एमाले विभाजनको प्रादेशिक परकम्प

इकान्तिपुर टिम

काठमाडौँ — नेकपा एमालेको विभाजनको पराकम्प प्रदेशहरूमा देखिएको छ । गत बिहीबार माधवकुमार नेपालले नेकपा (एस)को गठन गरेसागै प्रदेशसभा समेत औपचारिक रुपमा विभाजित हुन थालेकाे हाे ।

एमाले विभाजनको प्रादेशिक परकम्प

वाग्मती र सुदूर पश्चिम प्रदेशमा एमाले सांसदहरूले नेकपा (एस)तर्फ रहने गरी मंगलबार सनाखत गरेका छन् । जसले प्रदेशको सत्ता समिकरण समेत प्रभावित हुने देखिएको छ । प्रदेश नम्बर २ मा नेकपा (एस) एमालेभन्दा ठूलो दल बन्ने देखिएको छ । गण्डकी र लुम्बनी प्रदेशसभामा नेकपा (एस) कमजोर देखिएको छ । अहिलेसम्म गण्डकी प्रदेशमा नेकपा (एस) तर्फ कुनै सांसद हुने छैनन् भने लुम्बिनीमा एकजना सांसद मात्रै खुलेका छन् ।

विभाजनको कारण प्रदेश नम्बर १ र वाग्मती प्रदेशमा एमालेले एकल बहुमत गुमाएको छ । प्रदेश– १ मा बुधबार सनाखत गर्ने तयारीमा रहेको छ । निर्वाचन आयोगले प्रदेशसभाका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई भदौ २२ गतेसम्ममा दल रोज्नका लागि समय तोकेको छ । त्यसलगत्तै अहिले एमाले र नेकपा (एस)का नेताहरूले आफ्नो पक्षमा धेरैभन्दा धेरै सांसद तान्ने कोशिसमा रहेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस) को जारी समिकरणकले सातवटै प्रदेशमा सरकार बनाउने अवस्थामा पुगेको छ । विभाजित बनेको एमाले भने केन्द्रदेखि सबै प्रदेशबाट बाहिरिने निश्चित भएको छ । नेकपाको विभाजनपछि अल्पमतमा परेको एमालेले गण्डकी र लुम्बिनी प्रदेशमा सरकार गुमाइसकेको छ ।

कुन प्रदेशमा कस्तो अवस्था ?

प्रदेश १ : मुख्यमन्त्री संकटमा पर्दै

प्रदेश–१ मा नेकपा (एस) मा जाने सांसदहरूले बुधबार एकै पटक निर्वाचन आयोगको कार्यालयमा गएर सनाखत गर्ने तयारी गरेका छन् । केही दिनदेखि विराटनगरको एक होटलमा सामूहिक रुपमा बस्दै आएका माधवकुमार नेपाल निकट सांसदहरूको आलोचना भएपछि सोमबार सबै गृह जिल्लातर्फ लागेका छन् । केन्द्रीय सदस्य तथा सांसद राजेन्द्र राईले सनाखतका लागि नागरिकता आवश्यक पर्ने भएकाले सो लिनका लागि सबै सांसदहरू आफ्नो जिल्ला गएको बताए ।

‘बुधबार सामूहिक रुपमा हामी सनाखत गर्नेछौं,’ राईले ईकान्तिपुरसँग भने, ‘नागरिकता लिनका लागि सांसदहरू आ–आफ्ना घर जानु भएको छ ।’ राईले बुधबार कम्तीमा १२ जना सांसदहरूले निर्वाचन आयोग गएर सनाखत गर्ने तयारी गरेको बताए । तर हालसम्म १० जना सांसदहरू खुलेका छन् । ८७ सदस्यीय प्रदेशसभामा एमालेका ५२ सांसद रहेका छन् । पछिल्लो समयमा १९ जना सांसद माधवकुमार नेपाल समूहमा रहेका थिए । त्यो संख्यामा भीम आचार्य संसदीय दलको नेताको रुपमा निर्वाचनमा प्रतिस्पर्धा गर्दा २४ रहेका थिए । नेकपा (एस) गठन प्रक्रियाबाट अलग्गिएका आचार्य गत साता प्रदेशको मुख्यमन्त्री बनेका थिए । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५२ सांसद छन् ।

