कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भारतीय कप्तानको नेपाल साइनो

पुर्ख्यौली घर झापाको अर्जुनधारामा सुनीलकी हजुरआमा र काकाहरु बस्छन् । उनको अर्को साइनो छ– झापाकै बाहुनडाँगीमा  । 
यो उनको मावली गाउँ हो । धेरैलाई थाहा नहुन सक्छ– फुटबलप्रति सुनीलको मोह बढ्नुको कारण मामाहरु नै हुन्  ।
पर्वत पोर्तेल

अर्जुनधारा, झापा — भारतीय फुटबल जगत्सँग सुनील क्षेत्रीको सम्बन्ध जति बलियो छ, त्योभन्दा गाढा साइनो छ नेपालसँग । नेपाल उनको पुर्ख्यौली थातथलो हो । मामाघर पनि ।

भारतीय कप्तानको नेपाल साइनो

नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न सुनील सोमबार नेपाल आइपुगे सिंगो भारतीय टोलीको कमान्डर बनेर । भारतीय टोलीका नायक सुनीलले त्रिभुवन विमानस्थलमा नेपाली सञ्चारमाध्यमसामु नेपालीमै कुरा गरे । उनले भनेका थिए, ‘हजुरबा, हजुरआमाको देशमा खेल्न पाउँदा औधी खुसी लागेको छ ।’

एयरपोर्टबाट जब होटल पुगे अनि झापाको अर्जुनधारामा बस्ने ८६ वर्षीया हजुरआमा जसोदा कार्कीसँग केही समय फोनमा कुरा गरे । हजुरआमा जसोदाले भनिन्, ‘सुनील (नाति) ले फुटबल खेल्न नेपाल आएको छु भन्दै मेरो हालखबर सोध्यो ।’

सुनीलका हजुरबा बितेको धेरै भयो । उनले हजुरबालाई भने देख्न पाएनन् । हजुरआमा जसोदा पनि फुटबलकी पारखी हुन् । भर्खरै सम्पन्न युरो कपका केही खेल उनले हेरेकी थिइन् । नाति सुनीलको त उनी प्रशंसक नै हुन् । ‘सुनील खेल्दै छ रे भन्ने थाहा पाउनेबित्तिकै टेलिभिजन अघिल्तिर बस्छु,’ जसोदाले सुनाइन्, ‘आफ्नै नाति भएर होला, सुनीलको खेल मलाई औधी मन पर्छ ।’

सुनीलको टिमले बिहीबार र आइतबार नेपालसँग दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्दै छ । जसोदाले पूरा समय नै टीभीमा प्रत्यक्ष प्रसारण हेर्ने योजना बनाएकी छन् । तपाईंलाई कसले जितोस् भन्ने लागेको छ ? कान्तिपुरको जिज्ञासामा कूटनीतिक शैलीमा जवाफ दिइन्, ‘देश आफ्नो, नाति पनि आफ्नै, जसले जिते पनि हुन्छ ।’

दोहोरो साइनोका कारण हजुरआमा जसोदालाई दुवैतिर बराबरी माया छ । ‘जसले जिते पनि खुसी नै हुन्छु,’ उनले हाँस्दै भनिन् । सुनीलले नेपालविरुद्ध खेलेका ८ खेलमा ५ गोल गरेका छन् । दुई गोल गरेमा उनले एकै देशविरुद्ध सबैभन्दा बढी गोल नेपालविरुद्ध नै गर्नेछन् । चाइनिज ताइपेई र माल्दिभ्सविरुद्ध उनले समान ५ खेल खेल्दै ६–६ गोल गरेका छन् । सन् २००८ मा माल्दिभ्समा साफ च्याम्पियनसिपमा सुनीलले पहिलोपल्ट नेपालविरुद्ध गोल गरेका थिए ।

पुर्ख्यौली घरमा सुनीलकी हजुरआमा र काकाहरू बस्छन् । सुनीलको अर्को साइनो पनि छ झापाको बाहुनडाँगीमा । उनको मावली गाउँ हो बाहुनडाँगी । फुटबलप्रति सुनीलको मोह बढ्नुको कारण मामाहरू नै हुन् । साइँला मामा गणेश पाण्डे कुनै बेला जनकपुर चुरोट कारखानाबाट खेल्थे । राष्ट्रिय टोलीबाट समेत खेलेका मामा गणेशकै प्रेरणाबाट उनले फुटबल खेल्न थालेको पारिवारिक स्रोत बताउँछ ।

माइला मामा फन्दासिंह पाण्डे पनि फुटबलर नै थिए । मामाहरू त भए नै आमा सुशीला पनि उमेरमा राम्रो फुटबल खेल्थिन् । ‘सुनीलमा मावलीतिरको गुण सरेर फुटबलमा रस भिजेको होला,’ कान्छा काका चन्द्र कार्की अनुमान गर्छन् ।

सुनीलका बुबा भारतीय सेनाका जागिरे थिए । बुबाको जागिरकै सिलसिलामा सुनील ३४ वर्षअघि आन्द्रप्रदेशको सिकन्दरबादमा जन्मिएका हुन् । सुनील बेलाबेला पारिवारिक भेटका लागि नेपाल आउने गर्छन् । करिब ५ वर्षअघि माइला काका ऋतु कार्कीको निधनका बेला झापा आएका थिए । दुई दिन बसेर गए । ३ वर्षअघि कान्छा मामा प्रसाद पाण्डेको निधन हुँदा पनि उनी सुटुक्क आएर फर्किए ।

सन् २००२ मा कोलकाताको मोहन बगान फुटबल क्लबमा डेब्यु गरेका सुनीलले भारतको राष्ट्रिय टोलीबाट सन् २००५ देखि खेल्दै आएका छन् । उनले भारतबाट ११८ खेलमा ७४ गोल गरेका छन् । हालसम्म ८० बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका उनले सयभन्दा बढी गोल गरिसकेका छन् ।

बंगाली ज्वाइँ

नेपाली मूलका भारतीय फुटबल हस्ती सुनील बंगालीका ज्वाइँ हुन् । भारतीय फुटबलका यी नायकले कोलकाताकी सोनम भट्टाचार्यसँग बिहे गरेका छन् । पूर्वफुटबलर तथा मोहन बगानका कप्तान सुब्रतो भट्टाचार्यकी छोरी सोनमसँग उनले कोलकातामा २०१७ डिसेम्बरमा लगनगाँठो कसेका हुन् ।

सन् २००३ देखि सुनील र सोनमबीच प्रेमसम्बन्ध झाँगिएको थियो । स्कटल्यान्डबाट बिजनेस म्यानेजमेन्ट पढेर फर्किएकी सोनमले कोलकातामा थ्री स्टार होटल सञ्चालन गरिरहेकी छन् । ‘जब म मोहन बगानबाट खेल्थें त्यही समयदेखि सोनमको प्रेममा परेको थिएँ,’ सुनीलले भारतीय सञ्चारमाध्यमसँग भनेका थिए । सुनीलका ससुरा मोहन बगानका पूर्वकप्तान मात्रै होइनन्, सुनीलका ‘मेन्टर’ पनि हुन् । सुनीलको बिहेमा पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीसहित विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।

प्रकाशित : भाद्र १६, २०७८ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?