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कालीगण्डकी दोहन रोकिएन

पर्यावरणीय चक्र नै प्रभावित हुने गरी प्राकृतिक स्रोतको दोहन भइरहँदा विरोध गर्नुपर्नेमा आम्दानी घट्छ भनेर जनप्रतिनिधि चर्को बोल्दैनन् 

पर्वत, बागलुङ, म्याग्दी — सर्वोच्च अदालतले असार २९ मा लुम्बिनी र गण्डकी प्रदेशका स्थानीय तह तथा सम्बन्धित प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत उत्प्रेषणको आदेश जारी गर्‍यो, ‘कालीगण्डकी नदीको कुनै पनि स्रोत ननिकाल्नू ।’ अधिवक्ता प्रकाशमणि शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले यस्तो आदेश दिएको थियो ।

कालीगण्डकी दोहन रोकिएन

आदेशमा रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कालीगण्डकी नदीको प्राकृतिक बहावलाई अन्तै मोडेर रिजर्भ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालिग्रामको चोरी तथा विनाश गर्नेलगायत प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि कार्य नगर्नू नगराउनू भनिएको छ । तर, सर्वोच्चको आदेशको मसी सुक्न नपाउँदै पर्वतको फलेबास नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन ठेक्का लगायो । नगर प्रमुख पदमपाणि शर्मा अदालतको आदेशबारे जानकारी नै भएको बताउँछन् । ठेक्का खुलाए पनि फलेबासले टुंगो गर्न बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले बताए । ‘सम्झौता भइसकेको छैन,’ उनले भने, ‘ठेक्का खुलाउँदा अदालतको आदेश जानकारीमा थिएन ।’

जलजला गाउँपालिकाभित्र अवैधरुपमा संकलित गिटी, बालुवालगायत नदीजन्य पदार्थमा गरिएको जरिवानाबाट एक करोड रुपैयाँ राजस्व संकलन भइसकेको छ । अदालतको आदेशविपरीत उत्खनन गर्नेलाई प्रहरी र प्रशासनले समेत कारबाहीको दायरामा ल्याउन नसकेको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताए । ‘हामीले असारमै निर्णय गरेर अबैध उत्खनन रोक्ने र कारबाही गर्न सबैलाई पत्राचार गरका हौं,’ उनले भने, ‘प्रहरी र प्रशासन यसमा गम्भीर छैनन् ।’

कालीगण्डकीमा नदीजन्य पदार्थको चोरीनिकासी अदालतको आदेशले कत्ति पनि रोकिएको छैन । यतिसम्म कि स्थानीय तहले असार, साउन र भदौ महिनाभर नदीजन्य पदार्थ निकाल्ने र निकासीमा रोक लगाउन गरेको निर्णयसमेत व्यवसायीले मानेका छैनन् । नदी दोहन रोक्न दैनिक प्रहरी खटाए पनि ट्रिपर तथा एक्स्काभेटर र ट्याक्टरमा गिटी, बालुवा निकाल्ने क्रम रोकिएको छैन । जलजला र बिहादी गाउँपालिका तथा कुश्मा र फलेबास नगरपालिका हुँदै बग्ने कालीगण्डकीको दोहन हरेक पालिकाबाट भइरहेको छ ।

प्रहरीले असार १६ देखि साउन १९ सम्म गरेको कारबाही र संकलन गरेको राजस्वको परिमाणले समेत कालीगण्डकीमा कुन तहको दोहन भइरहेको छ भन्ने पुष्टि गर्छ । एक महिनाको अवधिमा अबैध उत्खननमा संलग्न ५ टिप्पर, ९ स्काभेटर र १८ ट्र्याक्टर नियन्त्रणमा लिएको थियो । उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइएको डीएसपी शिवराज बुढाथोकीले बताए ।

