कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बहुमत गुमाएपछि शाक्य दोधारमा

साना दलसँगको सहकार्यमा पनि शाक्य नेतृत्वको सरकार टिक्ने अवस्था छैन
सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेसँगै कसरी अगाडि बढ्ने भन्ने दोधारमा परेकी छन् । भदौ २ मा पार्टी एकताका लागि सन्देश दिने भन्दै सत्तारोहण गरेर तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी शाक्य एमाले औपचारिक रूपमा विभाजन भएसँगै अल्पमतमा परेकी छन् ।

बहुमत गुमाएपछि शाक्य दोधारमा

उनी मुख्यमन्त्री हुनेबित्तिकै सामाजिक विकासमन्त्रीका रूपमा शपथ लिएका कृष्ण खनाल शर्माले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् । खनालको राजीनामासँगै वाग्मती प्रदेश सरकार दुई सदस्यमा झरेको छ ।

मुख्यमन्त्रीसहित सातवटा मन्त्रालय वाग्मती प्रदेशमा छन् । अब मन्त्रिपरिषद् विस्तार तत्काल गर्ने वा नगर्ने विषयमा शाक्यलाई समस्या परेको छ । उनीनिकट नेताहरूका अनुसार तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छैन । ‘मुख्यमन्त्रीले आन्तरिक छलफल गरिरहनुभएको छ, हालको अवस्थामा केही समयभित्रै विश्वासको मत लिनुपर्ने देखिन्छ । मन्त्रिपरिषद् विस्तार गर्ने वा नगर्ने उहाँमै भरपर्छ,’ एक सांसदले भने ।

एमाले औपचारिक रूपमा फुट्नुअगाडि शाक्य तत्कालीन वरिष्ठ नेता माधव नेपालको खेमामा थिइन् । तत्कालीन समयमा नेपाल खेमामा रहेर हाल एमालेमै फर्किएका सांसदहरू सरकार अल्पमतमा परिसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्न नहुने पक्षमा छन् । स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट सांसदहरू मन्त्रिपरिषद् विस्तार गरेर सरकार पूर्ण रूपमा सञ्चालन गर्नुपर्ने पक्षमा छन् ।

‘अहिलेसम्म हामी बहुमतमै छौं, प्रदेशसभाको अधिवेशन अन्त्य भएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुग्छौं,’ एमाले मुख्य सचेतक दीपक निरौलाले भने । उनले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भए आफूहरू तयार रहेको बताए । ‘विश्वासको मत होस् वा अविश्वासको प्रस्ताव हामी सामना गर्न तयार छौं । तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने वा नगर्ने भन्ने विषयमा छलफल जारी नै छ,’ उनले भने ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरे । ‘सदनबाट हुने प्रक्रिया हामी फेस गरेर अगाडि बढ्छौं, सरकार सञ्चालन गर्न भए पनि मन्त्रिपरिषद् विस्तार गर्नुको विकल्प छैन,’ उनले भने । मुख्यमन्त्री शाक्यको दोस्रो मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

अधिवेशन अन्त्य भएका कारण औपचारिक रूपमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएको र नयाँ सरकार गठन भएको विषय सदनमा जानकारी गराइएको छैन । त्यसकारण पनि मन्त्रिपरिषद् विस्तार गर्न मुख्यमन्त्री शाक्यलाई समस्या पर्ने विपक्षीहरूको तर्क रहँदै आएको छ ।

१ सय ९ सांसद रहेको प्रदेशसभामा ५६ मत रहेको एमाले ४४ सिटमा सीमित भए पनि पहिलो ठूलो दल भने कायमै छ । साना दलसँगको सहकार्यमा पनि शाक्य नेतृत्वको सरकार टिक्ने अवस्था छैन । सरकार टिकाउन वा नयाँ गठन गर्न ५५ सिट चाहिन्छ । प्रदेशसभामा माओवादीको २३ र कांग्रेसको २२ मत छ । सरकार गठनका लागि गठबन्धनलाई थप १० मत भए पुग्छ । एकीकृत समाजवादीमा १२ सांसद खुलिसकेका कारण गठबन्धनको सरकार बन्ने निश्चित छ ।

प्रकाशित : भाद्र १७, २०७८ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?