प्रदेश २ : एमालेभन्दा नेकपा (एस) ठूलो

प्रदेश–२ संसद्‌मा नेकपा एमालेभन्दा नेकपा (एस) ठूलो दल बन्ने देखिएको छ । नेकपा (एस)का केन्द्रीय सदस्य तथा सांसद शत्रुधन महतोले केही दिनभित्र १३ जना सांसदले सनाखत गर्ने बताए । प्रदेश–२ मा एमालेका १९ सदस्य छन् । ‘एक जना प्रदेशसभाका सांसद उपचारको क्रममा दिल्लीमा हुनुहुन्छ । उहाँको सनाखतको व्यवस्था मिलाउन केही समय लाग्ने देखिन्छ,’ महतोले भने । मिर्गौलामा समस्यामा देखिएपछि उपचारका लागि प्रदेश सांसद डिल्ली उप्रेती दिल्ली पुगेका छन् । १ सय ७ सदस्यीय प्रदेशसभामा एमालेका गोविन्द न्यौपाने, मदनसिंह श्रीवास्तव, अशोक यादव, प्रमोदकुमार यादव, मञ्जुकुमारी यादव, बेची लुङ्गेली, रविन्द्र बैठा, सीता गुरुङ, सुन्दर विश्वकर्मा, शत्रुधन महतो र डिल्ली उप्रेती नेकपा (एस) तर्फ रहेका छन् । महतोका अनुसार सनाखतपछि नेकपा (एस) प्रदेश सरकारमा सहभागी हुनेछ । ‘अध्यक्षले सबै स्थानमा गठबन्धन सरकार बनाउने भन्नु भएको छ । प्रदेश २ मा हामी पनि सरकारमा सहभागी हुन्छौं,’ महतोले भने ।

वाग्मती: मुख्यमन्त्री अप्ठेरोमा

वाग्मती प्रदेशका १२ सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एस) रोजेका छन् । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरूले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नेकपा (एस) रोज्दै सनाखत गरेका हुन् । नेकपा (एस) रोज्ने सांसदहरूमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्ण शर्मा खनाल छन् ।

सांसद बसुन्धरा हुमागाईंका अनुसार अझै केही सांसदहरू थपिने छन् । ‘हामी पहिलो चरणमा जम्मा भएका साथीहरूले सनाखत गरेका हौं । अझै साथीहरू थपिनुहुनेछ,’ हुमागाईंले भने । उनले नवगठित पार्टीमा वाग्मती प्रदेशका २१ जना सांसदहरू रहेको दाबी गरे । खनाल अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन मन्त्री बनेका थिए । उनी कार्यालय पुगेका छैनन् । ‘म नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यकर्ता हुँ । मन्त्रालयको काम भएर केही समय अड्किएको हुँ । निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गर्छु,’ मन्त्री खनालले भने ।

१२ जना सांसदहरूले नयाँ दल रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको करिब दुई हप्तामै अल्पमतमा परेको छ । शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ । वाग्मती प्रदेशमा कांग्रेस, माओवादी र नेकपा (एस)को गठबन्धनको सरकार निर्माण गर्ने तयारी रहेको छ । नेकपा (एस)का राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दावी गरेका छन् ।

गण्डकी प्रदेश: नेकपा (एस) शून्य

६० सदस्यीय गण्डकी प्रदेशमा नेकपा (एस) को शून्य हुने देखिएको छ । सो प्रदेश सभामा एमालेको २७ सांसद छन् लामो समयदेखि माधवकुमार नेपाल निकट रहेका सो प्रदेशका एक मात्रै सांसद इन्द्रलाल सापकोटाले एमालेको रहने भएपछि नेकपा (एस)ले प्रदेशमा खाता खोल्न नसक्ने भएको छ । ‘एमालेका २७ जना सांसद हौं र हामी एकै स्थानमा रहेका छौं,’ सापकोटाले इकान्तिपुरसँग भने ।