उच्च अदालत पोखराको बागलुङ इजलासले २०७५ साउनमा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) र आवश्यक कानुन बनाएर मात्रै नदी उत्खनन गर्न र त्यसको प्रभावकारी अनुगमन गर्न दिएको आदेशसमेत अझै पालना भएको छैन । बागलुङको ढोडेनी, मालढुंगा, कालाखोला, जैमिनीघाट लगायत स्थानमा प्रतिवन्धित समयमा पनि दोहन भइरहेको छ । दोहनबारे प्रशासन, प्रहरी र पालिका चुपचाप छन । बागलुङ नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले रिपोर्ट बनाउने तयारी भएको बताए । ‘बागलुङ नगरभित्र थोरैमात्र उत्खनन र दोहन छ,’ उनले भने, ‘अन्यत्रको अबस्था हेरेर मात्रै रिपोर्ट बनाए प्रभावकारी होला ।’

जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले बागलुङमा दोहन कम भएको बताए । यतिबेला कालीगण्डकी बचाउन युवाले अभियान थालेका छन् । ‘नदी जोगिँदा सभ्यता र संस्कृति पनि जोगिन्छ, तर अभियान चलायो भने ठेकेदारको टाउको दुख्छ,’ जैमिनी–७ का आरके गिरीले भने, ‘कालीगण्डकीको महत्त्व नबुझ्दा दोहन र डाइभर्सनको विषय आएका छन् ।’ राष्ट्रिय गौरवको योजना बनाएर नदी संरक्षण गर्नुपर्ने र कालीगण्डकीको महत्त्वबारे राष्ट्रिय अवधारणा बन्नुपर्ने उनले बताए । कालीगण्डकी दोहन रोक्न गिरी अभियान नै बनाएर लागिपरेका छन् । अधिवक्ता बद्रीप्रसाद शर्मा अदालतको आदेश अटेर गर्नेलाई कारवाही गर्नुपर्ने बताउँछन् । जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगाना निर्माण व्यवसायीले निर्माण सामग्री अभाव भएको हल्ला फिँजाएर निरन्तर दोहन गरिरहेको दाबी गरे ।

जिल्ला अनुगमन तथा समन्वय समिति म्याग्दीका पदाधिकारी साउन २५ मा बेनी–५ चुत्रेनीस्थित म्याग्दीखोला किनारामा रहेको जीसी क्रसर उद्योग अनुगमनमा पुगे । टोलीले ताजा देखिने बालुवा भण्डारण गरेको भेट्यो । अनुगमन समितिले उत्खनन भएको नदीजन्य पदार्थ अनुगमन, भण्डारणको मूल्यांकन र दर्ता नवीकरणसमेत वैधताको छानबिन गरी कारबाही गर्न बेनी नगरलाई जिम्मा लगाएर उम्कियो । ‘म्याग्दीखोला किनारामा रहेको जीसी क्रसर उद्योगको कानुनी वैधता र नदीजन्य पदार्थको उत्खननको छुट्टै प्राविधिक समिति गठन गरी अध्ययन गरिरहेका छौं,’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने ।

आयोजनापिच्छे क्रसर

प्रहरीका अनुसार कालीगण्डकी, म्याग्दी, घारखोला र मिस्त्रीखोलामा गरी ९ क्रसर उद्योग सञ्चालनमा छन् । विवरणअनुसार बेनीमा २, रघुगंगा गापामा २ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिकामा ५ क्रसर उद्योग छन् । यीमध्ये बेनी–५ चुत्रेनीको जीसी क्रसर र अन्नपूर्ण–४ मा रहेको नारच्याङ स्थानीयको लगानीका हुन् ।

नीलगिरि, घारखोला र रघुगंगा जलविद्युत् आयोजनाका एकएकवटा, बेनी–जोमसोम सडकअन्तर्गत शर्मा–गजुरमुखीको अन्नपूर्ण–३ दानामा, शर्मा–युनाइटेडको नाममा रघुगंगा–१ बेगखोलामा क्रसर छन् । त्यस्तै बेनी–दरबाङ सडकअन्तर्गत लामा–समानान्तरको बेनी–४ सिंगामा क्रसर उद्योगले नियमित डोजर प्रयोग नदीजन्य पदार्थको उत्खनन गर्दै आएका छन् ।‘नदीजन्य पदार्थको उत्खनन रोक्न स्थानीय जुट्नुपर्ने हो तर यहाँ त नदी बगरको आफ्नै घरलाई जोखिममा पारेर डोजर लगाएर रातारात सक्रिय छन्,’ प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने ।

प्रकाशित : भाद्र १७, २०७८ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?