कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

शरदकालीन हिमाल आरोहण खुल्यो, मनास्लुका लागि २५ विदेशीलाई अनुमति

सुरज कुँवर

काठमाडौँ — यस वर्षको शरदकालीन हिमाल आरोहणका लागि पर्यटन विभागले मंगलबार २५ जना विदेशीलाई मनास्लु हिमाल आरोहणको अनुमति जारी गरेको छ ।

शरदकालीन हिमाल आरोहण खुल्यो, मनास्लुका लागि २५ विदेशीलाई अनुमति

विभागकी निर्देशक मिरा आचार्यका अनुसार गोरखामा अवस्थित ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमाल आरोहणका लगि ५ महिला र २० पुरुष गरी २५ जना विदेशीलाई प्रमिट जारी गरिएको हो ।

उनीहरुबाट विभागले प्रति विदेशी ९ सय डलरका दरले २२ हजार ५ सय (१० लाख ५८ हजार ४ सय रुपैयाँ) सलामी दस्तुर लिएको जनाएको छ । मनास्लु हिमालका लागि यस सिजनको पहिलो आरोहण अनुमति लिने इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडीसनका प्रबन्ध निर्देशक मिग्मा ग्याल्जे शेर्पाका अनुसार अनुमति लिइएका विदेशीहरू डेनमार्क, क्यानडा, नेदरल्याण्ड, चेक रिपब्लिक, सुइडेन, नर्वे, जापान, संयुक्त राज्य अमेरिका लगायतका मुलुकका विदेशी छन् ।

कोरोना महामारीका कारण नेपालले विदेशीलाई हिमाल आरोहण वा पदयात्रामा जानुअघि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने नियम अनिवार्य गरेको छ । नेपाल आउनुअघि विदेशीले ७२ घन्टाको पीसीआर गरी रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ ।

गत वर्ष शरदयाममा विभागले ६ हजारदेखि ८ हजार माथिका ७ वटा हिमालका लागि ५८ जनालाई अनुमति दिएको थियो । जसमा ९ जना नेपाली थिए । नेपालले वसन्त, शरद र हिउँद/ग्रीष्म गरी तीन सिजन हिमाल आरोहण सञ्चालन गर्छ । वसन्तकालीन सबैभन्दा महँगो र हिउँद/ग्रीष्म सबैभन्दा सस्तो सलामी दस्तुर भएका सिजनमा पर्छन् । शरदकालीन हिमाल आरोहण सेप्टेम्बरदेखि नोभेम्बर महिनासम्म चल्छ । यो सिजनमा हिमाल आरोहणको दाँजोमा नेपालमा पदयात्रा अत्याधिक हुने सिजन हो । शरदयाममा विदेशीहरुको रोजाइमा मनास्लु हिमाल पर्छ ।

प्रकाशित : भाद्र १५, २०७८ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?