१५ सदस्य रहेका कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल प्रदेशका मुख्यमन्त्री रहेका छन् । त्यसैगरी सभामुखसहित माओवादी केन्द्रका १२ सांसद रहेका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाले कृष्ण थापाले कारवाही गरेपछि २ मात्रै सांसद रहेका छन् । हाल प्रदेशसभामा ५९ सदस्य रहेका छन् ।

लुम्बिनीः नेकपा (एस) मा घर्तीको मात्र साथ

लुम्बिनी प्रदेशमा नेकपा (एस) कमजोर देखिएको छ । एमालेकी एक मात्रै सांसद रमा घर्ती मगरले दाङस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर सनाखत गराएकी छन् । सामनुपातिक निर्वाचन प्रणालीबाट पाल्पाकी घर्ती सांसद बनेकी हुन् । घर्तीले नयाँ पार्टी रोजपछि प्रदेश सभाका ८० सदस्यमध्ये एमालेको संख्या ३६ भएको छ ।। एमाले प्रतिगामी बाटोमा हिँडेको र नयाँ पार्टी नेकपा एकिकृत समाजवादीको विचार, दृष्टिकोण र नेतृत्वको कार्यशैली राम्रो लागेपछि नयाँ दल रोजेको उनले बताएकी छन् ।

कर्णालीः नेपाललाई वलीको साथ

एमाले विभाजनको केन्द्रमा रहेको कर्णाली प्रदेशमा पनि नेकपा (एस) कमजोर देखिएको छ । आन्तरिक विवादको कारण बहुमत हुँदाहुँदै पनि सरकार बनाउन नपाएको एमालेका विभाजित भएर बनेको नेकपा (एस)को पक्षमा एक मात्रै सांसद देखिएकी छन् । सांसद देवी वलीले मात्रै नेकपा एसको पक्षमा खुलेकी छन् । एमालेको २० सदस्यीय संसदीय दलमा विवाद सुरु हुँदा नेपाल पक्षका ९ सांसद रहेका थिए । जसमध्ये मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिंदा फ्लोर क्रस गरेपछि विश्वासको मत दिने चार सांसदलाई एमालेले कारबाही गरेको थियो । प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दबहादुर बुढा कारबाहीमा परेपछि पद रिक्त छ ।

एमालेको आन्तरिक विवादको समयमा माधवकुमार नेपाललाई साथ दिँदै आएका सुशील थापा, दल रावल र करवीर शाही एमालेमै रहने भएको एमालेका एक केन्द्रीय सदस्यले बताए । हालसम्म चन्द्रबहादुर शाही भने कुन पक्षमा रहने भन्ने विषयमा स्पष्ट गरेका छैनन् ।

सुदुरपश्चिमः हाराहारीको विभाजन

एमाले सुदूरपश्चिमका १० जना प्रदेश सांसदले नेकपा (एस) पार्टी रोजेका छन् । प्रदेशसभामा एमालेका कूल २४ जना सांसद (सभामुख बाहेक) मध्ये १० सांसदले मंगलबार एमाले छाड्दै नवगठित नेकपा (एस) रोजेका हुन् ।

एमालेकोतर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनीहरूले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगको कार्यालय धनगढीमा उपस्थित भएर नेकपा (एस) पार्टी रोजेर सनाखत गरेका हुन् ।

नेकपा (एस) रोज्दै सनाखत गर्नेहरूमा हाल मन्त्री रहेकाहरू पूर्णा जोशी, लालबहादुर खड्का, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी र मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्व मन्त्री माया भट्ट, सांसदहरू सुशिला बुढाथोकी, कूलवीर चौधरी, अमर साउद र बलबहादुर सोडारी रहेका छन् । नेकपा(एस)मा भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारी, पूर्व प्रमुख सचेतक तारा लामा तमाङ र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पनि सनाखत गर्ने मन्त्री जोशीले बताइन् ।

प्रकाशित : भाद्र १५, २०७८ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?